ईशनाथ–४ स्थित महुलियाको काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको एमपी ०५–००१ प ०५७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल मठिया–महुलियातर्फ आउने सडकखण्डमा रोकेर जाँच गर्ने क्रममा मोटरसाइकल चालकको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला पारेको थियो ।
रौतहट — भारतबाट मोटरसाइकलमा लुकाएर नेपाल भित्र्याउँदै गरेको स्रोत नखुलेको ३० लाख रुपैयाँसहित बुधबार एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनको बयानका आधारमा गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको छ । दुवै स्थानबाट प्रहरीले ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको थियो ।
ईशनाथ–४ स्थित महुलियाको काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको एमपी ०५–००१ प ०५७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल मठिया–महुलियातर्फ आउने सडकखण्डमा रोकेर जाँच गर्ने क्रममा मोटरसाइकल चालकको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला पारेको थियो । जिल्ला प्रहरीका अनुसार भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम पञ्चायत–१३ का ३० वर्षीय सनिकुमार जैसवालले झोला र मोटरसाइकलको ट्यांकीमुनि फल्स बटम बनाएर रकम लुकाएका थिए । रकमसँगै प्रहरीले एउटा स्मार्ट मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ ।
मोटरसाइकल चालक जैसवाललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याएर प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई दिन ल्याएको खुलेको जिल्ला प्रहरीका डीएसपी वसन्त गौतमले बताए । जैसवालकै बयानका आधारमा जिल्लाबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमान्डमा खटिएको टोलीले न्यु तराई ट्रेडर्समा खानतलासी गरेको थियो । खानतलासीका क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको डीएसपी गौतमले जानकारी दिए ।
‘रकमसहित ट्रेडर्सका सञ्चालक कमरुललाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने, ‘बरामद रकमको स्रोत, भारतबाट नेपाल भित्र्याइएको प्रयोजन, रकमको वास्तविक स्वामित्व तथा यसमा संलग्न हुन सक्ने अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ ।’
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।