Trending
Prev Story
Next Story

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

Nagarik News •
November 14, 2026 • 05:07 AM
3
3 reads 0 reactions

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ। कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ।

अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन्। पर्यटकको चापले होटलमा कोठा पाउन कठिन भएपछि समितिले अग्रिम ‘बुकिङ’ गरेर मात्र भ्रमणमा आउन आग्रह गरेको छ।

घान्द्रुक पुग्नेमा अधिकांश आन्तरिक पर्यटक छन् भने भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमन पनि भइरहेको छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी पदमार्गमा पर्ने भएकाले पदयात्रीका लागि विश्रामस्थलसमेत हो।

अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, गाउँले परिवेश र स्थानीय आतिथ्य घान्द्रुकका मुख्य आकर्षण हुन्। सडक पहुँच विस्तार भएपछि पछिल्लो समय आन्तरिक पर्यटकको आगमन थप बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। पर्यटन व्यवस्थापन समितिका अनुसार गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन्।

मादी गाउँपालिका–१ स्थित सिक्लेस गाउँमा पनि पर्यटकको चाप उस्तै छ। पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए। एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले बताएका छन्।

नमस्ते गेस्ट हाउसका सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ। नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन कठिन भएपछि पर्यटकलाई होटलको अवस्था बुझेर अग्रिम बुकिङ गर्न आग्रह गरिएको उनले बताइन्।

हिमालको काखमा अवस्थित सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति र परम्पराका लागि परिचित छ। एकै बान्कीका ढुङ्गा र जस्ताका छाना भएका घर, ढुङ्गे आँगन र बाटा, पुराना शैलीका झ्यालढोका तथा साँघुरा गल्लीले गाउँको मौलिक पहिचान झल्काउँछन्। मादी खोला, हरियाली वनपाखा र हिमाली दृश्यले जोकोही मन्त्रमुग्ध हुन्छन्।

गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, मौलिक भेषभूषा, नाचगान र स्थानीय परिकार यहाँका थप आकर्षण हुन्। सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या पनि बढेको स्थानीय व्यवसायी बताउँछन्। दुई दशकअघि सामुदायिक घरबासबाट सुरु भएको यहाँको पर्यटन व्यवसाय अहिले होटल र घरबाससम्म विस्तार भएको छ।

पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ को ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ। तिहारको भोलिपल्टदेखि होटल र घरबासमा पाहुना भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताइन्।

विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ। यहाँका घरबासमा एकै रातमा ४०० सम्म पाहुनालाई आवासको व्यवस्था गर्ने क्षमता छ। प्रकृति र गुरुङ संस्कृतिको अनुभव लिन चाहने पर्यटकका लागि ल्वाङ लोकप्रिय गन्तव्य बन्दै गएको छ।

समुद्र सतहबाट एक हजार ४०० मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य आकर्षक मानिन्छ। गाउँको सिरानमा एक हजार २०० रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी यहाँको अर्को प्रमुख आकर्षण हो। चियाबारी, गुरुङ संस्कार, रैथाने खाना र स्थानीय जीवनशैलीको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक गाउँ पुग्ने गरेका छन्।

ल्वाङमा पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती र निगालोबाट डोको तथा सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन्। अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले पनि यहाँ विश्राम गर्ने गरेका छन्। नजिकैको पोखरा क्यानोनिङ र घलेल गाउँले यस क्षेत्रको पर्यटकीय आकर्षण थपेका छन्।

पोखराबाट घान्द्रुक, सिक्लेस र ल्वाङसम्म सडकबाट पुग्न सकिने भएकाले यी गाउँको भ्रमण सहज बनेको छ। प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा र घरबासको अनुभवले यी गन्तव्य पर्यटकको रोजाइमा पर्दै आएका छन्। तिहार र छठको बिदासँगै बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाएको छ भने पर्यटकको चाप व्यवस्थापन र पर्याप्त आवासको उपलब्धता चुनौतीका रूपमा देखिएको छ। रासस

प्रकाशित: २८ कार्तिक २०८३ १०:५२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

२८ कात्तिक, कास्की । तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको …

#पर्यटक #घान्द्रुक #गाउँ
Compare →
Ekantipur
1d ago
पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

#पर्यटक #पाउनै #मुस्किल
Compare →
Hamro Patro News
12h ago
‘पुराना घर सजाउँदै, पर्यटक लोभ्याउँदै’

‘पुराना घर सजाउँदै, पर्यटक लोभ्याउँदै’

बागमती – त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजार क्षेत्रबाट करिब चार किलोमिटरको दूरीमा पर्छ सुुन्दर सुपिङ गाउँ। मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको यो गाउँ पनि देशका अन्य गाउँ जस्तै बढ्दो बसाइँसरा...

#गाउँ #पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

World News
Build #2612