पहिलो सिजनको च्याम्पियन जनकपुरको गो ग्रीन पार्टनरका रूपमा एसटीसी इनर्जी रहने छ ।
काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनका लागि एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालि(श्री एसटीसी) सँग व्यापारिक सम्झौता गरेको छ । जसअनुरूप पहिलो सिजनको च्याम्पियन जनकपुरको गो ग्रीन पार्टनरका रूपमा एसटीसी इनर्जी रहने छ ।
बिहीबार आयोजित कार्यक्रममा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरज खतिवडा र एसटीसी इनर्जीका निर्देशक लक्ष्मीप्रसाद उप्रेतीले सम्झौतामा हस्ताक्षर गरे । जनकपुरले एसटीसी इनर्जीको ब्रान्डिङ, म्याच डे, हस्पिटालिटी र डिजिटल अभियानहरूमा प्रमुखताका साथ राख्ने प्रमुख कार्यकारी अधिकृत खतिवडाले बताए ।
एनपीएल सुरु हुन ठीक अगाडि गरेको यस खाले सम्झौताले ठूलो उत्साह प्रदान गरेको खतिवडाले जनाए । उनले भने, ‘एसटीसी इनर्जीलाई हाम्रो आधिकारिक गो ग्रीन इनर्जी पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । एसटीसीको राइड र इनर्जी ब्याट्रीले हाम्रा युवा र गतिशील फ्यानहरूको दैनिक जीवनसँग सीधा जोडिन्छ र यो साझेदारी भरपर्दो ऊर्जा र दिगो भविष्यप्रति साझा प्रतिबद्धतामा आधारित छ ।’
एसटीसी इनर्जी र श्री एसटीसीका नामबाट परिचित एसटीसी नेपालमा अटोमोटिभ पार्ट्स र ब्याट्री उत्पादनको सप्लाई र डिस्ट्रिब्युसनमा संलग्न रहेको छ । राइड र इनर्जी दुईपाङ्ग्रे ब्याट्री ब्रान्डहरू हुन् । एसटीसी इनर्जीका निर्देशक उप्रेतीले जनकपुरले पहिलो सिजनमा एनपीएल जितेपछि नै प्रभावित भएर त्यतिबेलादेखि नै आबद्ध हुन चाहेको बताए ।