दीपेन्द्रले भने, ‘हामी दबाबमा थियौं, तर थारिन्दु रथ्नायकेले राम्रो खेले । हाम्रो बलिङ राम्रो छ । पूरा टिमले राम्रो गरिरहेको छ, व्यवस्थापनले पनि ।’
काठमाडौँ — सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन फाइनलमा लुम्बिनी लायन्सविरुद्ध भिड्दा त्यो खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको क्वालिफायर–२मा सुदूरपश्चिमले चितवन राइनोजलाई तीन विकेटले हराएको हो ।
चितवनले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ३३ रन बनाएपछि जवाफमा सुदूरपश्चिमले सात विकेटमा १ सय ३६ रन बनाएको हो । दीपेन्द्रले भने, ‘हामी दबाबमा थियौं, तर थारिन्दु रथ्नायकेले राम्रो खेले । हाम्रो बलिङ राम्रो छ । पूरा टिमले राम्रो गरिरहेको छ, व्यवस्थापनले पनि ।’
सुदूरपश्चिमले लगातार तेस्रो पल्ट फाइनल पुगेको हो । तर यसअघिका दुई सिजनमा सुदूरपश्चिम उप–विजेतामै सीमित रहेको थियो । गत सिजनको फाइनलमा चितवनले सुदूरपश्चिमलाई नै हराएको थियो । यस्तै क्वालिफायर–वानमा पनि यिनै दुई टिम भिडेका थिए ।
खेलको ‘प्लेयर अफ द म्याच’ थारिन्दु रथ्नायके भए । उनले नटआउट ५३ रनको अर्धशतक बनाए र विजयी चौका पनि प्रहार गरे । उनले भने, ‘म निकै खुसी छु र फाइनल खेलिरहेका छौं । क्वालिफायर वान गुमाएयता यो जित विशेष रह्यो ।’ उनले पिच केही गाह्रो भएको, तर धैर्यपूर्वक ब्याटिङ गरेको बताए ।
खेलपछि पराजित टिमका कप्तान रवि बोपाराले फाइनल पुग्न नसकेकोमा निराशा पोखे । उनले भने, ‘आजको हार स्विकार्न गाह्रो हुन्छ, किनभने टिम र खेलाडीले राम्रो खेलेका थिए । तर क्रिकेटमा यस्तै हुन्छ । तर मलाई आफ्नो टिमको प्रदर्शनमा गर्व रहनेछ, सबै तीनै सिजनमा ।’