मन्दिरा लामिछाने धिमाल यो सम्मान पाउने पहिलो नेपाली महिला र दोस्रो नेपाली नागरिक हुन् ।
काठमाडौँ — नेपाली अनुसन्धानकर्ता तथा सामाजिक वैज्ञानिक मन्दिरा लामिछाने धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिल (आईएससी) को फेलोमा चयन भएकी छन् ।
उनी यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने पहिलो नेपाली महिला वैज्ञानिक र नेपालबाट फेलो बन्ने दोस्रो नेपाली नागरिक हुन् ।
अन्तर्राष्ट्रिय साइन्स काउन्सिलले सन् २०२६ का लागि विश्वका विभिन्न देशका नयाँ फेलोहरूको नाम सार्वजनिक गरेको हो । परिषद्का अनुसार नयाँ फेलोहरूले करिब ३० देशको प्रतिनिधित्व गर्छन् । विज्ञानलाई विश्वव्यापी जनहितको माध्यमका रूपमा अघि बढाउन उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक, अनुसन्धानकर्ता, नीति निर्माता तथा विज्ञहरूलाई यस सम्मानका लागि चयन गरिएको हो ।
धिमाल काठमाडौंस्थित प्लानेटरी हेल्थ रिसर्च सेन्टर (पीएचआरसी) की रिसर्च डाइरेक्टर तथा फेलो हुन् । उनी जलवायु परिवर्तन, वातावरणीय स्वास्थ्य, लैंगिक समानता र सार्वजनिक स्वास्थ्यका क्षेत्रमा अनुसन्धान तथा नीतिगत काममा सक्रिय छिन् । उनका अनुसन्धानले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभाव र दिगो विकासमा लैंगिक दृष्टिकोणको महत्त्वलाई समेटेका छन् ।
उनले वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणलाई नीति निर्माणमा उपयोग गर्ने तथा स्वास्थ्य र वातावरणसम्बन्धी चुनौतीको समाधान खोज्ने क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् । उनको छनोटले नेपाली अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बलियो बनाएको छ ।
अन्तर्राष्ट्रिय साइन्स काउन्सिल सन् २०१८ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था हो । यसले विश्वभरका वैज्ञानिक संस्था तथा अनुसन्धान सञ्जाललाई एक ठाउँमा ल्याएर वैज्ञानिक सहकार्य प्रवर्द्धन गर्ने काम गर्छ । विज्ञानलाई समाजको हितमा उपयोग गर्ने र वैज्ञानिक ज्ञानका आधारमा निर्णय प्रक्रिया प्रभावकारी बनाउने यसको मुख्य उद्देश्य हो ।
सन् २०२२ मा स्थापना गरिएको आईएससी फेलोसिप परिषद्ले व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च सम्मान हो । यसका फेलोहरूले वैज्ञानिक सहकार्य विस्तार गर्ने, विज्ञान र नीति निर्माणबीचको सम्बन्ध सुदृढ पार्ने तथा समाजमा विज्ञानको योगदान बढाउन भूमिका निर्वाह गर्छन् ।
फेलोसिपका लागि आईएससीका सदस्य संस्था, वर्तमान फेलो, परिषद्का अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा साझेदार सञ्जालबाट नाम सिफारिस गरिन्छ ।
नेपालबाट यसअघि सन् २०२३ मा मेघनाथ धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिलको फेलो नियुक्त भएका थिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धानकर्ता धिमालले जनस्वास्थ्य, वातावरणीय स्वास्थ्य तथा जलवायु परिवर्तनका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनी यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली नागरिक बनेका थिए ।