Trending
Prev Story
Next Story

लोकतन्त्रको सौन्दर्य

Nagarik News •
November 16, 2026 • 03:14 AM
3
3 reads 0 reactions

भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा विचाराधिन रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड पार्टी र उनको अतिदक्षिणपन्थी गठबन्धनले अक्टोबर २५ मा भएको निर्वाचनमा बहुमत ल्याउन सकेन।

लोकतन्त्रको सौन्दर्य

फ्रेन्च दार्शनिक अल्वर्ट क्यामुको एउटा सार्वभौम सत्य उक्ति छ - ‘म्यान इज द वन्ली एनिमल हु रिफुजेज टु वी ह्वाट ही इज।’ युगोस्लाभ राजनीतिज्ञ मिलोभान जिलासले साम्यवादका कमजोरीलाई इंगित गर्दै मानिसले आफ्नो स्थितिमा परिवर्तन चाहने हुनाले मानिसका लागि प्रयोग गरिने दर्शन तथा राजनीतिक व्यवस्थामा पनि परिवर्तनका सम्भावना रहनुपर्ने कुरा आफ्नो किताब ‘द न्यु क्लास’मा उल्लेख गरेका छन्।

मार्क्सवादी दर्शनको लेनिन -स्टालिनवादी प्रयोगको असफलताको एउटा महत्त्वपूर्ण कारकतत्त्व उक्त शासन व्यवस्था लचिलो नभई कठोर हुनु हो। लोकतन्त्रमा शासन व्यवस्थामा सुधार भइरहन्छ।

समयानुकूल नीति सञ्चालन नहुनु जनताको जनादेशलाई शासकले विनम्रतापूर्वक ग्रहण नगरी अधिकारको रूपमा प्रयोग गर्नु, जनहितको बदला व्यक्तिगत हितलाई प्राथमिकतामा राख्नु आदि कारणले शासक तथा शासनारुढ पार्टीलाई आवधिक निर्वाचनमा जनताले दण्डित गर्छन्। लोकतन्त्रमा यो क्रम निरन्तर चलिरहन्छ।

अक्टोबरको अन्त्य र नोभेम्बरको सुरुमा चार महादेशका चार प्रजातान्त्रिक शासन प्रणाली भएका देशमा निर्वाचन सम्पन्न भयो। दक्षिण अमेरिकाको ब्राजिल, युरोपको सर्बिया, एसियाको इजरायल र उत्तरी अमेरिकी महादेशको संयुक्त राज्य अमेरिकामा भएको निर्वाचन परिणामको रुझान समान रह्यो। यी देशका नागरिकले दक्षिणपन्थी अनुदारवाद तथा विभाजनकारी राजनीतिको विपक्षमा आफ्नो मत व्यक्त गरे।

संयुक्त राज्य अमेरिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि आफू र आफ्नो परिवार तथा धनी अर्बपतिको पक्षमा आर्थिक लाभ पु¥याउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले सिनेट र हाउस दुवै सदनमा आफ्नो बहुमत गुमायो।

अहिलेसम्मको मत परिणामअनुसार सिनेटमा ५५ सिट र हाउसमा २५५ सिटसहित विजय प्राप्त गरी डेमोक्रेटिक पार्टीले सानदार प्रदर्शन गर्‍यो। यद्यपि यो निर्वाचन परिणाम डेमोक्रेटिक पार्टीप्रतिको आकर्षणको कारणले नभएर राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रष्टाचारी, युद्धपरस्त तथा दक्षिणपन्थी अनुदारवादी नीतिको विरुद्धमा जनताले व्यक्त गरेको अभिमत हो।

ब्राजिलमा दक्षिणपन्थी फ्लेबियो बोल्सोनारो वामपन्थी नेता लुइज इनासियो लुला डी सिल्भा जसलाई बोलीचालीमा प्रायः लुला भनिन्छ बाट पराजित भए। डोनाल्ड ट्रम्पबाट समर्थित बोल्सोनारो उनको दक्षिणपन्थी अनुदारवादी नीतिको साथै जलवायु अनुकूलन विरोधी नीतिको कारण त्यहाँका मतदाताबाट पराजित हुन पुगे। यसका साथै ६० लाख किलोमिटर क्षेत्रमा फैलिएको र विश्वको वातावरणमा नै प्रभाव पार्ने अमाजोन वनलाई विनाश हुन नदिने लुलाको प्रतिबद्धताले पनि यो निर्वाचनमा प्रभाव पा¥यो। समग्रमा मानवतावादी वामपन्थी उदारवादी प्रजातन्त्रको पक्षमा ब्राजिलियनहरूले आफ्नो मत व्यक्त गरे।

सर्वियामा सर्वियन प्रोग्रेसिभ पार्टी सन् २०१२ देखि सत्तामा थियो। यो पार्टी भ्रष्टाचारको विरोध र प्रियतावादी उद्घोषका कारण सत्तामा आएको थियो। यो पार्टी सरकारमा आएपछि भ्रष्टाचार झन् बढ्यो। विपक्षी राजनीतिक व्यक्तिहरूलाई दमन गर्ने सार्वजनिक सञ्चार माध्यममा नियन्त्रण गर्नेलगायतका कार्य गरी सर्वियामा लोकतन्त्रको क्षयीकरण भयो।

सन् २०२४ नोभेम्बर १ मा नोमिसाद रेल्वे स्टेसनको छत गिरेर १६ जना मानिसको मृत्यु भएपछि सुरु भएको करिब डेड वर्ष लामो विरोध प्रदर्शनपछि भएको चुनावमा यो पार्टीको पराजय भयो। २५० सदस्य रहेको संसद्मा स्टुडेन्ट लिस्टका उम्मेदवारहरूले १४० सिटमा विजय प्राप्त गरी स्पष्ट बहुमतका साथ सत्तामा आएका छन्। कुनै पनि पार्टी विशेषमा आबद्धता नभएका स्वतन्त्र र बौद्धिक व्यक्तिहरूले अहिले सरकार चलाई रहेका छन्।

भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा विचाराधिन रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड पार्टी र उनको अतिदक्षिणपन्थी गठबन्धनले अक्टोबर २५ मा भएको निर्वाचनमा बहुमत ल्याउन सकेन।

कुनै पनि गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले अर्ब मतदाता आधारित पार्टीहरूको समर्थन प्राप्त यासार पार्टीका नेता तथा विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई राष्ट्रपति आइजाक हर्जोगले सरकार गठन गर्ने पहिलो अवसर दिएका छन्।

सत्तामा टिकिरहन युद्ध लम्बाएको, गाजामा नरसंहार गरेको, सन् २०२५ को अक्टोबर ७ मा हमासको आक्रमण रोक्न असफल भएकोलगायतका आलोचना खेपिरहेका र देशमा विभाजनकारी नीति लिएका नेतान्याहुको विकल्प दिन र अदालतको स्वतन्त्रता जोगाउनसमेत विपक्षी गठबन्धनका नेता प्रतिबद्ध रहेकाले आगामी सरकारले इजरायलको लोकतान्त्रिक प्रणालीप्रति सम्मान गर्ने आशा गर्न सकिन्छ।

माथि उल्लिखित चार देशमा भएको निर्वाचनबाट आएका परिणामहरूले उदारवादी प्रजातन्त्रमा विश्वास गर्नेहरूलाई उत्साहित गराएको हुनुपर्छ। साथै देशहरूको सार्वभौमिकताको सम्मान गर्ने युद्ध विरोधी शान्तिप्रिय जगत्का लागि पनि यी परिणाम सुखद हुन्। सुखानुभूति गर्दैगर्दा यो पनि विचार गर्नुपर्छ कि यी युद्ध परस्त दक्षिणपन्थी अनुदारवादीहरू पनि जनमत जितेर नै आएका हुन्। अहिले पनि यिनीहरूको पक्षमा उल्लेख्य जनमत छ।

लोकतन्त्रमा जनमत निर्माण गर्ने काम पार्टीहरूको हो। सरकार निर्माण गरेपछि सत्तारुढ पार्टीले सरकारको कार्य सम्पादन क्षमताको आधारमा जनमत निर्माण गर्छ। सरकारले जनचाहना तथा राष्ट्रको आवश्यकताअनुसार काम गर्न सक्यो भने मात्र जनताले साथ दिन्छन्। अन्यथा अहिले प्राप्त अवसर अर्को आवधिक निर्वाचनमा गुम्न सक्छ।

लोकतन्त्रमा सत्ता सर्पसिँढीको खेलजस्तो हो। कहिले माथि कहिले तल भइरहन्छ। जनताको मन जित्न सकिएन भने जनताले टुप्पोबाट पिँधमा झारिदिन्छन्। तापनि अहिलेका यी निर्वाचनबाट केही विश्वव्यापी राजनीतिक प्रवृत्ति देखिएका छन्।

अहिलेको विश्वमा राजनीतिक ध्रुवीकरण बढिरहेको छ। अमेरिकाको रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीबिचको ध्रुवीकरण होस् वा ब्राजिलको लुला र बोल्सोनारोबिचको ध्रुवीकरण होस्, यी ध्रुवीकरण तिक्तताको स्तरमा पुगेका छन्। यो लोकतन्त्रका लागि चिन्ताको विषय हो।

उग्रदक्षिणपन्थी तथा उग्रवामपन्थीहरूको चाहना यही हुन्छ कि यो ध्रुवीकरण कायम रहोस्, ताकि रूढिवादी मतदाताहरूको उनीहरूप्रतिको लगाव यथावत् रहोस्। तर उदारवादी लोकतन्त्रवादीहरूका लागि यो ध्रुवीकरण कायम रहनु लोकतन्त्रको हितमा हुँदैन। तसर्थ, उनीहरूले यो ध्रुवीकरणलाई अन्त्य गरी जनजीविका र राष्ट्रका खास सरोकारका विषयहरूतर्फ बहस गर्ने वातावरण बनाउन मेहनत गर्नुपर्छ।

निर्वाचन जित्नु र सरकार सञ्चालन गर्नु फरक क्षमताका कुरा हुन्। ब्राजिलमा लुलाले राष्ट्रपतिमा जिते पनि संसद्मा उनी अल्पमतमा छन्। त्यसैले आफ्ना नीति तथा कार्यक्रम संसद्बाट अनुमोदन गराउन बाधा उत्पन्न हुन सक्छ। इजरायलमा पनि कुनै पनि गठबन्धनको स्पष्ट बहुमत छैन। सरकार निर्माण गर्न थप कौशल प्रदर्शन गर्नुपर्छ। नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले गृहयुद्ध हुन सक्ने चेतावनी दिइरहेको छ। तसर्थ, निर्वाचनमा जनताको मत जित्नुभन्दा सरकार निर्माण गर्नु र सञ्चालन गर्नु झनै महŒवपूर्ण छ।

सर्बियाको विद्यार्थी आन्दोलन र अमेरिकी निर्वाचन परिणामले नागरिकहरूले निर्वाचनमार्फत सरकारलाई जवाफदेही बनाउन सक्ने देखाइदिएका छन्। सर्बियाको प्रोग्रेसिभ पार्टीले जनमतको दुरुपयोग गर्दै नागरिक अधिकारमा अंकुश लगाउने र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने गरी अघि बढेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनावश्यक युद्ध गर्नाले इन्धनको मूल्य वृद्धि भई अमेरिकामा जीवनयापनको लागत बढाएको थियो। मूल्यवृद्धिका कारण नागरिकहरू ट्रम्प प्रशासनसँग रुष्ट बनेका थिए। साथै, क्यानडालगायत देशका सामानमा लगाएको अत्यधिक करका कारण पनि महँगी बढेको थियो। यो कुरालाई नागरिकहरूले मन पराएनन् र निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई पराजित गरे। यसबाट घरेलु नीतिमा राष्ट्रपति ट्रम्पलाई डेमोक्रेटिक पार्टीको बहुमत रहेको सिनेट र हाउससँग मिलेर जानुपर्ने अवस्था सिर्जना भएको छ।

प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनको व्यवस्था गरिएको हुन्छ। सरकारको काममा संसद्ले अंकुश लगाउन सक्छ। यसबाट निरंकुश प्रवृत्तिको सरकारलाई संसद्ले नियन्त्रण गर्छ। अमेरिकामा राष्ट्रपति ट्रम्पको निरंकुश प्रवृत्तिका अगाडि रिपब्लिकन पार्टी निरीह बनेको थियो।

यो कुरा मतदाताले मन पराएनन्। त्यसैले सिनेट र हाउसमा डेमोक्रेटिक पार्टीको बहुमत दिलाए। निर्वाचनपछि ट्रम्पको हैकमवादी स्वर पनि बदलिएको छ। कहिल्यै आफ्नो कमजोरी स्वीकार नगर्ने ट्रम्पले आप्रवासन नीति र इरानसँगको युद्धमा आफूबाट कमजोरी भएको स्वीकार गरेका छन्।

यो निर्वाचनबाट नेपालले शिक्षा लिन सक्ने केही विषय पनि छन्। नागरिक आन्दोलनले सरकारको विरोध गर्ने मात्र होइन कि वैकल्पिक कार्यक्रम र सक्षम नेतृत्व पनि दिन सक्नुपर्छ। वैकल्पिक कार्यक्रम र सक्षम नेतृत्वको अभावमा आन्दोलनको उपलब्धि संरक्षित हुन सक्दैन। आन्दोलनबाट जनतामा जागेको आशा निराशामा परिणत हुन धेरै समय लाग्दैन। यो राष्ट्रका लागि झनै ठुलो नोक्सान हो।

संसद् सरकारको छाया होइन, सरकारलाई जवाफदेही बनाउने संवैधानिक संस्था बन्नुपर्छ। तब मात्र संसद्ले आफ्नो उपयोगिता सिद्ध गर्न सक्छ। अन्यथा, लाचार र सरकारको छायाका रूपमा रहने संस्थालाई जनताले निर्वाचनपूर्व पनि दण्डित गर्न सक्छन् भन्ने सर्बियाको घटनाले देखाएको छ। निर्वाचनमा प्राप्त जनादेशलाई आफ्नो र आफ्नो दलको निरपेक्ष अधिकारका रूपमा बुझ्नुहुँदैन। विपक्षी र अल्पमतको आवाजको पनि कदर गर्नुपर्छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०८:५९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
18h ago
तर्साएर शासन गर्न खोजे हुन्छैन, काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न सकिँदैन : महामन्त्री पौडेल

तर्साएर शासन गर्न खोजे हुन्छैन, काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न सकिँदैन : महामन्त्री पौडेल

नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ। उनले नेपाली काङ्ग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएको छ।...

#लोकतन्त्र
Compare →
Onlinekhabar
19h ago
काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न कसैले सक्दैन : महामन्त्री पौडेल

काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न कसैले सक्दैन : महामन्त्री पौडेल

२९ कात्तिक, स्याङ्जा । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनले नेपाली काङ्ग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए। नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर …

#लोकतन्त्र
Compare →

Related Stories

Politics & Governance
Build #2612