दोगडाकेदार गाउँपालिका–३ का लोकेश ऐरीको घरमा खानतलासी गर्दा बन्दुक भेटिएपछि पक्राउ गरेको हो।
बैतडी — बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ चमडियाका २७ वर्षीय लोकेश ऐरी पक्राउ परेका हुन् ।
ऐरीले आफ्नै घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा शनिबार अस्थायी प्रहरी पोस्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ऐरीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार राति सशस्त्र प्रहरीले दशरथचन्द नगरपालिका–९ स्थित ग्वाल्लेक सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको थियो ।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।