Trending
Prev Story
Next Story

विचार | कप–३१ बाट खोजिएको ‘डिपार्चर’

Ekantipur •
November 17, 2026 • 01:32 AM
3
3 reads 0 reactions

कप–३१ को सफलता वार्ता कक्षभित्र विश्वका नेताहरूले के भने भन्ने आधारमा होइन, वार्ता कक्षबाहिर रहेका आम मानिसको जीवनमा के परिवर्तन आयो भन्ने आधारमा मापन गरिनुपर्छ ।

विचार | कप–३१ बाट खोजिएको ‘डिपार्चर’

कप–३१ को सफलता वार्ता कक्षभित्र विश्वका नेताहरूले के भने भन्ने आधारमा होइन, वार्ता कक्षबाहिर रहेका आम मानिसको जीवनमा के परिवर्तन आयो भन्ने आधारमा मापन गरिनुपर्छ ।

जर्मनवाचको जलवायु जोखिम सूचकांक २०२६ अनुसार, सन् १९९५ देखि २०२४ सम्म चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित देश डोमिनिका (क्यारिबियन सागरमा अवस्थित टापु राष्ट्र) हो भने म्यानमार, होन्डुरस, पाकिस्तान, बंगलादेश र नेपाल जलवायु परिवर्तनका उच्च जोखिममा रहेका देशहरूमध्ये पर्छन् ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय न्यायालयमा प्रस्तुत ‘जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरूको दायित्व’ विषयक सल्लाहकारी रायको सुनुवाइका क्रममा विभिन्न राष्ट्र तथा समुदायका प्रतिनिधिहरूले जलवायु परिवर्तनबाट प्रभावित व्यक्ति र समुदायलाई ‘जलवायु पीडित’ का रूपमा सम्बोधन गरेका थिए, यद्यपि अदालतले यसलाई छुट्टै कानुनी परिभाषाका रूपमा स्थापित गरेको छैन ।

केन्या, फिलिपिन्स, चिली, फिजी, भानुआटु र बंगलादेशजस्ता देशहरूले जलवायु परिवर्तनबाट प्रभावित तथा विस्थापित व्यक्ति र समुदायको संरक्षण, अधिकार र न्यायका लागि विभिन्न राष्ट्रिय कानुन तथा नीतिगत व्यवस्था गरेका छन्, यद्यपि सबैले ‘जलवायु पीडित’ शब्दलाई औपचारिक कानुनी परिभाषाका रूपमा स्वीकार गरेका छैनन् ।

सन् २०१९ मा संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले इओआने तेइटिओटाविरुद्ध न्यूजिल्यान्ड मुद्दामार्फत जलवायु परिवर्तनका कारण विस्थापित तथा प्रभावित व्यक्तिहरूको पीडित अवस्था, मानव अधिकार र जीवनको सुरक्षासम्बन्धी दायित्वलाई अन्तर्राष्ट्रिय कानुनी बहसमा स्थापित गर्दै जलवायु पीडित र जलवायु शरणार्थीको अवधारणालाई थप महत्त्व प्रदान गरेको छ । यसको बाबजुद अन्तर्राष्ट्रिय समुदायले जलवायु पीडितहरूको आवाज किन सुनिरहेको छैन ? यो प्रश्न यस लेखको मुख्य विषयवस्तु हो ।

यस लेखमा ‘कान्फरेन्स अफ द पार्टीज’ सम्बन्धी नेपालमा प्रयोग गरिने छोटो शब्द ‘कोप’ को सट्टामा ‘कप’ शब्द प्रयोग गरिएको छ । लेखमा जारी कप–३१ को बैठकको कार्यसूची र विकासोन्मुख र अति कम विकसित राष्ट्रहरूका एजेन्डाहरू प्रस्तुत गरिसकेपछि, जलवायु परिवर्तनबाट पीडितहरूको आवाज अझै पनि व्यापक अन्तर्राष्ट्रिय मञ्चमा किन बलियो हुन सकेको छैन भन्ने विषयमा केन्द्रित गरिएको छ ।

पीडितहरू केन्द्रित छलफल अतिआवश्यक छ, किनभने जलवायु परिवर्तनसम्बन्धी वार्ताका सन्दर्भमा विगत ३० वर्षयता के भयो (वा हरेक वर्ष के हुन्छ) भन्नेबारे सर्वसाधारणलाई पर्याप्त जानकारी दिइँदैन । वार्ताको भाषा प्राय: कूटनीतिक हुन्छ । कूटनीतिक भाषाले सामान्य मानिसलाई जटिल प्राविधिक, कानुनी, राजनीतिक, आर्थिक तथा प्राविधिक शब्दहरू बुझ्न मद्दत गर्दैन । उदाहरणका लागि, जलवायु परिवर्तनका अन्तर–मुद्दाहरू (क्रस–कटिङ इस्सुज), विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको ‘शक्ति असन्तुलनको राजनीति’ लाई लिएर विज्ञहरू समेत अलमलमा पर्ने गर्छन् । जलवायु परिवर्तन न्यूनीकरण (मिटिगेसन) का लागि बढी स्रोतसाधन छुट्याउँदा अनुकूलन (एडेपटेसन) का लागि रकम घटाउन सकिन्छ भन्ने पुँजीवाद र समाजवाद विचारधारातर्फ झुकाव राख्ने अर्थशास्त्रीहरूले ‘वातावरणीय अर्थशास्त्र’ को आवश्यकता बुझ्न सकेका छैनन् । त्यस्तै, वैज्ञानिक नवप्रवर्तनमा बढी लगानी गर्दा उत्सर्जन कटौती गर्ने सम्भावना अझ बलियो हुन सक्छ । यी जटिल विषय हुन् र तिनलाई संक्षेपमा राखिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कप–३१ को मुख्य एजेन्डा (कार्यसूची) हरू विशेषज्ञहरूलाई थाहा हुन्छ, तर सर्वसाधारणले पनि कार्यसूचीहरूबारे जान्न आवश्यक छ । कप–३१, टर्कीएको अन्ताल्यामा (सन् २०२६, नोभेम्बर ९ देखि नोभेम्बर २० सम्म) भइरहेको छ ।

कप–३१ का कार्यसूची यस प्रकार छन्– सम्मेलनको संगठनात्मक विषय, विभिन्न निकायका प्रतिवेदन, विकसित र विकासशील देशहरूले गरेका जलवायु कार्यहरूको समीक्षा, जलवायु अनुकूलन, जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानी, जलवायु वित्त, हरित जलवायु कोष, प्रविधि विकास तथा हस्तान्तरण, क्षमता विकास, अति कम विकसित देशका मुद्दा, जलवायु नीतिका प्रभाव, लैंगिक समानता, दीर्घकालीन जलवायु लक्ष्यको समीक्षा, प्रशासनिक तथा आर्थिक विषय र उच्चस्तरीय राजनीतिक छलफललगायत विषयहरू समावेश छन् ।

विकासशील र अति कम विकसित देशका एजेन्डा

कप–३१ मा विकासशील र अति कम विकसित देशहरूले मुख्य रूपमा निम्न विषयहरू उठाइरहेका छन्–

१) विकसित देशबाट पर्याप्त, सुनिश्चित र सहज रूपमा उपलब्ध हुने जलवायु वित्तको व्यवस्था ।

२) जलवायु अनुकूलनका लागि थप आर्थिक सहयोग ।

३) जलवायु परिवर्तनबाट भएको क्षति तथा नोक्सानीको क्षतिपूर्ति र सहयोग ।

४) राष्ट्रिय अनुकूलन योजनाको प्रभावकारी कार्यान्वयन ।

५) न्यायोचित ऊर्जा संक्रमण र नवीकरणीय ऊर्जाको विकास ।

६) जलवायुमैत्री प्रविधिको विकास तथा हस्तान्तरण ।

७) संस्थागत तथा प्राविधिक क्षमता विकास ।

८) खाद्य सुरक्षा, जल सुरक्षा र जलवायुमैत्री कृषि प्रवर्द्धन ।

९) ऋणको बोझ नबढ्ने गरी अनुदान तथा सहुलियतपूर्ण जलवायु वित्तको व्यवस्था ।

१०) जलवायु न्याय, समानता तथा ‘साझा तर फरक जिम्मेवारी र आ–आफ्ना क्षमताहरूको सिद्धान्त’ को कार्यान्वयन ।

विकासशील र अति कम विकसित देशहरूले कप–३१ मा मुख्य रूपमा उठाउँदै आएका मुद्दा हुन्–

१) जलवायु वित्त: विकसित देशहरूले सन् २०३५ सम्म वार्षिक ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र उक्त रकम विकासशील देशहरूले सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने ।

२) जलवायु अनुकूलन वित्त: जलवायु परिवर्तनका असरबाट जोखिममा रहेका देश तथा समुदायको संरक्षणका लागि सन् २०३५ सम्म अनुकूलन वित्तलाई तीन गुणाले वृद्धि गर्नुपर्ने ।

३) क्षति तथा नोक्सानी कोष: जलवायु परिवर्तनका कारण विकासशील देशहरूले भोग्नुपरेको अपूरणीय क्षति तथा नोक्सानी सम्बोधन गर्न कोषमा पर्याप्त रकम सुनिश्चित गर्नुका साथै प्रभावित देशहरूले सरल, सहज र छिटो प्रक्रियाबाट उक्त रकम प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने ।

हरेक वर्ष विश्वका राष्ट्रप्रमुख, कूटनीतिज्ञ तथा जलवायु वार्ताकारहरू जलवायु संकट समाधान गर्ने विषयमा छलफल गर्न जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलनमा भेला हुन्छन् । तर विश्वभरिका आम नागरिकले एउटा महत्त्वपूर्ण विषय बुझ्न आवश्यक छ, कप सम्मेलनहरू केवल वार्षिक जलवायु सम्मेलन मात्र होइनन् । यी सन् १९९२ मा पारित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कार्यान्वयन गर्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हुन् । उक्त महासन्धिले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने महत्त्वपूर्ण सिद्धान्तहरू स्थापित गरेको छ । तर ती सिद्धान्तलाई व्यवहारमा उतार्न कप सम्मेलनमार्फत राष्ट्रहरूबीच निर्णय, प्रतिबद्धता र सहमति आवश्यक हुन्छ । क्योटो प्रोटोकल र पेरिस सम्झौता यसै प्रक्रियाबाट प्राप्त भएका दुई महत्त्वपूर्ण उपलब्धि हुन् ।

तर महासन्धि पारित भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि एउटा आधारभूत प्रश्न अझै अनुत्तरित छ. के यी अन्तर्राष्ट्रिय वार्ताहरूले वास्तवमै विश्वलाई आवश्यक पर्ने परिणाम दिइरहेका छन् ?

हरेक कप सम्मेलनबाट जलवायु वित्तका विषयमा ठोस प्रगति हुने अपेक्षा गरिन्छ । यसमा जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन तथा जलवायु परिवर्तनका कारण भएको क्षति र नोक्सानी सम्बोधन गर्न आवश्यक आर्थिक सहयोग समावेश हुन्छ । यी केवल प्राविधिक विषय होइनन् । यी मानिसको जीवन, जीविकोपार्जन, घर, सुरक्षा र भविष्यसँग प्रत्यक्ष जोडिएका विषय हुन् ।

जलवायु परिवर्तनले सम्पूर्ण विश्वलाई प्रभावित गरिरहेको छ, तर यसको असर सबै देश र समुदायमा समान छैन । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा सबैभन्दा कम योगदान गर्ने देशहरू नै प्राय: जलवायु परिवर्तनका सबैभन्दा गम्भीर असर भोग्न बाध्य छन् । नेपालको हिमाली क्षेत्र तथा आसपासका देशहरूमा हिमताल विस्फोट, हिमनदीजन्य विपद् र अन्य जलवायुजन्य घटनाले पुर्‍याइरहेको क्षति यसका पीडादायी उदाहरण हुन् । यस्ता विपद्ले मानिसको ज्यान लिइरहेका छन्, बस्ती उजाडिरहेका छन् र जीविकोपार्जनका आधार नष्ट गरिरहेका छन् ।

विश्वव्यापी जलवायु कार्यदिशा निर्माण गर्न चीन र भारत दुवै देशको प्रभाव र जिम्मेवारी अत्यन्त महत्त्वपूर्ण छ । त्यस्तै, ऐतिहासिक रूपमा बढी उत्सर्जन गरेका र आर्थिक क्षमता भएका विकसित देशहरूबाट अपेक्षित प्रतिबद्धता र सहयोग किन प्राप्त हुन सकिरहेको छैन ? धेरै विकसित देशहरू कप वार्तामा सहभागी भए पनि उनीहरूको वास्तविक कार्य र आर्थिक प्रतिबद्धता आवश्यकताभन्दा निकै कम छन् । संयुक्त राज्य अमेरिकाको बदलिँदो नीतिगत अवस्थाले पनि विश्वव्यापी जलवायु नेतृत्वमा निरन्तरता र स्थिरताको अभाव देखाएको छ ।

कप वार्ताको सबैभन्दा ठूलो समस्या राष्ट्रहरूबीच विद्यमान शक्ति असमानता हो । वार्तामा देशहरूले जलवायु संकटबाट प्रभावित मानिस र समुदायका वास्तविक आवश्यकतालाई केन्द्रमा राख्नुभन्दा आफ्ना राजनीतिक तथा आर्थिक स्वार्थ र राष्ट्रिय अडानलाई प्राथमिकता दिने गरेका छन् । शक्तिशाली राष्ट्रहरूको निर्णय प्रक्रियामा बढी प्रभाव हुन्छ भने जलवायु परिवर्तनको सबैभन्दा गम्भीर असर भोगिरहेका देशहरूको आवाज कमजोर सुनिन्छ ।

यदि जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका देशहरू एकजुट भएर एउटै बलियो राजनीतिक शक्तिका रूपमा वार्तामा प्रस्तुत भए भने के हुन्थ्यो होला ? यदि उनीहरूले व्यक्तिगत राष्ट्रिय स्वार्थभन्दा आफ्ना जनताको आवश्यकता र हितलाई वार्ताको केन्द्रमा राखे भने के विश्वको जलवायु कूटनीतिको दिशा परिवर्तन हुन सक्दैनथ्यो ?

उनीहरूको सामूहिक आवाजले विद्यमान शक्ति असन्तुलनलाई चुनौती दिन र विश्व जलवायु वार्तालाई नयाँ दिशामा लैजान सक्थ्यो । तर यस्तो एकता र सामूहिक राजनीतिक शक्ति अझै कमजोर छ ।

अर्थपूर्ण एकता, बलियो राजनीतिक दबाब र जवाफदेहीको अभावमा कप–३१ पछि पनि विश्वले फेरि उही परिचित समाचार सुन्नुपर्ने हुन सक्छ- ‘जलवायु वार्तामा महत्त्वपूर्ण प्रगति भएको छ ।’ तर प्रश्न उठ्छ, प्रगति कसका लागि हो ? प्रगति भन्नाले सम्झौताको संख्या बढ्नु, आर्थिक सहयोगको घोषणा हुनु र कूटनीतिक वक्तव्य जारी हुनु मात्र हो ? अथवा कम मानिसको ज्यान जानु, समुदाय सुरक्षित हुनु, जीविकोपार्जनका आधार जोगिनु र जोखिममा रहेका देशहरूले आवश्यक सहयोग प्राप्त गर्नु वास्तविक प्रगति हो ?

सबैभन्दा महत्त्वपूर्ण विषय विश्वव्यापी उत्सर्जन कटौती हो । जलवायु परिवर्तनका क्षेत्रमा प्रभावशाली व्यक्तिहरू, राजनीतिक नेतृत्व, अन्तर्राष्ट्रिय संस्थाहरू र विश्वका वार्ताकारहरूले आफैंलाई एउटा गम्भीर प्रश्न सोध्नुपर्छ– के कप सम्मेलनहरूले वास्तवमै जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेका मानिसको आवश्यकता सम्बोधन गरिरहेका छन्, वा शक्तिशाली राष्ट्रहरूका राजनीतिक मतभेद व्यवस्थापन गर्ने प्रक्रियामा सीमित भइरहेका छन्, जबकि आम मानिस जलवायु संकटको पीडा भोग्न बाध्य छन् ?

विश्वलाई जलवायु न्याय, वास्तविक नेतृत्व, पर्याप्त र सहज रूपमा उपलब्ध हुने जलवायु वित्त, जवाफदेहिता र ठोस कार्यान्वयन चाहिएको छ । अन्तत: कप–३१ को सफलता वार्ता कक्षभित्र विश्वका नेताहरूले के भने भन्ने आधारमा होइन, वार्ता कक्षबाहिर रहेका आम मानिसको जीवनमा के परिवर्तन आयो भन्ने आधारमा मापन गरिनुपर्छ । जलवायु सम्मेलनको सफलता कूटनीतिक उपलब्धिमा होइन, मानिसको जीवनमा आएको सकारात्मक परिवर्तनमा देखिनुपर्छ । यदि सबै विकासोन्मुख र अति कम विकसित राष्ट्रहरू एकजुट भएर, ऐतिहासिक उत्सर्जनका लागि जिम्मेवार विकसित राष्ट्रहरूलाई ‘कि त उत्सर्जन घटाऊ र क्षतिपूर्ति तिर, नत्र बैठक छोडेर जाऊ’ भनी सामूहिक रूपमा भने कस्तो होला ? सबैलाई थाहा छ कि यसो भन्नु कूटनीतिक अभिव्यक्ति होइन, तर जलवायु पीडितहरूलाई सच्चा र इमानदार आवाजको आवश्यकता छ ।

‘प्रायोजित कार्यक्रम’ र प्रभावशाली व्यक्तिको सूची

जलवायु परिवर्तनको सन्दर्भमा, ‘टाइम म्यागजिन’ ले सन् २०२३ देखि जलवायु परिवर्तनका क्षेत्रमा ‘प्रायोजित कार्यक्रम’ (कर्पोरेट फ्रान्चाइज) का आधारमा प्रभावशाली १०० व्यक्तिको सूची प्रकाशन गर्न सुरु गरेको हो । टाइम लगायत फोर्ब्स, द गार्जियन, फर्च्युन र रोयटर्सजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा पत्रिकाहरूले पनि जलवायु परिवर्तनका क्षेत्रमा प्रभावशाली व्यक्तिहरूको पहिचान र सम्मान गर्दै आएका छन् । हरेक वर्ष विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरूको सूचीबाट कुनै एक व्यक्तिले सत्य बोल्न साहस गर्न सक्छन् ?

ग्रेटा टुनबारी, भेनेसा नाकाते, बिल म्याककिबेन र एन्टोनियो गुटेरेस जलवायु परिवर्तनका विषयमा विश्वस्तरमा मुखर र प्रभावशाली आवाज उठाउने व्यक्तिहरू भए पनि, उनीहरूको प्रभाव कपका निर्णयहरूमा अपेक्षा गरिएअनुरूप देखिन सकेको छैन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय रूपरेखा महासन्धि भएको ३० वर्षभन्दा बढी समय बितिसकेको छ । कप–३१ पछि पनि पीडितहरूलाई थप धोकाधडी र नक्कली सफलताका समाचार शीर्षकहरूको आवश्यकता छैन । प्रत्येक देशका स्थानीय तहका नागरिक आन्दोलनहरूले जलवायु पीडितहरूको आवाज बुलन्द गर्दै जलवायु न्याय, क्षतिपूर्ति र अधिकार सुनिश्चितताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त रूपमा मुद्दा उठाउन आवश्यक छ ।

कटक मल्ल स्टकहोम सेन्टर फर इन्टरनेसनल ल एन्ड जस्टिस, स्टकहोम युनिभर्सिटीका सिनियर फेलो हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
3d ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#रहे #परिवर्तन #जलवायु
Compare →
Hamro Patro News
11h ago
कोप–३१ को पहिलो साता : हिमाल र जलवायु परिवर्तनको मुद्दाबारे के भयो निर्णय ?

कोप–३१ को पहिलो साता : हिमाल र जलवायु परिवर्तनको मुद्दाबारे के भयो निर्णय ?

अन्ताल्या (टर्किए) / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाएको छ ।

#परिवर्तन #जलवायु
Compare →

Related Stories

Sports
Build #2612