गण्डक सम्झौताअनुसार १५ कात्तिकसम्म पानी दिनुपर्ने भए पनि भारतीय पक्षले ५ दिनअघि नै पानी बन्द गरेको हो ।
पर्सा — निर्धारित समयभन्दा ५ दिनअघि नै भारतीय पक्षले गण्डक नहरमा पानी प्रवाह बन्द गरेको छ । यस वर्ष धानबालीका लागि १० असारदेखि नहरमा पानी छाडेको भारतले १० कात्तिकदेखि प्रवाह रोकेको हो । सम्झौताअनुसार १५ कात्तिकसम्म पानी दिनुपर्ने भए पनि भारतीय पक्षले ५ दिनअघि नै पानी बन्द गरेको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर मुकेश ठाकुरका अनुसार यस वर्ष नहरमा सम्झौताअनुसार ८५० क्युसेक पानी उपलब्ध भएको थियो । ४ महिनामा नारायणी नदीमा आएको बाढीका कारण एक साताभन्दा बढी समय पानीको प्रवाह रोकिएको थियो । पर्याप्त वर्षा भएकाले यस वर्ष नहर सिँचित क्षेत्रमा धानबालीका लागि पानीको अभाव नभएको उनले बताए ।
‘सम्झौताअनुसार १५ कात्तिकसम्म पानी दिनुपर्ने हो । तर भारतीय पक्षले १० कात्तिकदेखि नै पानी बन्द गरेको छ,’ ठाकुरले भने, ‘यस वर्ष पर्याप्त वर्षा भएकाले अहिले नहर सिँचित क्षेत्रमा पानीको खासै माग छैन ।’
नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा रहेको गण्डक ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छाड्ने गर्छ । ब्यारेजबाट छाडिएको पानी भारततर्फ करिब ९२ किलोमिटर यात्रा गरेपछि पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत जानकीटोलबाट नेपाल प्रवेश गर्छ । नेपालतर्फ गण्डक नहरको लम्बाइ करिब ८१ किलोमिटर छ ।
गण्डक नहरलाई पर्सा, बारा र रौतहटमा १५ वटा ब्लकमा विभाजन गरिएको छ । नहरबाट ३ जिल्लाका करिब ३७ हजार ४ सय हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । धानबालीका लागि मनसुनमा निर्भर रहनुपर्ने किसानलाई नहरको पानीले सिँचाइमा सहयोग पुर्याउँदै आएको छ ।
भारतले निर्माण तथा सञ्चालन गर्दै आएको गण्डक ब्यारेज सन् १९७५ र १९७६ मा दुई चरणमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर नहरको अन्तिम क्षेत्र रौतहटसम्म पर्याप्त र नियमित रूपमा पानी नपुग्ने समस्या भने अझै समाधान हुन सकेको छैन । नहरको माथिल्लो क्षेत्रमा पानी उपलब्ध भए पनि तल्लो क्षेत्रमा पर्याप्त प्रवाह नपुग्दा सिँचाइ सुविधाको समान वितरण चुनौतीपूर्ण रहँदै आएको छ ।
धानबालीको सिजन सकिएसँगै बन्द गरिएको नहरमा गहुँबालीका लागि भने १० पुसदेखि आवश्यकताअनुसार पानी उपलब्ध गराउने प्रावधान छ । त्यसअनुसार हिउँदे बालीका लागि सिँचाइ आवश्यक पर्ने समयमा नहरमा पुनः पानी छाडिने छ ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।