बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
वीरगन्ज — सशस्त्र प्रहरी बलले पर्सा र बाराका विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्सा र मातहतका कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेका सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार विभिन्न स्थानबाट १ लाख ४३ हजार ४ सय ५१ रुपैयाँ बराबरको भिटामिन तथा औषधि र विन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले १ लाख १ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
त्यस्तै, पर्सा र बाराको सीमा नजिकै छाप्रोमा भन्सार छली ल्याएर लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा दुवै जिल्लाका सशस्त्र प्रहरी गणबाट खटिएको संयुक्त टोलीले ९ लाख ७० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
यसैगरी, मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट ४ लाख ५ हजार ५ सय ९० रुपैयाँ बराबरका मोटरसाइकलका पार्टपुर्जा, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवललगायतका सामान बरामद गरेको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए।
यसैबीच, बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १२ हजार रुपैयाँ मूल्य बराबरको ६० लिटर घरेलु मदिरा बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नष्ट गरेको सशस्त्र प्रहरीले जनाएको छ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।