Trending
Prev Story
Next Story

विचार | लगानीको वातावरण छोप्ने अवसर

Ekantipur •
November 21, 2026 • 05:32 PM
3
3 reads 0 reactions

अहिले वित्तीय प्रणालीमा कर्जायोग्य पुँजी पर्याप्त छ । ब्याजदर इतिहासकै न्यून छ । त्यसैले अहिले मुलुकमा राम्रो लगानी वातावरण बनेको छ ।

विचार | लगानीको वातावरण छोप्ने अवसर

अहिले वित्तीय प्रणालीमा कर्जायोग्य पुँजी पर्याप्त छ । ब्याजदर इतिहासकै न्यून छ । त्यसैले अहिले मुलुकमा राम्रो लगानी वातावरण बनेको छ ।

देशमा सबैभन्दा पहिले उद्योग खुलेको सहर हो, विराटनगर । १९९३ सालमा प्रधानमन्त्री जुद्धशमशेर राणाको पालामा विराटनगर जुट मिल स्थापना भएको थियो । मिलको स्थापनासँगै नेपालमा सर्वप्रथम ‘कम्पनी ऐन, १९९३’ जारी भएको थियो ।

उतिबेला नेपालमा जुटको उत्पादन उच्च थियो । उक्त उद्योग राम्ररी चल्यो । जुट मिलले त्यस बेला नै ११० प्रतिशत लाभांश दिएको थियो ।

तर, त्यसबेला राजनीतिको उद्यम पनि यही भयो । यहाँ उद्योगहरूले श्रमिकहरूको श्रम शोषण गरेको भाष्य निर्माण भयो । आन्दोलन राजनीतिक थियो, त्यसको प्रभाव भने उद्योग व्यवसायमा पर्‍यो ।

उतिबेला उद्योग व्यवस्थापनका लागि म्यानेजिङ एजेन्सी ल्याउने चलन थियो । भारतमा यस्ता एजेन्सीहरू हुन्थे । सात सालको क्रान्तिपछि कम्पनी ऐन संशोधन गरी म्यानेजिङ एजेन्सीलाई कडाइ गरियो । त्यसपछि यहाँ पहिलेको जसरी औद्योगिक वृद्धि देखिएन । प्रजातान्त्रिक व्यवस्था भए पनि त्यो जमानामा पुँजीपतिहरूले मजदुरको शोषण गर्छन् भन्ने मान्यता राखिन्थ्यो ।

व्यवसायी बन्न सबैले सक्दैनन् । व्यवसायमा लागेपछि सबै सफल हुन्छन् भन्ने निश्चितता पनि हुँदैन । शिक्षा पाएर मात्र पनि उद्यमी बनिँदैन । तर कतिपयलाई पुस्तागत ज्ञानले उद्यमी बन्न सघाइरहेको हुन्छ ।

उद्योगहरू अनुदानकै आधारमा लामो समयसम्म चल्न सक्दैनन् । हामीलाई आफ्नै क्षमतामा चल्ने उद्योगहरू चाहिन्छन् । एक पटक असफल भए पनि फेरि उठ्न सक्ने व्यवसायी हुनुपर्छ भन्ने राज्यको चाहना हुन्छ । यही कारण अमेरिकामा खारेज हुन लागेका व्यवसायको पनि पुनरोत्थान गर्न जोड दिइन्छ । व्यवसायी कालोसूचीमा परेपछि फर्किनै नसक्ने अवस्था बनाइँदैन । जसरी पनि तिर्नुपर्छ, कारागारमा राख्छौं भन्ने व्यवस्था आधुनिक समाजले कल्पना गर्दैन । पहिले ऋण तिर्न नसक्नेलाई घरमा कमाराकमारी बनाएर राख्ने जस्तो व्यवस्था अहिलेको युग सुहाउँदो होइन ।

व्यवसाय असफल हुन सक्छ । प्रयासले काम नगर्न सक्छ । सफल भएको भए समाजलाई योगदान पुग्थ्यो । असफलतापछि व्यवसाय फेरि बौरिन पनि सक्छ । अहिले संसारकै सबैभन्दा ठूलो कम्पनी रहेको एप्पल सुरुमा असफल भएर पछि उदाएको हो । अमेरिकामा असफल भएर उदाएका कम्पनीहरू धेरै छन् ।

धेरै मानिसहरू मिहेनत गर्दागर्दै असफल हुन्छन् । नीतिगत अस्थिरताका कारणले पनि भइरहेका हुन्छन् । नेपालमा मात्र नभई अन्य मुलुकमा पनि यस्तो अस्थिरता देखिन्छ र व्यवसाय असफल हुन्छन् ।

मुलुकहरूमा राजनीति फेरिन्छन् । सत्तामा आउने राजनीतिक दल फेरिन्छन् । नीति फेरिन्छन् । विश्वमा व्यवसायीहरू केही न केही आधारले सरकारप्रति निर्भर हुन्छन् । व्यवसायीहरू जतिसुकै बलिया भए पनि संस्था (सरकार) सँग लड्न सक्दैनन् । तर, सफल हुनचाहिँ व्यवसायीहरूमा राजनीतिक अस्थिरतामा कसरी टिक्ने भन्ने विशेष दक्षता र खुबी हुनुपर्छ ।

नेपालमा पनि केही व्यवयासीले यस्तो उच्च क्षमता प्रदर्शन गरेका छन् । यसका उदाहरण हुन्, भाटभटेनी सुपर स्टोरका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ । गत वर्षको जेन–जी प्रदर्शनका क्रममा भाटभटेनीका धेरै वटा स्टोरमा तोडफोड र आगजनी भयो । यति हुँदा पनि उनले सरकारलाई कर तिरे । कर तिर्ने व्यवसायीहरूमध्ये यस वर्ष उनी पनि सम्मानित भए ।

अहिले बैंकिङ क्षेत्रमा ब्याजदर स्थिर छ । ब्याजदरलाई निर्देशित दिशामा हिँडाउने ब्याजदर करिडरका कुनै सीमा चलाइएको छैन । यसले व्यवसायको लागत अनुमानयोग्य बनाएको छ । मूल्यवृद्धि नियन्त्रणमै छ । बाह्य घटनाले केही बढेको हो, तर यसमा सुधार हुँदै जानेछ ।

बैंकमा ऋण लगानीयोग्य पुँजी छ । त्यसो भन्दैमा बैंकले अयोग्य कर्जा प्रस्तावमा लगानी गर्दैन । राम्रो प्रस्तावलाई बैंकले कर्जा लगानी गर्छ नै । बैंकले जथाभावी कर्जा दिएमा सबैलाई समस्या हुन्छ । त्यसैले कर्जा माग्न जाँदा व्यवसायीहरूले यी कुरा मनन गर्नुपर्छ ।

कर्जा माग्दा वस्तुपरक माग गर्नुपर्छ । कतिपयले बैंकमा कर्जा माग गर्न आउँदा अस्वाभाविक योजना ल्याउनुहुन्छ । हाम्रा जेजस्तो उत्पादनले मुलुकको नक्सा फेर्न सक्छ, त्यसतर्फ जोड दिन जरुरी हुन्छ । दिगो हुने उद्योग र उत्पादनमा लाग्नुपर्छ । अहिले हाम्रा उत्पादनको ठूलो बजार हाम्रा छिमेकी देशहरू नै हुन् ।

अहिले नेपालको विदेशी मुद्रा सञ्चिति पनि उच्च दरमा पुगेको छ । ठूला पूर्वाधार बनाउने भयौं भने पनि केही वर्षसम्म हामीलाई सञ्चितिमा दबाब पर्ने देखिँदैन । विदेशी मुद्राको सञ्चिति उच्च भएकै कारण अहिले आईटी कम्पनीहरूलाई मुलुकबाहिर एक लाख डलरसम्म पुँजी लैजान सक्ने सुविधा दिएका छौं । अन्यलाई पनि यहाँबाट विदेशमा १० लाख डलरसम्म लगानी गर्न खुला गरेका छौं । शिक्षा वा विदेश भ्रमणका लागि समेत डलर लैजान सक्ने सुविधा दिएका छौं । यति हुँदाहुँदै विदेशी मुद्राको सञ्चिति मासिक रूपमा बढिरहेकै छ ।

यस्तो बेला सरकारको ऋण धेरै हुने गर्छ । तर हाम्रो वैदेशिक ऋण १० अर्ब डलर बराबर मात्रै छ । ब्याजदर ०.७ औसतमा तिरिरहेका छौं । विदेशी मुद्राको लगानीबाट हामीले चार प्रतिशत ब्याज कमाइरहेका छौं ।

सस्तो ब्याजको विदेशी ऋण पाएकै कारण हामीकहाँ जलविद्युत् क्षेत्रको विकास भयो । अब हामीले सहरहरूलाई एक्सप्रेस–वेबाट जोड्नुपर्ने भएको छ । विश्वमा बनिरहेका ठूला एक्सप्रेस–वेको तुलनामा हामीले एक प्रतिशत पनि बनाएका छैनौं । धेरै पूर्वाधार बनाउनु छ । तर, पूर्वाधारमा मात्रै लगानी गरेर मुलुकले लामो अवधिसम्म आर्थिक वृद्धि कायम राख्न सक्दैन । सरकारले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ ।

समग्रमा, अहिले वित्तीय प्रणालीमा कर्जायोग्य पुँजी पर्याप्त छ । ब्याजदर इतिहासकै न्यून छ । त्यसैले अहिले मुलुकमा राम्रो लगानी वातावरण बनेको छ ।

(कान्तिपुर मिडिया ग्रुपद्वारा विराटनगरमा आयोजित ‘उज्यालो पूर्व’ कार्यक्रममा गभर्नर पौडेलले राखेको मन्तव्यको सम्पादित अंश)

विश्व पौडेल गभर्नर हुन् । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
बैंकहरूमा संस्थागत निक्षेपको अंश २ प्रतिशत बिन्दुले घट्यो

बैंकहरूमा संस्थागत निक्षेपको अंश २ प्रतिशत बिन्दुले घट्यो

३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै संस्थागत निक्षेप पनि घट्न थालेको छ । संस्थागत निक्षेपकर्ताले ब्याज घटेसँगै मुद्दती निक्षेपको लगानी घटाएका हुन् । वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै निक्षेपको ब्याजदर निरन्तर घट्दै …

#ब्याजदर #वित्तीय
Compare →

Related Stories

Business & Economy
Build #2612