Trending
Prev Story
Next Story

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

Nagarik News •
November 09, 2026 • 07:09 AM
1
1 reads 0 reactions

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।

परम्परागत बाजाको गुञ्जन, आकर्षक वेशभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासतलाई मात्र होइन, जिल्लाको सामाजिक सद्भाव र सांस्कृतिक विविधता समेत उजागर गर्दै आएको छ।

पुस्तौँदेखि संरक्षण हुँदै आएको भैरव नाच अर्घाखाँचीका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायको साझा सांस्कृतिक पहिचान हो। सन्धिखर्क नगरपालिका–१ को पटुवाथुम, वडा नं १२ को डिभर्ना तथा भूमिका स्थान नगरपालिका–८ को नुवाकोट र लात्तेबाँजमा बसोबास गर्ने नेवार समुदायले फरकफरक वर्षमा यो नाच निकाल्ने परम्परा कायम राखेका छन्।

यस वर्ष भूमिकास्थान–८ को नुवाकोट भैरव समाजले नाच प्रदर्शन गरेको छ। नेवा समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा समेत यसको प्रदर्शन गरेको छ। दुवै समाजले सन्धिखर्क लगायत विभिन्न स्थानमा भैरव नाच देखाएका छन्।

भैरव नाचको आफ्नै धार्मिक विधि र समय सीमा छ। अर्घाखाँचीमा श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने यो नाच कात्तिक औँसीसम्म प्रदर्शन गर्ने चलन छ। अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार देउसी–भैलोको मादल बज्नुअघि नै भैरव नाच विसर्जन गरिसक्नुपर्ने स्थानीय मान्यता छ। यसले नाचलाई सामान्य मनोरञ्जनभन्दा माथि उठाएर धार्मिक आस्था र परम्परागत अनुशासनसँग जोडेको छ।

भैरव नाचमा काल भैरव मुख्य पात्रका रूपमा प्रस्तुत हुन्छन् भने श्वेतभैरव र रक्तभैरव सहायक पात्रका रूपमा रहन्छन्। उनीहरूसँगै डंकिनी अर्थात् नर्तकीको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। पात्रअनुसार फरक रङ, शृङ्गार र पहिरन प्रयोग गरिन्छ। भैरवको स्वरूप धारण गर्ने कलाकारलाई परम्पराअनुसार ख्वापः अर्थात् खप्पर, विशेष कपडा, माला र चमरले सजाइन्छ। चमरका रूपमा चौँरी गाईको पुच्छर प्रयोग गर्ने चलनसमेत छ।

यी वेशभूषा र शृङ्गारले नाचलाई दृश्यात्मक रूपमा आकर्षक बनाउनुका साथै पात्रको धार्मिक महत्त्व पनि झल्काउँछन्। समय क्रममा शृङ्गारका सामग्रीमा केही परिवर्तन र नयाँ सामग्रीको प्रयोग भए पनि यसको मौलिक स्वरूप र धार्मिक मान्यता जोगाउनुपर्नेमा समुदाय सचेत छ।

भैरवको स्वरूपमा सजिएका कलाकारलाई भगवानको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको संयोजक श्रेष्ठ बताउँछन्। नाच सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार पूजा गरिन्छ र त्यसपछि निर्धारित ताल तथा परम्पराअनुसार प्रस्तुति अगाडि बढाइन्छ।

यस नाचको अर्को विशिष्ट पक्ष सात तालको लय हो। सामान्यतया सात तालसम्म नाचिने भैरव नाचमा प्रत्येक तालको गति र प्रस्तुति फरक हुन्छ।

अर्घाखाँची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठका अनुसार एउटा ताल करिब १० मिनेटसम्म चल्ने गर्छ। त्यसपछि छोटो विश्राम लिएर अर्को ताल सुरु गरिन्छ। सातवटै तालको आफ्नै विशेषता हुने भएकाले नर्तक र बाजा बजाउने कलाकारबीचको तालमेलले नाचलाई थप आकर्षक बनाउँछ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार भैरव नाचमा खीं बाजा अर्थात् मिर्दुङ मुख्य बाजाका रूपमा प्रयोग गरिन्छ। यसका अतिरिक्त झुर्मा अर्थात् झ्याली, सहनाई र धंकुरीलगायतका बाजा बजाइन्छन्। यी बाजाको विशिष्ट धुनसँगै नर्तकको चाल र ताल मिल्दा नाचको मौलिकता झल्किन्छ। मुख्य बाजा बजाउने व्यक्ति नेवार समुदायका हुने परम्परा रहे पनि सहायक वाद्यवादकका रूपमा अन्य समुदायका व्यक्तिसमेत सहभागी हुने गरेका छन्। यसले समुदायबीचको सांस्कृतिक सहकार्यलाई समेत अभिव्यक्त गरेको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

भैरव नाचमा धार्मिक तथा तान्त्रिक विधिलाई विशेष महत्त्व दिइन्छ। स्थानीय जनविश्वासअनुसार पाँचौँ र छैटौँ तालमा तान्त्रिक विद्यामा निपूर्ण व्यक्तिमा भैरव उत्रिने गर्छन्। यस्तो अवस्थामा नर्तक मात्र नभई दर्शकसमेत काम्ने गरेको विश्वास स्थानीयमा छ।

विधि र पूजामा त्रुटि भए क्षति हुन सक्ने मान्यता रहेकाले नाचको तयारीदेखि विसर्जनसम्म विशेष सावधानी अपनाइन्छ। यही विश्वास र अनुशासनले यस नाचलाई अन्य मनोरञ्जनात्मक प्रस्तुतिभन्दा अलग पहिचान दिएको छ।

भैरव नाचको कार्यक्रममा धार्मिक प्रस्तुतिसँगै मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिन्छ। लाठी नाच अर्थात् टाकुनडोली, घोडा नाच, चरा नाच र लाहुरे–लाहुरेनी नाच जस्ता प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाउँछन्। यसबाट स्थानीय कलाकारले आफ्नो कला प्रदर्शन गर्ने अवसर पाउनुका साथै विभिन्न परम्परागत नृत्य र सीपको संरक्षणमा समेत सहयोग पुग्ने गरेको छ।

सन्धिखर्क नगरपालिका–१ का माधव श्रेष्ठका अनुसार भैरव नाच नेवार समुदायको ऐतिहासिक तथा प्रचलित नाच भए पनि यसको लोकप्रियता समुदायको सीमाभन्दा बाहिरसम्म फैलिएको छ।

सन्धिखर्कको टुँडिखेलमा आयोजना हुने भैरव नाच अवलोकन गर्न हजारौँ दर्शक उपस्थित हुने गरेका छन्। नाच हेर्न नेवार समुदायका अतिरिक्त अन्य समुदायका मानिसको समेत उल्लेख्य सहभागिता रहने गरेको छ।

भैरव नाच पश्चिम नेपालका विभिन्न जिल्लामा प्रचलित छ। अर्घाखाँचीका अतिरिक्त पाल्पा, बागलुङ र दैलेख लगायतका क्षेत्रमा पनि यससँग सम्बन्धित परम्परागत नाच प्रदर्शन गरिन्छ।

ठाउँअनुसार यसको शैली र प्रस्तुतिमा भिन्नता पाइन्छ। कतिपय स्थानमा कालिका नाच वा लाखे नाचका रूपमा समेत चिनिने यस्ता परम्पराले पश्चिम नेपालको सांस्कृतिक विविधता झल्काउँछन्। अर्घाखाँचीको भैरव नाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु र रुपन्देहीमा पनि लोकप्रिय रहेको भैरव नाच संरक्षण समितिका संयोजक श्रेष्ठ बताउनुहुन्छ।

रोजगारी, व्यापार र अध्ययनका सिलसिलामा जन्मथलोबाट टाढा पुगेका समुदायले आफ्नो मौलिक संस्कृति जोगाउन गरेको प्रयास पनि उल्लेखनीय छ। यस वर्ष बुटवलमा नेवा समाज अर्घाखाँची–रुपन्देहीले गरेको भैरव नाच प्रदर्शन त्यसैको उदाहरण हो। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक इतिहाससँग परिचित गराउनुका साथै विभिन्न स्थानमा रहेका समुदायबीच सम्बन्ध र आत्मीय कायम गर्न सहयोग पुर्‍याउँछन्।

यद्यपि बदलिँदो जीवनशैली, आधुनिक मनोरञ्जनका माध्यम र नयाँ पुस्ताको रुचिका कारण परम्परागत संस्कृतिको निरन्तरतामा चुनौती थपिँदै गएको छ। भैरव नाचलाई जीवन्त राख्न वर्षमा एकपटक प्रदर्शन गरेर मात्र पुग्दैन। यससँग सम्बन्धित धार्मिक विधि, सात तालको ज्ञान, बाजा बजाउने सीप, वेशभूषा तयार गर्ने कला र ऐतिहासिक पृष्ठभूमिबारे नयाँ पुस्तालाई सिकाउनु आवश्यक रहेको उनको तर्क छ।

समुदायका ज्येष्ठ नागरिक तथा अनुभवी कलाकारसँग रहेको ज्ञानलाई लिखित, श्रव्यदृश्य र डिजिटल माध्यमबाट अभिलेखीकरण गर्न सके भविष्यका पुस्तालाई परम्परा हस्तान्तरण गर्न सहज हुनेछ। स्थानीय तह, सांस्कृतिक संस्था, नेवार समुदायका अगुवा र युवाबीच सहकार्य बढाएर विद्यालयस्तरमा स्थानीय संस्कृतिबारे जानकारी दिने तथा नियमित अभ्यास र प्रदर्शनका अवसर सिर्जना गर्न सकिन्छ।

अर्घाखाँची प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र धार्मिकस्थलका साथै मौलिक संस्कृतिका दृष्टिले पनि महत्वपूर्ण जिल्ला हो।

भैरव नाचको व्यवस्थित प्रचारप्रसार र संरक्षणले जिल्लाको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्छ तर यसलाई पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा मात्र नभई धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको सम्पदाका रूपमा सम्मान गर्न आवश्यक रहेको बताइन्छ।

काल भैरव, श्वेत भैरव र रक्त भैरवका विशिष्ट स्वरूप, सात तालको लय, परम्परागत बाजाको गुञ्जन र तान्त्रिक पूजाविधि भैरव नाचका पहिचान हुन्। पुस्तौँदेखि नेवार समुदायले जोगाउँदै आएको यो परम्परा आज अन्य समुदायको सहभागिता र समर्थनसमेत प्राप्त गर्दै अघि बढिरहेको छ। यसको संरक्षणले एउटा नाचको निरन्तरता मात्र होइन, अर्घाखाँचीको ऐतिहासिक पहिचान, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको संरक्षणमा समेत योगदान पुर्याउनेछ।

प्रकाशित: २३ कार्तिक २०८३ १२:५४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ। परम्परागत बाजाको गुञ्जन, आकर्षक भेषभूषा, सात ताल...

#नाच #अर्घाखाँची #भैरव
Compare →
Ekantipur
4d ago
सात तालमा जीवन्त अर्घाखाँचीको भैरव नाच

सात तालमा जीवन्त अर्घाखाँचीको भैरव नाच

परम्परागत बाजा, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासतलाई मात्र नभइ सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई समेत उजागर गर्दै आएको छ ।

#नाच #नेवार #जीवन्त
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#अर्घाखाँची
Compare →

Related Stories

Technology
Build #2611