आमाछोदिङमो क्षेत्रमा रहेका ट्रकको महँगो भाडा, मानिसले बोकेरै भोटेकोशी पार गराउनुपर्ने बाध्यता र स्याफ्रुपारिबाट गाडीमा काठमाडौं तथा चितवन पुर्याउँदा लाग्ने महँगो ढुवानी खर्चले किसानलाई थप समस्यामा पारेको छ ।
काठमाडौँ — भदौ १० को भोटेकोशी बाढीले सडक र पुल बगाएपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी अझै बजार पुर्याउन सकेका छैनन् । स्याफ्रुबेँसीमा पुल नबन्दा बिक्रीका लागि तयार भएको करोडौं रुपैयाँको तरकारी बारीमै थन्किएको छ । ढुवानी खर्च अत्यधिक महँगो भएपछि थोरै तरकारी बजार पुर्याउँदा पनि लागत नउठ्ने अवस्था आएको किसानको गुनासो छ ।
मुख्य सडकसँगको सम्पर्क विच्छेद भएपछि किसानलाई तरकारी बजारसम्म पुर्याउन समस्या भएको हो । बाढीपछि थुनिएका आठवटा ट्रकमध्ये केही सञ्चालनमा ल्याएर स्याफ्रुसम्म थोरै परिमाणमा तरकारी ढुवानी गरी बजार पुर्याउने तयारी गरिएको छ । तर, स्याफ्रुसम्म पुर्याएको तरकारी मानिसले बोकेर भोटेकोशी पार गराउनुपर्ने भएकाले सबै तरकारी बजारसम्म पुर्याउन कठिन भएको किसानले बताएका छन् । स्याफ्रुमा छिटो बेलिब्रिज निर्माण हुने प्रतीक्षामा रहेको उनीहरुको भनाइ छ ।
आमाछोदिङमो क्षेत्रमा रहेका ट्रकको महँगो भाडा, मानिसले बोकेरै भोटेकोशी पार गराउनुपर्ने बाध्यता र स्याफ्रुपारिबाट गाडीमा काठमाडौं तथा चितवन पुर्याउँदा लाग्ने महँगो ढुवानी खर्चले किसानलाई समस्यामा पारेको छ । कच्ची सडक, बोकेर तरकारी तार्नुपर्ने तथा दुई पटक गाडीमा लोड र अनलोड गर्नुपर्ने भएकाले थोरै परिमाणमा बजार पुर्याएको तरकारीले पनि उचित मूल्य नपाएको उनीहरूको गुनासो छ ।
आमाछोदिङमो-२, ३, ४ र ५ बाट गत वर्ष करिब ४ करोड रुपैयाँको तरकारी निकासी भएको थियो । पालिकाको अनुदानमा यस वर्ष किसानले तरकारी खेती दोब्बर बढाएका थिए ।
आमाछोदिङमो–३, गल्ताङका तरकारी किसान तथा व्यापारी कसाङ तामाङले किसानको बारीमा करिब २५ प्रतिशत तरकारी कुहिइसकेको बताए । उनले २५० बोरा अर्थात् करिब १० हजार किलो बन्दागोभी स्थानीय किसानबाट खरिद गरी काठमाडौं पुर्याए पनि उचित मूल्य नपाएको बताए । ‘मैले परीक्षणका रूपमा गाउँबाट गाडीमा स्याफ्रुबेँसीसम्म तरकारी ल्याएँ । त्यहाँबाट मानिसलाई बोकाएर भोटेकोशी पार गराई फेरि गाडीमा काठमाडौं पुर्याउँदा महँगो भाडा तिर्नुपर्यो । काठमाडौं पुर्याउँदा भाडा मात्रै प्रतिकिलो १६ रुपैयाँ पर्न गयो,’ उनले भने, ‘काठमाडौं पुर्याउँदा पनि बढीमा ३० रुपैयाँ प्रतिकिलो मात्रै मूल्य पाएँ ।’
आमाछोदिङमोका किसानले अहिले प्रतिकिलो ९ रुपैयाँमा बन्दागोभी बेच्न थालेका छन् । ‘मैले गाउँबाट प्रतिकिलो ९ रुपैयाँमा तरकारी उठाएको हुँ । परीक्षणका रूपमा काठमाडौं लगेर बेच्न खोज्दा मुख्यगरी चर्को ढुवानी भाडा तिर्नुपर्दा घाटा बेहोर्नुपर्यो,’ उनले भने, ‘काठमाडौंको कालीमाटीका व्यापारीले ताजा तरकारी नभएको भन्दै उचित मूल्य दिएनन् ।’ उनले गल्ताङबाट काठमाडौं तरकारी पुर्याउन तीनदेखि चार दिन लाग्ने भएकाले बिग्रिने जोखिम रहेको बताए ।
उनका अनुसार गल्ताङबाट स्याफ्रुसम्म १६ किलोमिटर दूरी भए पनि ट्रकले एकपटकको १५ हजार रुपैयाँ भाडा लिने गरेको छ । ‘यो एकदमै महँगो भाडा हो । पहिले यति भाडाले काठमाडौं वा चितवनसम्म तरकारी पुर्याउन सकिन्थ्यो । बाढीले पुल र सडक बगाउँदा ढुवानी खर्च महँगो भएको हो,’ उनले भने ।
आमाछोदिङमोका उपाध्यक्ष चण्डिका तामाङले किसानले तरकारी बिक्री गर्न नसकेपछि गाईबस्तुलाई खुवाउन थालेको बताइन् । ‘यतिबेलासम्म सबै तरकारी बिक्री भइसक्नुपर्ने हो । अहिले २५ प्रतिशत तरकारी कुहिइसकेको छ । अरू पनि बिग्रिने अवस्थामा छन् । अबको २०–२५ दिनभित्र बिक्री गर्न सकिएन भने सबै तरकारी बिग्रिन्छ,’ उनले भनिन् ।
यस वर्ष करिब ३० लाख रुपैयाँको तरकारी बिक्री गर्ने तयारी गरेका गल्ताङका अमर तामाङले तरकारीले उचित मूल्य नपाउँदा लगानीसमेत नउठ्ने अवस्था आएको बताए । ‘स्याफ्रुमा पुल नहुँदा प्रतिकिलो ८ रुपैयाँमा पनि बन्दागोभी बिक्री भएको छैन । बारीमै कुहिएर जानुभन्दा जति मूल्य पाउँछ, त्यतिमै बेचौँ भन्दा पनि बिक्री भएको छैन,’ उनले भने, ‘चिसो क्षेत्रमा तापक्रमका कारण तरकारी कुहिने अवस्थामा पुग्दै छ ।’
उपाध्यक्ष तामाङले तीन साताभित्र स्याफ्रुमा पुल निर्माण नभए यस क्षेत्रका किसान थप जोखिममा पर्ने बताइन् । ‘यहाँका किसानको मुख्य आयस्रोत तरकारी खेती हो । तरकारी बिक्री भएन भने उनीहरू आर्थिक रूपमा जोखिममा पर्नेछन्,’ उनले भनिन्, ‘आमाछोदिङमोवासीका लागि स्याफ्रुबेँसीमा छिटो बेलिब्रिज निर्माण हुनुपर्छ ।’ उनले पालिकाभित्रका सडक सुधार गरी त्यहाँ रहेका गाडी सञ्चालनमा ल्याइए पनि मुख्य सडकसँग सम्पर्क जोडिन नसकेको बताइन् ।
गाउँपालिकाका चारवटा वडामा बिक्रीका लागि तयार भएको करोडौँ रुपैयाँको तरकारी बारीमै थन्किएर कुहिने अवस्थामा पुगेपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले ढुवानीमा सहयोग गरेको थियो । डब्लूएफपीले पहिलो चरणमा हेलिकोप्टरबाट गल्ताङका किसानको ८ हजार किलो तरकारी नुवाकोटको विदुरसम्म ढुवानी गरी बिक्री गर्न सहयोग गरेको थियो । तर, त्यसपछि भने डब्लूएफपीले थप ढुवानी गरेको छैन ।
डब्लूएफपीले ‘पाइलट’ अभियानका रूपमा असोज २३ मा गल्ताङबाट नुवाकोटको विदुरसम्म तरकारी ढुवानी गर्न सहयोग गरेको जनाएको थियो । किसानलाई खरिदकर्तासँग जोड्ने र स्थानीय बजारमा पौष्टिक खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको डब्लुएफपीका नेपाल निर्देशक रियाज लोधीले बताएका थिए ।
गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।