Trending
Prev Story
Next Story

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

Onlinekhabar •
November 08, 2026 • 10:00 AM
1
1 reads 0 reactions

इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । लामो समयदेखि इजरायलको राजनीतिमा प्रभाव जमाउँदै आएका बेन्जामिन नेतन्याहूलाई चुनौती दिइरहेका आइजनकोट पूर्वसैनिक प्रमुख हुन् । आइजनकोट राजनीतिमा नयाँ अनुहार हुन् …

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् ।

लामो समयदेखि इजरायलको राजनीतिमा प्रभाव जमाउँदै आएका बेन्जामिन नेतन्याहूलाई चुनौती दिइरहेका आइजनकोट पूर्वसैनिक प्रमुख हुन् ।

आइजनकोट राजनीतिमा नयाँ अनुहार हुन् । उनले सन् २०२२ मा औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए । उनी नेसनल युनिटी पार्टीबाट इजरायली संसद्का सदस्य बनेका थिए । पछि वैचारिक मतभेदका कारण उक्त पार्टी छाडे ।

गत वर्ष विपक्षी दलका प्रमुख नेताहरूबाट अलग हुँदै उनले मध्यमार्गी दल ‘यासर’ गठन गरे । यासरको अर्थ ‘सीधा’ वा ‘इमानदार’ हुन्छ । त्यसपछि उनी नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धीका रूपमा उदाए ।

यस निर्वाचनमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी लिकुड पार्टी र उसका अतिदक्षिणपन्थी तथा अतिरूढिवादी यहुदी सहयोगीहरूले १२० सदस्यीय संसद्मा ५३ सिट जितेका छन् ।

त्यस्तै, आइजनकोट नेतृत्वको मध्यमार्गी यासर पार्टी र गठबन्धनमा रहेका अन्य तीन यहुदी विपक्षी दलले ४८ सिट जितेका छन् ।

पछिल्ला वर्षमा नेतन्याहू भ्रष्टाचारको आरोपमा घेरिँदै आएका छन् । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न नसकेको भन्दै उनको आलोचना भएको थियो । न्यायपालिकामा व्यापक परिवर्तन गर्ने उनको विवादास्पद योजनाले पनि देशभर विरोध प्रदर्शन निम्त्याएको थियो ।

तर, नेतन्याहूलाई चुनौती दिने आइजनकोटको निर्णय पछाडि एउटा व्यक्तिगत दुःखद घटना पनि जोडिएको छ ।

छोराको मृत्यु र घरमा थन्किएका दुई बाकस

गादी आइजनकोटका पाँच सन्तानमध्ये कान्छा छोरा मास्टर सार्जेन्ट गाल आइजनकोटको सन् २०२३ डिसेम्बरमा उत्तरी गाजामा भएको विस्फोटमा मृत्यु भएको थियो । उनी अक्टोबर ७ मा हमासले बन्धक बनाएका दुई इजरायलीका अवशेष खोज्ने अभियानमा सहभागी भएका थिए ।

गादी आइजनकोटले अहिलेसम्म छोराका सामान राखिएका दुईवटा बाकस खोलेका छैनन् । ती बाकस तेल अभिभको उत्तरमा समुद्री किनारमा रहेको सम्पन्न सहर हर्जलियास्थित उनको घरमा राखिएका छन् ।

६६ वर्षीय आइजनकोटले अप्रिलमा इजरायलको सरकारी रेडियो ‘कान रेसेत बेट’सँग भनेका थिए, ‘मैले अहिलेसम्म ती बाकस खोलेको छैन । म यसलाई लगातार टारिरहेको छु ।’

गाजामा भएको सैन्य अभियानमा उनका छोरासँगै दुई भतिजाको पनि मृत्यु भएको थियो ।

यो व्यक्तिगत क्षति र नेतन्याहू नेतृत्वको सरकारले हमासको अप्रत्याशित आक्रमण रोक्न नसकेको निष्कर्षले उनको राजनीतिक महत्वाकांक्षालाई थप बलियो बनाएको छ ।

उनले ‘द टाइम्स अफ इजरायल’सँग भनेका थिए, ‘म समयलाई पछाडि फर्काउन सक्दिनँ । इतिहासले चुकाएको ठूलो मूल्यको योग्य बन्न म आफूले गर्न सक्ने सबै काम गर्नेछु ।’

नेतन्याहू र उनको मन्त्रिपरिषद्लाई जवाफदेही बनाउनु आइजनकोटको प्रमुख प्राथमिकतामध्ये एक हो ।

अक्टोबर ७ को हमास आक्रमणपछि राष्ट्रिय एकताको सन्देश दिन उनी विपक्षी दलका केही नेतासँगै प्रधानमन्त्री नेतन्याहूको युद्ध मन्त्रिपरिषद्मा सहभागी भएका थिए । तर, सन् २०२४ जुनमा उनले युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिए ।

उनले हमासको नियन्त्रणमा रहेका बन्धकलाई मुक्त गर्न नेतन्याहूले पर्याप्त र छिटो कदम नचालेको आरोप लगाए ।

आइजनकोटले ‘द टाइम्स अफ इजरायल’सँग भनेका थिए, ‘उनको शासनकालमा महिला र बालबालिका अपहरणमा परे । उनीहरूलाई मुक्त गर्न जे गर्न आवश्यक थियो, उनले जानाजान त्यो गरेनन् ।’

नेतन्याहूले भने यो आरोप अस्वीकार गर्दै आएका छन् ।

उनका अनुसार युद्ध मन्त्रिपरिषद्मा रहँदा आइजनकोटले गाजामा सञ्चालन गर्नुपर्ने केही महत्त्वपूर्ण सैन्य कारबाहीको विरोध गरेका थिए । आइजनकोटको रणनीति अपनाएको भए हमास कमजोर नहुने नेतन्याहूको दाबी छ ।

जुनमा आयोजित पत्रकार सम्मेलनमा नेतन्याहूले भनेका थिए, ‘गाजामा रहँदा गादी आइजनकोट र अरूले के भनेका थिए, मलाई याद छ । उनीहरूको भनाइ थियो– सम्झौता गरेर बन्धकलाई मुक्त गरौँ र सम्पूर्ण गाजाबाट बाहिर निस्कौँ ।’

नेतन्याहूका अनुसार त्यस्तो रणनीति अपनाइएको भए हमास र युद्धका क्रममा मारिएका उसका शीर्ष अधिकारी अहिले पनि जीवित र नियन्त्रणमा हुने थिए ।

तर, आइजनकोटले नेतन्याहूको दाबी अस्वीकार गरेका छन् । उनले युद्ध मन्त्रिपरिषद्का बैठक र त्यहाँ भएका मतदानको विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

निर्वाचनको केही दिनअघि उनले आफू निर्वाचित भए १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

इजरायलका प्रमुख पत्रकार तथा शिक्षाविद् नदाव इयालका अनुसार छोराको मृत्युले आइजनकोटलाई राजनीतिक जीवनमा एउटा उद्देश्य र अभियानको अनुभूति गराएको छ ।

उनको उद्देश्य यासर पार्टीलाई संसद्मा पर्याप्त सिट जिताउनु मात्र नभई नेतन्याहूलाई सत्ताबाट हटाउन सक्ने गठबन्धन निर्माण गर्नु पनि हो ।

नेतन्याहूजस्तै आइजनकोट पनि गाजाको भविष्यसम्बन्धी कुनै योजनामा हमासको भूमिका हुनु हुँदैन भन्ने मान्यता राख्छन् ।

इयालले बीबीसीसँग भनेका छन्, ‘उनका छोरालाई हमासले त्यही युद्धमा मारेको थियो, जुन युद्ध हमासले सुरु गरेको थियो भन्ने कुरा बुझ्न निकै महत्त्वपूर्ण छ ।’

आइजनकोटले दुई राष्ट्र समाधानको पनि समर्थन गरेका छैनन् । दुई राष्ट्र समाधानमा इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनी राष्ट्रलाई मान्यता दिने अवधारणा समेटिएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार गत अगस्टको अन्त्यमा उनले दुई राष्ट्र समाधानको सम्भावनामा विश्वास गर्नेहरू भ्रममा रहेको बताएका थिए ।

यद्यपि, उनले प्यालेस्टिनी प्राधिकरणसँग इजरायलको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न चाहेको बताएका छन् ।

अक्टोबरमा ‘द टाइम्स अफ इजरायल’सँग उनले भनेका थिए, ‘आधिकारिक पश्चिम किनारमा बसोबास गर्ने २८ लाख प्यालेस्टिनीमाथि शासन गर्न प्यालेस्टिनी प्राधिकरणलाई

अनुमति दिनुपर्छ । म उनीहरूमाथि शासन गर्न चाहन्नँ ।’

यहुदी बस्ती विस्तारबारे के छ धारणा ?

आइजनकोट इजरायलका ठूला यहुदी बस्तीहरूको विस्तारको पक्षमा छन् । तर, यस्तो विस्तार इजरायली कानुन र राष्ट्रिय हितअनुसार हुनुपर्ने उनको सर्त छ ।

यद्यपि, पश्चिम किनारका केही क्षेत्रमा यहुदी बस्ती विस्तार गर्ने विवादास्पद योजनाको उनले विरोध गरेका छन् ।

विशेषगरी जेरुशलमको पूर्वमा रहेको ई–१ क्षेत्रको बस्ती विस्तार गर्ने योजनाप्रति उनले असहमति जनाएका छन् । यसमा अन्तर्राष्ट्रिय समुदायबाट आउन सक्ने नकारात्मक प्रतिक्रियालाई पनि उनले महत्त्व दिएको देखिन्छ ।

हालै उनले ‘जुडिया र सामरिया’ क्षेत्रबाट यहुदी आतंकवादीहरूलाई हटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । इजरायलले आधिकारिक पश्चिम किनारलाई ‘जुडिया र सामरिया’ भन्ने गरेको छ ।

अक्टोबर ७ को आक्रमणबारे छानबिन गर्ने प्रतिबद्धता

आइजनकोटले निर्वाचन अभियानका क्रममा अक्टोबर ७ को हमास आक्रमणबारे छानबिन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त छानबिनमार्फत इजरायली सरकारबाट भएका कमजोरी र गल्ती पहिचान गर्ने उनको योजना छ ।

इजरायलका प्रमुख सञ्चारमाध्यमहरूले संयुक्त अरब इमिरेट्स र इजिप्टका अधिकारीहरूले गाजाबाट सम्भावित आक्रमण हुन सक्ने विषयमा नेतन्याहूलाई चेतावनी दिएको आरोपसहितका समाचार प्रकाशित गरेका छन् ।

नेतन्याहूले भने यी आरोप अस्वीकार गरेका छन् । उनले सबैभन्दा पहिले यस्तो दाबी प्रकाशित गर्ने इजरायली पत्रिकाविरुद्ध मुद्दासमेत दायर गरेका थिए ।

नेतन्याहूले इजरायलको सर्वोच्च अदालतको नेतृत्वमा हुने सरकारी छानबिनको पनि विरोध गर्दै आएका छन् । न्यायपालिकाले आफूविरुद्ध पक्षपात गर्न सक्ने उनको तर्क छ ।

आइजनकोटले भनेका छन्, ‘यो निर्वाचन जिम्मेवारी स्वीकार गर्ने र जिम्मेवारीबाट भाग्नेबीचको छनोट हो ।’

आइजनकोटले सार्वजनिक गरेको १० बुँदे कार्यक्रममा आपत्कालीन योजना सुरु गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।

यस योजनामार्फत ठूलो संख्यामा इजरायल छाडेर विदेश गइरहेका दक्ष नागरिकलाई रोक्ने र नयाँ आप्रवासीलाई इजरायल आउन प्रोत्साहित गर्ने उनको लक्ष्य छ ।

त्यसैगरी, उनले अतिरूढिवादी यहुदी समुदाय र अरब इजरायली नागरिकले सैनिक सेवाबाट पाउँदै आएको छुट अन्त्य गर्न चाहेका छन् ।

‘द टाइम्स अफ इजरायल’सँग उनले भनेका थिए, ‘हामी सबै इजरायली नागरिकका लागि समान सेवा कानुन पारित गर्नेछौँ । यसअन्तर्गत सैनिक, राष्ट्रिय वा नागरिक सेवा गर्नुपर्नेछ । अरब नागरिकका लागि पनि राष्ट्रिय सेवा समावेश हुनेछ ।’

यसअघि पनि अनिवार्य सैनिक सेवाको दायरा विस्तार गर्ने प्रयास भएका थिए । नेतन्याहू सरकारले समेत यस्तो प्रयास गरेको थियो । तर, अतिरूढिवादी यहुदी समुदायले त्यसको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

गादी आइजनकोटको जन्म इजरायलको तिबेरियसमा भएको थियो । उनको बाल्यकाल इलातमा बित्यो । यी दुवै सहर इजरायलको राजनीतिक शक्तिका प्रमुख केन्द्र यरुशलम र तेल अभिभबाट टाढा छन् ।

उनका आमाबुबा मोरक्कोबाट आएका आप्रवासी थिए । सन् १९५० को दशकमा इजरायल आएर बसोबास गरेका उनीहरू सामान्य आर्थिक अवस्थाको परिवारका थिए । मध्यपूर्व र उत्तर अफ्रिकी देशबाट इजरायल आएका यहुदी समुदायलाई ‘मिजराही’ भनिन्छ ।

हालसम्म मिजराही समुदायका कुनै व्यक्ति इजरायलको प्रधानमन्त्री बनेका छैनन् । यद्यपि, यस समुदायका नेताहरूले विगतमा पनि प्रधानमन्त्री बन्ने प्रयास गरेका छन् ।

‘द न्युयोर्कर’का सम्पादक डेभिड रेमनिकले निर्वाचन अभियानका क्रममा आइजनकोटसँग समय बिताएका थिए ।

उनका अनुसार आइजनकोटले इजरायली समाजमा लामो समयदेखि अधिकारबाट वञ्चित महसुस गर्दै आएका मिजराही समुदायजस्ता वर्गको प्रतिनिधित्व गर्छन् । यसले नेतन्याहूको राजनीतिक पहिचानलाई चुनौती दिएको छ ।

नेतन्याहू पूर्वी युरोपबाट इजरायल आएका यहुदी आप्रवासीका सन्तान हुन् । उनको बाल्यकाल यरुशलमको सम्पन्न क्षेत्रमा बितेको थियो । यस्तो पृष्ठभूमिका कारण उनी अधिकारबाट वञ्चित समुदायका प्रतिनिधि भएको उनको छविमाथि प्रश्न उठ्ने गरेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार ऐतिहासिक रूपमा लिकुड पार्टीलाई समर्थन गर्दै आएको मिजराही समुदायले आइजनकोटका लागि मोरक्कोको अरबी भाषाको शब्द ‘दियालिना’ प्रयोग गर्ने गरेको छ । यसको अर्थ ‘हामीमध्ये एक’ हुन्छ ।

आइजनकोटले यस वर्षको सुरुवातमा टेलिभिजन नेटवर्क च्यानल १३ सँग भनेका थिए, ‘मेरा आमाबुबा मोरक्कोबाट आउनुभएको हो । मलाई उहाँहरू र आफ्नो पुख्र्यौली पहिचानप्रति गर्व छ । तर, सबैभन्दा पहिले हामीले आफ्नो इजरायली पहिचानप्रति गर्व गर्न सक्नुपर्छ ।’

आइजनकोट १८ वर्षको उमेरमा इजरायली सेनामा भर्ती भएका थिए । उनले सेनामा ४० वर्ष सेवा गरे । विभिन्न पदमा रहेर काम गर्दै उनी सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको प्रमुख बने ।

सन् २००० को दशकमा दोस्रो इन्तिफादाका क्रममा उनी पश्चिम किनारमा तैनाथ इजरायली सेनाको जिम्मेवारीमा थिए । दोस्रो इन्तिफादा प्यालेस्टिनी विद्रोह थियो, जुन चार वर्षभन्दा बढी समयसम्म चलेको थियो । त्यस क्रममा करिब एक हजार इजरायली र तीन हजारभन्दा बढी प्यालेस्टिनी मारिएका थिए ।

पछि आइजनकोटको नाम ‘दहिया सिद्धान्त’सँग जोडियो । यस सिद्धान्तले इजरायलमाथि आक्रमण भइरहेको ठानिएका क्षेत्रको नागरिक पूर्वाधारविरुद्ध अत्यधिक सैन्य शक्ति प्रयोग गर्नुपर्ने मान्यता राख्छ ।

नेतन्याहूको चर्को आलोचना गर्दै आएका आइजनकोटले अक्टोबर ७ को हमास आक्रमणपछि इजरायलले गरेको सैन्य कारबाहीको भने कहिल्यै विरोध गरेका छैनन् ।

हमासको नेतृत्वमा भएको उक्त आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसको जवाफमा इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अभियानमा ७४ हजार २०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । संयुक्त राष्ट्रसंघले यी तथ्यांकलाई विश्वसनीय मानेको छ ।

आइजनकोटले ‘द टाइम्स अफ इजरायल’सँग भनेका थिए, ‘हामीलाई आफ्नो रक्षा गर्न बाध्य पारिएको थियो । यसको सुरुवात कहाँबाट भएको थियो भन्ने कुरा इमानदारीपूर्वक हेर्नुपर्छ ।’

पत्रकार तथा प्रसारक मेहदी हसनले बेलायती अखबार ‘द गार्जियन’मा लेख्दै आइजनकोट नेतन्याहूजस्ता नभएको टिप्पणी गरेका छन् । तर, उनका अनुसार आइजनकोटले पनि पश्चिम किनार र गाजामा विस्तार तथा विनाशका नीतिलाई निरन्तरता दिनेछन् ।

‘द इकोनोमिस्ट’का इजरायल संवाददाता तथा नेतन्याहूको जीवनीका लेखक अंशेल फेफरका अनुसार आइजनकोट शान्तिवादी नेता होइनन् । तर, उनको छवि गम्भीर र जिम्मेवार व्यक्तिको छ ।

फेफरले बीबीसीसँग भनेका छन्, ‘अहिलेसम्म निर्वाचन अभियानमा उनले ठूला वा अव्यावहारिक वाचा गरेका छैनन् । उनी कुनै प्रभावशाली वा विशिष्ट परिवारबाट पनि आएका होइनन् । त्यसैले उनको छवि बिगार्न निकै कठिन छ ।’

उनका अनुसार नेतन्याहूलाई प्रत्यक्ष चुनौती दिने नेताका रूपमा आइजनकोटको उदय केही अप्रत्याशित हो । फेफर भन्छन्, ‘छ महिनाअघिसम्म पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटलाई नेतन्याहूको सबैभन्दा सम्भावित प्रतिस्पर्धी मानिएको थियो । तर, आइजनकोटले ठीक समयमा मतदाताको भावना समेट्न सफल भएको देखिन्छ ।’

आइजनकोटलाई प्रायः ‘नेतन्याहूको ठीक उल्टो’ व्यक्तिका रूपमा चित्रण गरिन्छ । उनी चर्चामा रहिरहन खोज्दैनन् र उत्कृष्ट राजनीतिक वक्ताका रूपमा पनि चिनिँदैनन् । पत्रकार नदाव इयालका अनुसार आइजनकोटलाई सम्भवतः राजनीतिज्ञ हुनु पनि त्यति मन पर्दैन ।

विश्व समुदायसँग इजरायलको सम्बन्ध सुध्रिएला ?

आइजनकोट प्रधानमन्त्री बनेमा इजरायल र अन्तर्राष्ट्रिय समुदायबीच बिग्रिएको सम्बन्ध सुधार हुनसक्छ ?

बेलायतस्थित थिंक ट्यांक च्याथम हाउसका अन्तर्राष्ट्रिय सम्बन्धका इजरायली विज्ञ प्राध्यापक योसी मेकेलबर्गले बीबीसीसँग यस्तो सम्भावना रहेको बताएका छन् । तर, परिवर्तन रातारात हुने अपेक्षा गर्न नहुने उनको भनाइ छ ।

उनका अनुसार नेतन्याहूको ठाउँमा अर्को नेता आउँदैमा इजरायलले अन्तर्राष्ट्रिय समुदायप्रति सद्भाव देखाउने ग्यारेन्टी हुँदैन ।

प्राध्यापक मेकेलबर्ग भन्छन्, ‘मलाई लाग्दैन कि आइजनकोटको पार्टीसहित कुनै पनि विपक्षी दलले नेतन्याहूको तुलनामा स्पष्ट र फरक विकल्प प्रस्तुत गरेका छन् ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
इजरायलमा नेतन्याहुलाई पन्छाएर विपक्षी आइजेनकोटलाई प्रधानमन्त्री बन्ने अनुमति

इजरायलमा नेतन्याहुलाई पन्छाएर विपक्षी आइजेनकोटलाई प्रधानमन्त्री बन्ने अनुमति

काठमाडौं । इजरायलमा विपक्षी नेता गादी आइजेनकोट इजरायलको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ। राष्ट्रपति इसाक हर्जोगले अर्को सरकार गठनका लागि उनलाई रोजेका हुन्। आइजेनकोटलाई सरकार गठन गर्न ६...

#इजरायल #विपक्षी #बन्न
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#इजरायल #विपक्षी
Compare →
Nagarik News
5d ago
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

#इजरायल
Compare →

Related Stories

Politics & Governance
Build #2611