गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।
पर्वत पोर्तेल , कमल पन्थी , शिव पुरी , शंकर आचार्य
विराटनगर, बर्दिया, रौतहट र पर्सा — भारतका गाउँबाट बिहानै कोही विद्युतीय रिक्सा चढेर त कोही पैदलै नेपाल आइपुग्छन् । नेपाली विद्यार्थीसँगै उभिएर ‘सयौं थुँगा फूलका हामी...’ गाउँछन् र कक्षाकोठामा पसेर पढ्न थाल्छन् । झापा, बर्दिया, रौतहटलगायत सीमावर्ती जिल्लाका विद्यालयमा यस्तो दृश्य सामान्यजस्तै बनेको छ । आफ्नै गाउँमा राम्रो पढाइको अवसर नपाएपछि उनीहरूको रोजाइ नेपाली विद्यालय बनेका छन् ।
नेपाल र भारतका सीमावर्ती बासिन्दाबीच परम्परादेखि रहँदै आएको ‘रोटीबेटी’को सम्बन्ध शिक्षाले पनि जोडिरहेको छ । प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि भारत जाने नेपाली विद्यार्थीको संख्या उल्लेख्य भए पनि कोशी, मधेस र लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाका केही विद्यालयमा आधारभूत तहको पढाइका लागि सीमापारिबाट नियमित आउने विद्यार्थीको संख्या पनि उत्तिकै उल्लेख्य छ ।
झापाको कचनकवल गाउँपालिका–५ सँग जोडिएको भारतको बिहारस्थित किशनगन्ज जिल्लाको दल्ले गाउँबाट दुई किलोमिटर यात्रा गरेर विद्यार्थी नेपाली विद्यालयमा पढ्न आउँछन् । सीमावर्ती दुवैतर्फका बस्तीका बासिन्दाबीच आत्मीय सम्बन्ध छ । त्यसैले भारतीय गाउँ दल्लेका बालबालिका दैनिक दुई किलोमिटर दूरी पार गरेर नेपालका विद्यालयमा पढ्न आइरहेका छन् । उनीहरूका लागि नेपाल छिमेकी मुलुक मात्र नभई राम्रो शिक्षा–दीक्षा पाइने थलो बनेको छ ।
हरेक बिहान विद्यालय आइपुग्ने उनीहरू नेपाली विद्यार्थीसँगै निर्धक्क राष्ट्रिय गान गाउँछन् । कसैले जिज्ञासा नराखेसम्म उनीहरू भारतीय नागरिक हुन् भन्ने पत्तो पाउन मुस्किल हुन्छ । दल्ले गाउँका आधा दर्जन बालबालिका दैनिक दुई किलोमिटर दूरी पार गरेर देवी आधारभूत विद्यालय आइपुग्छन् । भारतीय बालबालिका नेपालका विद्यालयमा पढिरहेको र राष्ट्रिय गान गाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
देवी आधारभूत विद्यालयका प्रधानाध्यापक जयसिंह राजवंशीका अनुसार उनीहरू नियमित रूपमा विद्युतीय रिक्सा चढेर विद्यालय आउँछन् । ‘उनीहरू सधैं विद्युतीय रिक्सा चढेर स्कुल आउँछन्,’ राजवंशीले भने, ‘उनीहरूको गाउँबाट विद्यालय टाढा छ, पढाइ पनि खासै हुँदैन भन्ने उनीहरूको गुनासो छ ।’ बिहारबाट नेपाल आएर पढ्नु उनीहरूका लागि रहरभन्दा बाध्यता भएको प्रधानाध्यापक राजवंशीको भनाइ छ ।
कचनकव–५ कै खुङ्गरु भिट्टास्थित बुद्ध आधारभूत विद्यालयमा पनि भारतबाट करिब एक दर्जन विद्यार्थी पढ्न आउँछन् । उनीहरूको विद्यालय यात्रा अझ रोचक छ । भारत र नेपाललाई जोड्ने झिङ खोला तरेर उनीहरू विद्यालय आइपुग्ने गरेको प्रधानाध्यापक कुष्पतलाल राजवंशीले बताए । ‘जोखिम मोलेर आउने उनीहरु पढाईमा लगनशील छन् । भाषाको कुनै कठिनाई छैन,’ उनले भने, ‘मिहेनत गरेर पढिरहेका छन् ।’ नेपाल र भारतबीचको खुला सीमा दुई मुलुकमा आवतजावत र व्यापारका लागि मात्र होइन, शिक्षा र सामाजिक सम्बन्धका हिसाबले पनि अन्तरसम्बन्धको माध्यम बनेको छ । सीमावर्ती भारतीय गाउँका बालबालिका नेपाली विद्यालयमा पढ्न आउनुले दुई मुलुकबीचको जनस्तरको सम्बन्ध देखाउने कोशी प्रदेशसभा सदस्य निमसरी राजवंशी बताउँछिन् ।
‘दुई देशबीचको राजनीतिक सम्बन्ध वा राष्ट्रियताको बहसले उनीहरूको विद्यालय जाने यात्रालाई रोकेको छैन,’ प्रदेशसभा सदस्य राजवंशीले भनिन्, ‘उनीहरूको प्राथमिकतामा एउटै कुरा छ, त्यो राम्रो शिक्षा हो ।’ सीमावर्ती क्षेत्रमा बसोबास गर्ने आफन्त, नातेदार र सामाजिक सम्बन्ध दुवैतर्फ फैलिएको र यही सम्बन्धको एउटा हिस्सा अहिले विद्यालय र शिक्षामा पनि कायम रहेको उनको भनाइ छ ।
भारतको बहराइच जिल्लास्थित बलैगाउँका अभिषेक कुस्वा गाउँमा गुणस्तरीय शिक्षा उपलब्ध नभएकाले बर्दियाको बढैयाताल गाउँपालिकास्थित बर्दिया एकेडेमी एन्ड पोलिटेक्निक रिसर्च सेन्टरमा भर्ना भएर पढिरहेका छन् । यहाँका अनुभवी शिक्षक र गुणस्तरीय पढाइका कारण आफ्नो गाउँबाट धेरै विद्यार्थी बढैयाताल आइरहेको कक्षा ८ मा अध्ययनरत कुस्वाले बताए । अंग्रेजी माध्यममा पढाइ नहुने र प्राविधिक शिक्षकको अभाव भएकाले आफू नेपाल आएर पढ्नुपरेको उनले बताए ।
भारतको बलैगाउँका उमर खान पनि गत शैक्षिक सत्रदेखि यहीँ आएर अध्ययन गरिरहेका छन् । बलैगाउँका दर्जनौं विद्यार्थी उक्त रिसर्च सेन्टरमा पढिरहेका छन् । उनीहरू घरबाटै खाना बोकेर विद्यालय आउँछन् । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्न भारतीय विद्यार्थी आउने गरेका छन् । करिब पाँच किलोमिटर दूरीमा रहेको बलैगाउँबाट उनीहरू साइकल वा पैदल विद्यालय आउँछन् । केहीलाई अभिभावकले पुर्याउने गरेका छन् । अहिले उक्त एकेडेमीमा बलैगाउँका मात्र १० जना विद्यार्थी अध्ययनरत छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–८, तिलकानास्थित बर्दिया एकेडेमी एन्ड पोलिटेक्निक रिसोर्स सेन्टर । यहाँ भारतबाट विद्यार्थी पढ्न आउँछन् । तस्बिर : कान्तिपुर
विद्यालयका अनुसार उनीहरूले नेपालको राष्ट्रिय गान कण्ठ गरिसकेका छन् । भारतमा अंग्रेजी माध्यममा प्राविधिक शिक्षा दिने विद्यालय नभएकाले बढैयाताल आउनुपरेको अभिभावक सुरेश कुश्वाले बताए । सीमावर्ती बहराइच जिल्लामा नेपालको जस्तो सुविधासम्पन्न विद्यालय नरहेको उनको दाबी छ ।
बढैयाताल–८, कण्ठपुरस्थित शुभकामना एकेडेमीमा पनि सीमावर्ती भारतीय गाउँ लौकाहीबाट विद्यार्थी आउने गरेका छन् । विद्यालयकै बसले उनीहरूलाई ल्याउने र पुर्याउने गर्छ । माध्यमिक तहको पढाइ सस्तो र राम्रो भएकाले भारतीय विद्यार्थी यहाँ आउने गरेको प्रिन्सिपल सञ्जय श्रेष्ठले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि भारतको लखनउ पठाउने गरेका छन्,’ उनले भने, ‘यहाँका विद्यालयबाट एसईईमा उत्तीर्ण गरेर लखनउ अध्ययनका लागि जाने गरेका छन् ।’ नाकामा सवारीसाधन सञ्चालनमा सहज भए यहाँ पढ्न आउने विद्यार्थीको संख्या अझै बढ्ने उनले बताए ।
यहाँ आएर निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावक व्यापारी छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी न्यून आय भएका परिवारका रहेको बढैयाताल–८ का वडाध्यक्ष तेजनाथ पौडेलले बताए । यहाँको जमुनी, सीतापुर, फुटाहालगायत सामुदायिक विद्यालयमा पनि भारतबाट आएर विद्यार्थी पढ्ने गरेको उनले बताए । ‘पारि (भारत) घना जंगल, सानो बस्ती छ । त्यहाँको सरकारी विद्यालयमा नियमित पढाइ पनि हुने गरेको देखिँदैन,’ उनले भने, ‘८/१० वर्षदेखि उताका विद्यार्थी यहाँ आएर पढिरहेका छन् ।’
बर्दिया एकेडेमी एन्ड पोलिटेक्निक रिसोर्स सेन्टरका प्रबन्ध निर्देशक बुद्ध गिरीका अनुसार पहिले विद्यालयकै बसले भारत पुगेर विद्यार्थी ल्याउने–पुर्याउने गर्थ्यो । गुलरिया र राजापुर नाकाबाहेक अन्य स्थानबाट गाडी चल्न नदिएपछि बस सञ्चालन रोकिएको हो । सीमा क्षेत्रमा लागुऔषध ओसारपसारका घटना बढेपछि दुई वर्षअघि कडाइ गरिएको र त्यसयता विद्यालयले बस पारि लैजान छाडेको उनले बताए ।
रौतहटको ईशनाथ नगरपालिकास्थित नेपाल–भारत सीमासँग जोडिएको भारतीय बलुवा गाउँमा बालबालिकाका लागि विद्यालय छैन । आफ्ना नानीबाबुलाई अक्षर चिनाउन र प्रारम्भिक शिक्षा दिन अभिभावकले नेपालतर्फको बन्जाराहा बजारस्थित ज्ञानगंगा निजी विद्यालयलाई सहारा बनाएका छन् । पाँच कक्षासम्म पढाइ हुने यो विद्यालय एक दशकदेखि सञ्चालनमा छ । त्यस क्षेत्रको शैक्षिक गतिविधिको केन्द्रसमेत बनेको छ ।
विद्यालयका शिक्षक वीरेन्द्र पटेलका अनुसार सीमापारिबाट आउने बालबालिकाको संख्या आधा दर्जनभन्दा बढी छ । उनीहरू तीन वर्षदेखि नियमित रूपमा विद्यालय आइरहेका छन् । ‘साना नानीबाबु अक्षरारम्भ र लेखपढको प्रारम्भिक ज्ञान लिन आउने गर्छन्,’ उनले भने, ‘भारतीय गाउँनजिक विद्यालय नभएपछि उनीहरू बन्जाराहा आउने गरेका छन् । उनीहरू नर्सरी कक्षामा भर्ना भएका छन् ।’
उनका अनुसार आधारभूत सिकाइपछि उनीहरू अर्को ठाउँमा माथिल्लो कक्षामा भर्ना हुन जान्छन् । तर, यहाँबाट कुनै औपचारिक कागजात वा स्थानान्तरण प्रमाणपत्र लैजाँदैनन् । ‘भारतीय बालबालिकाका लागि यो विद्यालय आधारभूत शिक्षा र बौद्धिक विकासको पहिलो खुड्किलो बनेको छ,’ शिक्षक पटेलले थपे, ‘उनीहरू मज्जाले पढिरहेका हुन्छन् ।’ केही अभिभावकले नर्सरी कक्षामा लेख्न, पढ्न र बोल्न सिकेपछि बालबालिकालाई पारिका विद्यालयमा भर्ना गर्ने गरेका छन् । तर, केहीले भने कक्षा २ सम्म यहीँ पढाउने गरेको शिक्षक पटेलले बताए ।
खुला सीमा, उस्तै हावापानी र समान जीवनशैली मात्र होइन, सुखदुःखमा समेत एकअर्कालाई साथ दिने गहिरो मानवीय सम्बन्ध सीमावर्ती बस्तीमा स्थापित भएको बन्जाराहा गाउँका अगुवा गृषनन्दन सिंहले बताए । ‘सीमावारिपारिको यही साइनोले पछिल्लो समय शिक्षाको क्षेत्रमा पनि एक सुन्दर आयाम थपेको छ । जसले नेपाल र भारतबीचको सांस्कृतिक र सामाजिक निकटतालाई अझ प्रगाढ बनाएको छ,’ उनले भने, ‘नेपाल–भारत सीमाक्षेत्रलाई भूगोलले दुई देश छुट्टाए पनि स्थानीयहरूको मन, सम्बन्ध र दैनिक जीवनका पाटा भने एउटै धागोमा बाँधिएका छन् ।’
बन्जाराहा बजारको उत्तर र दक्षिण दुवैतर्फ बाक्लो बस्ती छ । भारतीय नागरिकले आफ्ना बालबालिकालाई ढुक्कसाथ नेपालका विद्यालयमा पठाउनुले दुई देशका नागरिकबीचको विश्वासको गहिराइ प्रस्ट्याउने स्थानीय बताउँछन् । भाषा, संस्कृति र रहनसहन मिल्दोजुल्दो भएकाले भारतीय बालबालिकालाई यहाँको वातावरणमा घुलमिल हुन कठिनाइ हुँदैन । उनीहरू नेपाली बालबालिकासँगै खेल्छन्, सँगै सिक्छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–८, कण्ठपुरस्थित शुभकामना एकेडेमी । यहाँ पनि सीमापारिबाट विद्यार्थी अध्ययनका लागि आउँछन् । तस्बिर : कान्तिपुर
ज्ञानगंगा निजी विद्यालयले प्रदान गरिरहेको यो अनौपचारिक शैक्षिक सेवाले नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्धलाई मात्र बलियो बनाएको छैन, दुई देशका जनस्तरको सम्बन्धलाई शैक्षिक र बौद्धिक तहसम्म विस्तार गर्नसमेत मद्दत गरेको स्थानीय सुरेश साहले बताए । सीमावर्ती भारतीय सहरका विद्यार्थीको रोजाइमा पर्साको वीरगन्जका विद्यालय पनि पर्न थालेका छन् । भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) को पाठ्यक्रमअनुसार पढाइ हुने वीरगन्जका विद्यालयमा भर्ना भएर अध्ययन गर्ने भारतीय विद्यार्थीको संख्या उल्लेख्य छ । बिहारको रक्सौल र आसपासका क्षेत्रबाट वीरगन्जस्थित ज्ञानदा एकेडेमी, सिजी एजुकेसन (दिल्ली पब्लिक स्कुल) र डीएभी स्कुलमा भर्ना भएर पढ्ने विद्यार्थी धेरै छन् । यी विद्यालयमा भारतीय विद्यार्थीले आफ्नै मुलुकको सीबीएसई बोर्डको पाठ्यक्रमअनुसार पढ्न पाउँछन् । रक्सौलका आदित्य र ज्योति कुमारी वीरगन्जस्थित ज्ञानदा एकेडेमीमा कक्षा ११ मा अध्ययन गर्छन् । उनीहरू विज्ञान संकायका विद्यार्थी हुन् । रक्सौलस्थित विद्यालयमा नियमित कक्षा सञ्चालन नहुने, दक्ष शिक्षकको अभाव र आवश्यक शैक्षिक मार्गदर्शनसमेत नपाइने भएकाले आफूहरू नेपालका विद्यालयमा पढिरहेको उनीहरूले बताए । ज्ञानदा एकेडेमीका प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाका अनुसार वीरगन्जको शैक्षिक गुणस्तर र वातावरणप्रति भारतीय अभिभावकको आकर्षण बढ्दो छ । उत्तर भारतका सीमावर्ती सहरको तुलनामा वीरगन्जमा शैक्षिक वातावरण राम्रो रहेकाले भारतीय अभिभावकले छोराछोरीलाई यहाँ पढाउने गरेको उनी बताउँछन् । मोतिहारी, बेतिया हुँदै पटनासम्मका कतिपय विद्यालयमा समेत वीरगन्जको जस्तो शैक्षिक वातावरण नपाएको अभिभावकको बुझाइ रहेको उनले बताए । ज्ञानदामा मात्रै रक्सौल, सिक्टा र भेलाही क्षेत्रबाट दैनिक करिब एक सय भारतीय विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । यहाँ प्ले ग्रुपदेखि कक्षा १२ सम्म भारतीय विद्यार्थी अध्ययनरत छन् । वीरगन्जस्थित सिजी एजुकेसन (दिल्ली पब्लिक स्कुल) मा पनि रक्सौल क्षेत्रबाट दैनिक करिब ८० विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । कक्षा १२ मा वाणिज्य संकायमा अध्ययनरत रक्सौलका सौर्य गुप्ता तीमध्ये एक हुन् । वीरगन्जका विद्यालयमा रक्सौलको तुलनामा अनुशासन, व्यवस्थित पठनपाठन र शैक्षिक वातावरण राम्रो रहेको उनको अनुभव छ । सिजी एजुकेसनमै पीजीदेखि कक्षा १२ सम्म अध्ययन गरेकी रक्सौलकी शैल्भी सिकारियाको अनुभव पनि उस्तै छ । वीरगन्जका विद्यालयमा विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहभागिताका अवसर राम्रो रहेको उनी बताउँछिन् । शिक्षकशिक्षिकाको व्यवहार र विद्यालयको वातावरणसमेत राम्रो रहेको उनको अनुभव छ । विद्यालयले रक्सौलसम्मै सवारीसाधनको सुविधा उपलब्ध गराएकाले दैनिक आउजाउ गर्न सहज भएको उनी बताउँछिन् ।
सिजी एजुकेसनका प्रिन्सिपल राजीवकुमार आनन्द वीरगन्जको अंग्रेजी माध्यमको शिक्षा बिहारको तुलनामा गुणस्तरीय रहेको दाबी गर्छन् । यस विद्यालयमा जुनियर तहदेखि कक्षा १२ सम्म सीबीएसई बोर्डको पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको छ ।
वीरगन्जको डीएभी स्कुलमा पनि भारतीय विद्यार्थीको उपस्थिति उल्लेख्य छ । विद्यालयमा अध्ययनरत करिब ६ सय ५० विद्यार्थिमध्ये ६० प्रतिशत सीबीएसई बोर्डअन्तर्गतका छन् । तीमध्ये रक्सौलबाट मात्रै दैनिक करिब ४० विद्यार्थी पढ्न आउने गरेको प्रिन्सिपल राकेश मिश्र बताउँछन् ।
भारतबाट नेपाल आएर रोजगारी तथा व्यवसायमा संलग्न भारतीय नागरिकका छोराछोरी पनि यहाँ अध्ययनरत छन् । आफ्नै देशको बोर्डको पाठ्यक्रमअनुसार नेपालमै पढ्न पाउँदा उनीहरूलाई सहज भएको छ ।
रक्सौलबाट दैनिक विद्यालय आउनेमध्ये कक्षा ९ की रुही साह पनि एक हुन् । वीरगन्जका विद्यालयमा राम्रो शैक्षिक वातावरण र गुणस्तरीय पढाइ भएकाले रक्सौलका विद्यालयभन्दा यहाँप्रति आकर्षण बढेको उनी बताउँछिन् । कक्षा ८ का निखित सर्राफ पनि रक्सौलबाटै दैनिक वीरगन्ज आउँछन् । शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक शिक्षाले आफूलाई वीरगन्जको पढाइप्रति आकर्षित गरेको उनी बताउँछन् । डीएभी स्कुलका प्रिन्सिपल मिश्रका अनुसार रक्सौलबाट दैनिक ४० विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । बिहारको उत्तरी क्षेत्रमा शैक्षिक गुणस्तर अपेक्षाकृत राम्रो नभएको र वीरगन्जमा शिक्षण संस्कार तथा विद्यालयको वातावरण राम्रो रहेको उनको दाबी छ । वीरगन्जका विद्यालयमा दक्ष शिक्षक, व्यवस्थित पठनपाठन र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगसमेत सुरु भइसकेको उनी बताउँछन् ।
सीमापारिका विद्यार्थी गाउँका शैक्षिक संस्थामा समेत अध्ययन गर्न आउनु सकारात्मक र स्वागतयोग्य विषय भएको वीरगन्जका सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् । ‘यसले नेपाल र भारतबीचको परम्परागत रोटीबेटीको सम्बन्धलाई थप बलियो बनाउनुका साथै दुई मुलुकको सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न बल पुगेको छ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा उस्तै पनि एउटै रहनसहन र संस्कृति छ । बालबालिकाले एउटै कक्षामा बसेर पढ्दा झन् निकटता हुन्छ ।’ नेपालको शिक्षामा भारतबाट मात्र नभई अन्य देशका विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने सम्भावना भएकाले शैक्षिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्नुपर्ने उनले बताए ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।
कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।