भरतपुर–२७ का भीमकुमार महतोको शव भेटिएपछि हात्तीसहितको टोलीले करिब १२ वर्षीय भाले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो।
चितवन — मेघौलीमा मान्छेलाई आक्रमण गरेर ज्यान लिएको बाघलाई चितवन निकुञ्जले बुधबार नियन्त्रणमा लिएको छ।
भरतपुर महानगरपालिका-२७ मेघौली पुरानो पटिहानीका ४०/४५ वर्षका भीमकुमार महतो मंगलबार दिउँसो जंगल गएका थिए। उनलाई बाघले आक्रमण गरेको सूचनाका आधारमा खोजी सुरू भएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेश तिवारीले बुधबार बिहान महतोको शव र नजिकै बाघ फेला परेको बताए । हात्तीसहित गएको निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो।
अन्दाजी १२ वर्षको सो बाघ भाले भएको तिवारीले बताए। मान्छे मारेका कारण जंगलमा छाड्दा थप दुर्घटना हुन सक्ने जोखिम भएका कारण निकु्ञ्जले खोरमा थुनेर राख्ने तयारी गर्दै छ।
मेघौलीको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनको राप्ती नदीनजिक महतोको शव फेला परेको हो। चितवन निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले महतोसहित तीनजना साग खोज्न जंगल गएको र एकजनालाई बाघले आक्रमण गरेको सूचनापछि खोजी सुरू गरेको बताए।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।