Trending
Prev Story
Next Story

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

Onlinekhabar •
November 16, 2026 • 01:01 AM
2
2 reads 0 reactions

३० कात्तिक, भोजपुर । पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना निर्माण गरिएपछि पर्यटकको …

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

३० कात्तिक, भोजपुर । पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना निर्माण गरिएपछि पर्यटकको आवागमन बढ्न थालेको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले कपासे भञ्ज्याङको विकासका लागि मझुवा–कपासे भञ्ज्याङ पदमार्ग तथा विश्रामस्थल निर्माण गरेको छ । पदमार्ग निर्माणसँगै पर्यटकलाई यस क्षेत्रमा पुग्न सहज भएको छ । दुई जिल्लाको सङ्गमस्थलका रूपमा रहेको कपासे भञ्ज्याङको पर्यटन विकासका लागि भोजपुर र खोटाङका स्थानीय तहबीच सहकार्य भइरहेको छ ।

कपासे भञ्ज्याङलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइएको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा यस क्षेत्रको विकासका लागि काम भइरहेको उनले जानकारी दिए ।

‘कपासे भञ्ज्याङ पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने, ‘यस क्षेत्रको विकासमा हामी जुटेका छौँ । वडाको बजेटबाट प्रवेशद्वार र पदमार्ग निर्माण गरेका छौँ । कपासे क्षेत्रलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।’

कपासे भञ्ज्याङलाई ग्रेटर मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासका काम भइरहेको वडा कार्यालयले जनाएको छ । यस क्षेत्रको प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्थिति तथा सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न सके पूर्वी पहाडी क्षेत्रकै आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण कपासे भञ्ज्याङमा आन्तरिक पर्यटकको आवागमन बढेसँगै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको स्थानीय बबिन्द्र राईले बताए । पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गरिएपछि यस क्षेत्रको पर्यटन विकासमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

‘पर्यटक लक्षित संरचना निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुगेको छ,’ उनले भने, ‘दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि आवश्यक काम गरिरहेका छन् । घुम्न आउने मानिसको सङ्ख्या बढेको छ । यसले स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ । यस क्षेत्रको विकासले हामीमा उत्साह थपिएको छ ।’

कपासे भञ्ज्याङको प्रचारप्रसार र स्थानीय उत्पादनको बजारीकरणलाई थप प्रभावकारी बनाउन सके यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधिमा वृद्धि हुने उनको भनाइ छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2h ago
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

भोजपुर । पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्न...

#कपासे #भञ्ज्याङ #भोजपुर
Compare →

Related Stories

Building & Construction
Build #2612