Trending
Prev Story
Next Story

दिल्लीमा बालेनका २५ घण्टा : के गरे के भयो ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ मंसिर,नयाँ दिल्ली । दुई दिने राजकीय भारत भ्रमणका लागि दिल्ली झरेका प्रधानमन्त्री बालेन शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रम थियो । यही कार्यक्रममा बालेन्द्र शाहलाई स्वागत गर्न भारतीय …

दिल्लीमा बालेनका २५ घण्टा : के गरे के भयो ?

७ मंसिर,नयाँ दिल्ली । दुई दिने राजकीय भारत भ्रमणका लागि दिल्ली झरेका प्रधानमन्त्री बालेन शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रम थियो । यही कार्यक्रममा बालेन्द्र शाहलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मोदी उपस्थित थिए ।

शाह कारगेडसहिको गाडीबाट ओर्लिएपछि मोदीसँग अंगालो मार्नका लागि पहिलो हात अघि सारेका थिए ।

यस्ता मामिलामा चलाख मानिने मोदीले पनि कसिलो अंकमाल गरे । अनि मुस्कानसहित गफिँदै गार्ड अफ अनरका लागि सलामी स्थलमा पुगे ।

सलामी सकिएपछि केही तस्बिरका लागि पोज दिए । जहाँ उनीहरुका मुहार खुलेका देखिन्थे । कूटनीतिक मामिलामा नेताहरूका अनुहार र हाउभाउले कतिपय अवस्था पढ्ने गरिन्छ ।

करिब २५ घण्टाको लागि मात्र भारतको राजकीय भ्रमणमा आएका शाहसँग मोदीको फोटो सेसन र अंकमाल मात्र भएन । मोदीले बालेन्द्र प्रसंशा गर्दै भने- मैले संयुक्त राष्ट्रसंघको महासभामा सबैभन्दा युवा प्रधानमन्त्रीको रुपमा गरेको सम्बोधन सुने । उनको दूरदर्शिता देखें ।‘

बालेनको प्रशंसा यतिमै मात्र सिमित भएन । मोदीले भने, ‘मैले उनमा नेपाल बनाउने स्पष्ट भिजन देखें । यसले नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा लैजानका लागि महत्त्वपूर्ण छ ।’

सीता र राम, जनकपुर र अयोध्या, लुम्बिनी र बोधगयासम्मका धार्मिक सांस्कृतिक सम्बन्धका कुरा गर्दै मोदीले दुवै देशको अपरिहार्यताबारे उल्लेख गरे । ‘ मुस्किलको समयमा पनि हामी साथी हौं,’ मोदीले आफ्नो छिमेक पहिलो नीतिको प्रसंग उप्काउँदै भने,’यही कारण संसारमा तेलको संकट हुँदा पनि नेपालमा सहज उपलब्ध गराइ रह्यौं ।‘

दुईपक्षीय वार्ता र सहमति सकेर संयुक्त पत्रकार सम्मेलनमा मोदीले व्यक्तिगत प्रसंशाका शब्दहरू सहित नेपाल भारत सम्बन्धमा आयामहरूबारे व्याख्या गरे ।

मोदीपछि बोलेका प्रधानमन्त्री शाहले पनि नेपाली भाषाबाट आप्नो सम्बोधन गर्दै नेपाल भारत सम्बन्धको महत्त्वबारे बताए । प्रधानमन्त्री शाहले भने- ‘नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैं अटल र महासागर झैं विशाल छ ।‘

प्रधानमन्त्री शाहले पुर्खाले स्थापित गरेको सम्बन्धको जगलाई आपसी विश्वास र सहकार्य र साझा समृद्धि मार्फत अघि बढाउने प्रतिबद्धता गरे ।

अनि मोदीकै शैलीमा प्रधानमन्त्री शाहले धार्मिक सास्कृतिक प्रसंग ल्याएर भ्रमणको निम्ता दिए ।

प्रधानमन्त्री शाहको यो पहिलो राजकीय भ्रमण हो । त्यसैले यो राजकीय भ्रमण भारतबाटै थालेकोमा मोदीले प्रशंसा गरे । विगतमा पनि नेपालका प्रधानमन्त्रीहरूले भारतलाई नै आफ्नो भ्रमणको पहिलो गन्तव्य बनाउने गरेका थिए ।

प्रधानमन्त्री बालेन युवा र निकै ठूलो जनमतसहित नेतृत्वमा आएका हुन् । राजनीतिक रूपमा उदाएको नयाँ शक्तिसँग भारतले पनि सम्बन्ध राख्ने चाहेको थियो । त्यसैले यो भ्रमणप्रतिको चासो र उत्सुकता थियो ।

प्रधानमन्त्री शाहले विगतमा राख्दै आएका अडान र व्यवहार कस्तो गर्लान् भन्ने चासो थियो । यो चासोलाई सम्बोधन गर्ने गरी यो भ्रमणमा केही सहमति र सम्झौताहरू भएका छन् ।

प्रधानमन्त्री शाहको यो भ्रमणमा आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका थिए । सोमबार दुईपक्षीय छलफल पछि दुवै देशले संयुक्त भिजन पत्र जारी गरेका छन् ।

सोमबार हैदरावाद हाउसमा मोदीले करिब एक घण्टा प्रधानमन्त्री शाहसँग एक्लै भेटेका थिए । त्यही भेटमा कतिपय मुद्दाहरूको विषयमा कुराकानी भएको थियो । उनीहरूको भेटपछि दुई देशका प्रतिनिधिमण्डल स्तरमा वार्ता र छलफलबाट सहमति र सम्झौताहरू गरिएका थिए ।

दुई जना प्रधानमन्त्रीको एकल कुराकानीमा अरु थप कुराकानी भएकोबारेमा दुवै देशका अधिकारीले बताउन चाहेका छैनन् । ‘एकल वार्तामा केही गफ भएको छ भने त्यसलाई हामीले भन्ने मिल्दैन’ भारतीय विदेश सचिव विक्रम मिश्रीले भने ।

करिब २६ घण्टा बिताएर स्वदेश फर्केका प्रधानमन्त्री शाहले नेपाल र भारतका विगतका कतिपय मुद्दाहरूलाई समाधान गर्ने गरी संयुक्त भिजनपत्र लिएर आएका छन् । यसलाई नेपालको तर्फबाट महत्त्वपूर्ण उपलब्धीको भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । काठमाडौं पुगेर उनले प्रधानमन्त्रीको भ्रमणबाट दुई देशको सम्बन्ध सकारात्मक संभावनायुक्त लयमा फर्किएको बताए ।

भ्रमण राजनीतिक रुपमा नेपाल भारतबीच कचल्टिएका मुद्दाहरू समाधानमा केन्द्रित रहेन । काठमाडौंको मेयर हुँदा ग्रेटर नेपालको नक्सा राखेका बालेनले मोदी नै भेट्दा चाहिँ देखिने गरी आफ्नो कुरा राखेनन् । विकास र केहि सहकार्य र सहयोगका विषयमा बढ्ता केन्द्रित भएको थियो ।

हैदरावाद हाउसमा भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि दुई देशबीच विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। साथै, सीमा पार पूर्वाधार, रेल, जलविद्युत् र पेट्रोलियम क्षेत्रका परियोजनालाई अघि बढाउने सहमति भएको छ।

नेपालमा आएको बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई सहयोग गर्ने उद्देश्यले भारतले २ खर्ब ४० बराबारको अनुदान र ऋण बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ। यो भ्रमणको महत्त्वपूर्ण विषय यही हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई छिमेकीहरूलाई सघाउने योजनाबाट यो प्याकेज घोषणा गरेको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीका अनुसार उक्त रकम नेपालमा बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि उपयोग गरिनेछ।

त्यस्तै भारतले नेपाललाई भैरहवा नजिकको भारतीय आकासबाट जहाजहरू आवत जावत गर्न मिल्ने गरी रुट प्रदान गर्ने सहमति जनाएको छ ।

यसले नयाँ हवाइ रुट माग्दै आएको नेपालको करिब एकदशकको प्रयासमा ब्रेक थ्रु भएको छ । यसले अब नेपालको एयर कनेक्टिभीटीलाई झन् मजबुत बनाउने परराष्ट्रमन्त्री खनालले बताए । नेपालसँग भारतले पनि बागडोग्रा विमानस्थलका लागि हवाई रुट मागेको थियो । तर उक्त क्षेत्रमा हवाई रुट दिँदा नेपाललाई समस्या पर्ने भन्दै आलोचना भएपछि नेपाली अधिकारीहरू त्यसबारे निर्णय गर्नेतर्फ लागेनन् ।

यो विषयमा दुई मुलकका अधिकारीहरूबीच अन्तिम समयसम्म पनि छफफल चलिरहेको थियो । तर आइतबार होटल ताज महलमा भेटिएका सरकारी अधिकारीहरूले हवाई भारतका लागि दिने कुरा चाहिँ गार्‍हो रहेको बताएका थिए ।

यी बाहेक आठवटा समझदारीमा अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्य र सुरक्षासम्मका विषय छन् । यी समझदारीले परम्परागत विकास साझेदारीलाई प्रविधि, प्रशासनिक क्षमता, अनुसन्धान र संस्थागत सहकार्यसम्म विस्तार गर्ने लक्ष्य राखेका छन्।

भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने सम्झौता भएको छ।

त्यस्तैभारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच तालिम तथा संस्थागत सहकार्य गर्ने समझदारी भएको छ।

भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको प्रशासनिक कर्मचारी कलेजबीच नेपाली सरकारी कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

दुवै देशबीच आयुर्वेद र अन्य परम्परागत उपचार पद्धतिमा सहकार्य गर्ने समझदारी पनि छ ।

नेपाल र भारतका स्वास्थ्यसम्बन्धी सरकारी निकायबीच स्वास्थ्य सेवा र चिकित्सकीय क्षेत्रमा सहयोग विस्तार गर्ने सम्झौता भएको छ।

सहरको योजनाबद्ध विकास, प्रविधि हस्तान्तरण तथा सहरी व्यवस्थापनमा सहकार्य गर्ने समझदारी छ ।

पशुपालन र मत्स्यपालनको विकास तथा यस क्षेत्रमा प्राविधिक सहयोग विस्तार गर्ने सहमति पनि भएको छ।

सांस्कृतिक सम्बन्धलाई मजबुत पार्न अयोध्या–जनकपुर रेलसेवा पनि सुरू भएको छ । अयोध्या र जनकपुरलाई जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेलसेवाको राम सीताको जन्मस्थललाई जोडेको छ ।

मोदीले राम र सीतालाई नेपाल–भारतको साझा सभ्यता र आस्थाको प्रतीकका रूपमा उल्लेख गर्दै नयाँ रेलसेवाले अयोध्या आउने श्रद्धालुलाई जनकपुर पुग्न सहज बनाउने बताएका थिए।

उनका अनुसार यसले धार्मिक पर्यटन, यात्रु आवागमन र सीमापार सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउन सक्छ।

भ्रमणका क्रममा रेलसेवाबाहेक ऊर्जा, सडक, व्यापार र पेट्रोलियम पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू पनि अघि बढाइएको छ।

दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन्।

धार्चुला–दार्चुला मोटरेबल पुल, बनबासा एकीकृत जाँच चौकी : नयाँ एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, झापामा पेट्रोलियम टर्मिनल बनाउने लगायतका सहमति भएका छन् ।

पहिलो, आर्थिक तथा विकास साझेदारीका कुरा भएका छन् । बाढीपछिको पुनर्निर्माणका लागि घोषणा गरिएको आर्थिक सहयोग र विभिन्न विकास परियोजनाले नेपालको पुनर्निर्माण तथा पूर्वाधार विकासमा भारतको भूमिका निरन्तर रहने संकेत गरेका छन्।

दोस्रो, ऊर्जा र व्यापारसँग सम्बन्धित छन् । जलविद्युत्, पेट्रोलियम पाइपलाइन, सीमापार पुल तथा एकीकृत जाँच चौकीका परियोजनाले दुई देशबीचको आर्थिक अन्तरनिर्भरता र व्यापारिक सम्पर्क विस्तार गर्ने सम्भावना बोकेका छन्।

तेस्रो, प्रविधि र संस्थागत सहकार्य गर्ने विषय परेका छन् । स्याटेलाइट सञ्चार, स्वास्थ्य, फरेन्सिक अनुसन्धान, प्रहरी तालिम र सरकारी कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी सम्झौताले सहकार्यको दायरा परम्परागत पूर्वाधारभन्दा बाहिर विस्तार गरेको देखिन्छ ।

यद्यपि, सम्झौतामा हस्ताक्षर हुनु र त्यसको प्रभाव नागरिकको जीवनमा देखिनु फरक कुरा हुन् भन्ने प्रधानमन्त्री बालेनले नै आफ्नो सम्बोधनमा भनेका छन् । ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

२५ घण्टा लामो यो बसाईमा प्रधानमन्त्री बालेनले सरकारी बाहेक अन्य पक्षहरूलाई भेटेनन् । राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी र विदेश मन्त्री जयशंकर सँग मात्र भेटे ।

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
11h ago
दिल्लीमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान

दिल्लीमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

#बालेन-शाह #गार्ड #अनर
Compare →
Hamro Patro News
9h ago
नयाँ दिल्लीमा बालेनको कूटनीतिक परीक्षा : मोदीसँग हैदरावाद हाउसमा निर्णायक वार्ता

नयाँ दिल्लीमा बालेनको कूटनीतिक परीक्षा : मोदीसँग हैदरावाद हाउसमा निर्णायक वार्ता

काठमाडौँ । औपचारिक भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली उत्रिएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सोमबार बिहानैबाट उच्चस्तरीय कूटनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। भ्रमणको दोस्रो दिन ...

#बालेन-शाह #दिल्ली #बालेन
Compare →
Bizshala
7h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #दिल्ली #बालेन
Compare →
Arthasansar
5h ago
बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Technology
Build #2612