Trending
Prev Story
Next Story

लमजुङका किसान धान थन्क्याउने चटारोमा

Ekantipur •
October 27, 2026 • 12:30 PM
3
3 reads 0 reactions

धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ ।

लमजुङका किसान धान थन्क्याउने चटारोमा

धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ ।

लमजुङ — दसैं सकिएसँगै लमजुङका ग्रामीण बस्तीमा धान भित्र्याउने चटारो बढेको छ । केही दिनपछि पानी पर्ने मौसम पूर्वानुमानले किसानलाई धान काटेर सुरक्षित राख्न भ्याइनभ्याइ छ । बिहान सबेरै खेतमा पुग्ने किसान साँझसम्म धान काट्ने, पन्जा उठाउने र कुनियो बनाएर राख्ने काममा व्यस्त छन् ।

क्व्होलासोथार गाउँपालिका–४, भुजुङकी ७१ वर्षीया नर्खु गुरुङ बिहानै तल्हृयु खेतमा पुग्छिन् । पाकेको धान झर्न लागिसकेको छ । त्यसमाथि पानी पर्ने पूर्वानुमानले उनलाई थप हतारो गराएको छ । ‘पाकेको धान झर्नै लाग्यो । अब त पानी पनि पर्छ भनेको छ, धान नकाटी सुखै भएन,’ उनले भनिन् ।

नर्खुजस्तै भुजुङका प्रायः सबै किसान यतिबेला खेतमै भेटिन्छन् । पानी पर्ने खबर गाउँसम्मै पुगेपछि धान काट्ने कामले तीव्रता पाएको स्थानीय हिउँमती गुरुङले बताइन् । उनका अनुसार ख्युँजे (घिम्चे) खेतको धान काट्ने काम सकिएको छ । अहिले गाउँले तल्हृयु खेतमा धान थन्क्याउन जुटेका छन् । घिम्चे खेतमा गोठ राख्ने समय नजिकिँदै गर्दा पनि गाउँलेलाई धान थन्क्याउने चटारो छ ।

भुजुङमा खेतअनुसार धान काट्ने समय फरक पर्छ । घिम्चे खेतमा धान काटिसकेपछि किसान तल्हृयु खेतमा खटिएका हुन् । घिम्चे खेतमा किसानले स्थानीयस्तरमै नौलो मानिने ताक्मरे जातको धान खेती गर्दै आएका छन् । गाउँघरमा दरमाली, पहेँलेलगायत स्थानीय जातका धान पनि लगाइन्छ ।

धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ । दसैं सकिएलगत्तै सुरु भएको यो काम मौसमको अनिश्चितताले झन् हतारो भएको भुजुङकी हेमन्ता गुरुङ बताउँछिन् । उनका अनुसार ग्रामीण भेगमा किसानले सामूहिक रूपमा धान काट्ने, पन्जा उठाउने र कुनियो बनाएर राख्ने गर्छन् । पाकेको धान खेतमै लामो समय राख्दा झर्ने र पानी परेमा भिजेर क्षति हुने जोखिम हुन्छ । त्यसैले मौसम बिग्रनुअघि नै धान सुरक्षित राख्न किसान जुटेका उनले बताइन् ।

गाउँमा अगौटे धान काट्ने काम सकिएपछि लमजुङका ठूला फाँटमा धान काट्ने क्रम बढ्ने गर्छ । कृषि विकास कार्यालय लमजुङका अनुसार अहिले ग्रामीण भेगमा धान काट्ने काम चलिरहेको छ । केही दिनपछि ठूला फाँटमा पनि धान काट्ने चटारो थपिनेछ ।

कार्यालयका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार लमजुङमा हालसम्म करिब १५ प्रतिशत धान काटिसकिएको अनुमान छ । बाँकी धान भित्र्याउने काम मौसमको अवस्थासँगै अघि बढ्ने उनले बताए । कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८ सय १९ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ४५ हजार ५० हेक्टरमा खेती गरिन्छ । यस वर्ष ९ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

गत आर्थिक वर्षमा ९ हजार २ सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो । त्यस वर्ष ३५ हजार ३ सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । लमजुङका ग्रामीण बस्तीमा स्थानीय जातका धानको खेती प्रचलनमा रहे पनि तल्लो क्षेत्रका ठूला फाँटमा भने उन्नत र हाइब्रिड जातका धान लगाउने गरिएको छ । रामधान, सुनौलो सुगन्ध, सुक्खा–२, सावित्री, जेठोबुढो, एक्ले र लोकतन्त्र उन्नत जातका धान हुन् । त्यस्तै लोकनाथ, गोरखनाथ, यूएस–३१२, मकवानपुर, वर्षे–३००४ र मनसुलीलगायत हाइब्रिड जातका धान पनि खेती गरिँदै आएको छ ।

पानी कम हुने क्षेत्रमा किसानले सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका कृषि कार्यालयले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
7h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#धान #किसान
Compare →
Hamro Patro News
4h ago
बाँकेमा सहकारीद्वारा धान खरिद

बाँकेमा सहकारीद्वारा धान खरिद

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ।

#धान
Compare →
Nagarik News
20h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →

Related Stories

World News
Build #2612