उनले ५० मिटर ब्रेस्टस्ट्रोकमामा ३० दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।
काठमाडौं — कोशी प्रदेशका पौडी खेलाडी विकास कुमालले दसौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन् । विकासले ५० मिटर ब्रेस्टस्ट्रोकमा दूरी ३० दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।
यसअघि विकासले ११औं एनएसए कप पौडी प्रतियोगिता सन् २०२३ मा काठमाडौंमा ३० दशमलव ६६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले यसपटक आफ्नो पुरानो कीर्तिमानमा शून्य दशमलव शून्य दुई सेकेन्ड सुधार गरेका हुन्।
दसौं राष्ट्रिय खेलकुदअन्तर्गत २३औं राष्ट्रिय पौडी च्याम्पियनसिप २४ देखि २७ नोभेम्बरसम्म सञ्चालन भइरहेको छ । प्रतियोगिताको संयुक्त पदक तालिकामा बागमती प्रदेश ४ स्वर्ण, २ रजत र ३ काँस्यसहित शीर्ष स्थानमा छ । नेपाल पुलिस क्लबले १ स्वर्ण, १ रजत र ६ कांस्यसहित ९ पदक जितेको छ।
नेपाल आर्मी क्लबले २ स्वर्ण, ५ रजत र १ कांस्य गरी ८ पदक जित्दा एनआरएनएले ३ स्वर्ण र १ कांस्यसहित ४ पदक हात पारेको छ । कोशी प्रदेशले १ स्वर्ण र सुदूरपश्चिमले २ रजत पदक जितेका छन् ।