Trending
Prev Story
Next Story

औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ?

Onlinekhabar •
November 03, 2026 • 08:01 AM
1
1 reads 0 reactions 4 comments

नेपालमा स्वास्थ्य सेवा सुधारको चर्चा हुँदा अस्पताल, स्वास्थ्यकर्मी, स्वास्थ्य बीमा र पूर्वाधारलाई प्राथमिकता दिइन्छ । तर उपचारको प्रभावकारिता र जनस्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने नियमन प्रणाली हो । गुणस्तरहीन …

औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ?

नेपालमा स्वास्थ्य सेवा सुधारको चर्चा हुँदा अस्पताल, स्वास्थ्यकर्मी, स्वास्थ्य बीमा र पूर्वाधारलाई प्राथमिकता दिइन्छ । तर उपचारको प्रभावकारिता र जनस्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने नियमन प्रणाली हो । गुणस्तरहीन औषधिले उपचारको परिणाममा प्रत्यक्ष असर पार्न सक्छ । यसै कारण पनि औषधि नियमनलाई राष्ट्रिय स्वास्थ्य सुरक्षाको अभिन्न अंगका रूपमा लिन आवश्यक छ ।

नेपालमा औषधि उत्पादन, आयात, वितरण र बिक्रीको दायरा विस्तार हुँदै गएको छ । स्वदेशी औषधि उद्योगको संख्या बढ्नुका साथै आयातीत औषधिको ठूलो हिस्सा बजारमा छ । अनलाइन व्यापार तथा डिजिटल प्रविधिको विस्तारले औषधि बजारलाई थप जटिल बनाउँदै लगेको छ । यस्तो अवस्थामा केन्द्रीय कार्यालयमा मात्र निर्भर रहेर देशभर प्रभावकारी नियमन र अनुगमन गर्नु चुनौतीपूर्ण देखिन्छ ।

संघीय शासन प्रणाली कार्यान्वयन भएको करिब एक दशक पुग्न लाग्दा पनि औषधि नियमनको संरचना केन्द्र र केही सीमित शहरमा मात्रै छ ।

हाल औषधि व्यवस्था विभागको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा मात्र शाखा कार्यालय छन् । राष्ट्रिय औषधि प्रयोगशाला काठमाडौंमै केन्द्रित छ ।

प्रदेशस्तरीय नियामक संरचना किन आवश्यक ?

नेपालको भौगोलिक विकटता, यातायातको कठिनाइ र औषधि बजारको विस्तारलाई दृष्टिगत गर्दा काठमाडौंमा केन्द्रित नियमन प्रणालीबाट समयमै सेवा प्रवाह गर्न कठिन हुन सक्छ । कुनै प्रदेशमा गुणस्तरहीन औषधिको आशंका भएमा नमुना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्थाले परीक्षण प्रतिवेदन प्राप्त गर्न र आवश्यक निर्णय लिन ढिलाइ हुन सक्छ । यसले शंकास्पद औषधि बजारमा रहिरहने जोखिमसमेत बढाउन सक्छ ।

त्यसैले सातै प्रदेशमा औषधि व्यवस्था विभागको कार्यालय र आधुनिक सुविधासम्पन्न औषधि परीक्षण प्रयोगशाला स्थापना गर्ने विषयमा नीतिगत पहल आवश्यक छ । प्रदेशस्तरीय संरचनाले औषधि उद्योग, आयातकर्ता, वितरक, अस्पताल फार्मेसी तथा सामुदायिक औषधि पसलको नियमित निरीक्षण र अनुगमनलाई सहज बनाउन सक्छ । साथै, नमुना परीक्षण, गुणस्तर सम्बन्धी गुनासोको सम्बोधन र आवश्यक परे गुणस्तरहीन औषधि बजारबाट फिर्ता गर्ने प्रक्रिया छिटो बनाउन सहयोग पुग्न सक्छ ।

प्रदेशस्तरीय कार्यालय निरीक्षणमा मात्र सीमित नभई औषधि सुरक्षासम्बन्धी समन्वय केन्द्रका रूपमा विकास गरिनुपर्छ । औषधि उद्योगको नियमन, भण्डारण मापदण्डको अनुगमन, औषधिजन्य प्रतिकूल असरको निगरानी, जनगुनासो व्यवस्थापन तथा अवैध औषधि नियन्त्रणका लागि प्रहरी, भन्सार, स्थानीय तह र उपभोक्ता संरक्षण निकायसँग सहकार्य गर्ने संयन्त्र पनि आवश्यक छ ।

डिजिटल प्रविधिबाट नियमनको आधुनिकीकरण

औषधि नियमनलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन डिजिटल प्रविधिको उपयोग अपरिहार्य बन्दै गएको छ । औषधि दर्ता, इजाजतपत्र नवीकरण, निरीक्षण, बजार अनुगमन, मूल्यसम्बन्धी सूचना र आपूर्ति शृङ्खलाको व्यवस्थापनलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्न आवश्यक छ ।

प्रत्येक औषधिमा बारकोड वा क्यूआर कोडमार्फत उत्पादनदेखि उपभोक्तासम्मको यात्रा अभिलेखीकरण गर्ने अनुगमन तथा पहिचान प्रणाली लागू गर्नु आवश्यक देखिन्छ । यसो गर्न सके औषधिको उत्पादक, ब्याच नम्बर, उत्पादन तथा म्याद समाप्ति मिति र वितरणसम्बन्धी विवरण सहजै पहिचान गर्न सकिन्छ ।

त्यस्तै, औषधि उद्योग, आयातकर्ता, वितरक, अस्पताल तथा सामुदायिक फार्मेसी र नियामक निकायबीच सुरक्षित सूचना आदानप्रदान गर्ने प्रणाली विकास गर्नुपर्छ । यसबाट औषधिको उपलब्धता, सम्भावित अभाव, बजार अनुगमन, औषधिजन्य प्रतिकूल असर र औषधि फिर्तासम्बन्धी सूचना एकीकृत रूपमा व्यवस्थापन गर्न सकिन्छ । मोबाइल एप वा वेब पोर्टलमार्फत नागरिकलाई औषधिको दर्ता अवस्था, मूल्य, उत्पादक र गुणस्तरसम्बन्धी जानकारी उपलब्ध गराउने तथा गुनासो दर्ता गर्ने सुविधा दिन सके उपभोक्ताको सहभागिता र पारदर्शिता बढाउन सकिन्छ ।

गुणस्तर सुनिश्चितता र जोखिममा आधारित नियमन

औषधिको गुणस्तर सुनिश्चित गर्नु नियामक निकायको प्रमुख दायित्व हो । औषधि उत्पादनमा असल उत्पादन अभ्यास, वितरणमा असल वितरण अभ्यास, भण्डारणमा असल भण्डारण अभ्यास तथा बजारमा पुगेका औषधिको नियमित निगरानीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।

सबै उद्योग, औषधि र वितरण प्रणालीमा समान प्रकृतिको निरीक्षण गर्नुको सट्टा उत्पादनको प्रकृति, विगतको गुणस्तर अभिलेख र जनस्वास्थ्यमा पर्न सक्ने जोखिमका आधारमा निरीक्षणको प्राथमिकता निर्धारण गर्नुपर्छ । विशेषगरी बाँझ औषधि, खोप, जैविक तथा अन्य उच्च जोखिमयुक्त औषधिको नियमित परीक्षण र सघन निगरानी आवश्यक हुन्छ । यस्तो जोखिममा आधारित नियमनले सीमित जनशक्ति र स्रोतसाधनको प्रभावकारी उपयोग गर्न सहयोग पुर्‍याउन सक्छ ।

यसका साथै अत्यावश्यक औषधिको अभाव रोक्न राष्ट्रिय स्तरको औषधि उपलब्धता निगरानी प्रणाली, पूर्वचेतावनी संयन्त्र र वैकल्पिक आपूर्ति योजना विकास गर्नुपर्छ । उत्पादक तथा आयातकर्ताबाट सम्भावित अभावबारे समयमै जानकारी प्राप्त गर्ने व्यवस्था भएमा औषधिको आपूर्ति निरन्तरता कायम राख्न सहज हुन सक्छ ।

औषधि ऐन, २०३५ ले नेपालको औषधि उत्पादन, आयात, बिक्रीवितरण र गुणस्तर नियमनका लागि कानुनी आधार प्रदान गरेको छ । तर पछिल्ला दशकमा औषधि विज्ञान, जैविक औषधि, डिजिटल स्वास्थ्य सेवा र अनलाइन व्यापारमा आएको परिवर्तनलाई सम्बोधन गर्न कानुनी संरचनाको पुनरावलोकन आवश्यक देखिन्छ।

संघीय शासन प्रणाली अनुकूल नियामक अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट, डिजिटल दर्ता तथा नवीकरण, जोखिममा आधारित निरीक्षण, औषधिजन्य प्रतिकूल असरको निगरानी, औषधि फिर्ता प्रणाली र अनलाइन औषधि व्यापारको नियमनलाई कानुनमा स्पष्ट रूपमा समेट्नुपर्छ । यसले नियमन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सहयोग पुर्‍याउन सक्छ ।

स्वदेशी औषधि उद्योग र उपभोक्ता अधिकार

औषधि व्यवस्था विभागका अनुसार नेपालमा करिब २०१ औषधि उत्पादन कम्पनी दर्ता छन् । तीमध्ये १२९ एलोप्याथिक औषधि, ६० आयुर्वेदिक र १२ एलोप्याथिक भेटेरिनरी औषधि उत्पादनसँग सम्बन्धित छन् । सबै दर्ता भएका उद्योग पूर्ण रूपमा सञ्चालनमा नरहेकाले सक्रिय उत्पादन गर्ने उद्योगको संख्या करिब १०० रहेको अनुमान छ ।

विभागको वि.सं. २०८३ भदौ १ गतेसम्मको विवरण अनुसार ७८ स्वदेशी औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको जिएमपी गाइडलाइन तथा औषधि उत्पादन कुशल अभ्यास संहिता, २०७२ बमोजिम प्रमाणीकरण प्राप्त गरेका छन् ।

स्वदेशी औषधि उद्योगको विस्तारसँगै गुणस्तर मापदण्डको पालना, नियमित निरीक्षण र नियामक क्षमता अभिवृद्धि आवश्यक छ । वैज्ञानिक तथा पारदर्शी नियमनले गुणस्तरीय उद्योगलाई समान प्रतिस्पर्धाको वातावरण उपलब्ध गराउन सक्छ । साथै, उपभोक्ताले आफूले प्रयोग गर्ने औषधिको मूल्य, उत्पादक, दर्ता अवस्था, ब्याच नम्बर र म्यादसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्छ ।

प्रदेशस्तरीय नियामक कार्यालय र प्रयोगशाला स्थापना गर्नु मात्र पर्याप्त हुँदैन । औषधि निरीक्षक, फार्मासिस्ट, विश्लेषणात्मक रसायनशास्त्री, सूक्ष्मजीव वैज्ञानिक, प्रयोगशाला प्राविधिक, सूचना प्रविधि विशेषज्ञ र कानुन अधिकृतजस्ता दक्ष जनशक्तिको पर्याप्त दरबन्दी आवश्यक हुन्छ । उनीहरूको नियमित तालिम, सीप विकास र करियर विकासमा समेत लगानी गर्नुपर्छ ।

त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहबीच औषधि नियमन सम्बन्धी अधिकार, जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट हुनुपर्छ । प्रदेशले निरीक्षण, नमुना संकलन र नियामक समन्वयमा भूमिका निर्वाह गर्ने तथा स्थानीय तहले औषधि पसल र स्वास्थ्य संस्थाको अनुगमन, जनगुनासो व्यवस्थापन र जनचेतना अभिवृद्धिमा सहयोग गर्ने गरी कानुनी तथा संस्थागत व्यवस्था मिलाउन सकिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको रुबियोको भनाइ

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको रुबियोको भनाइ

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य भएपछि युक्रेन र समग्र युरोपको सुरक्षा व्यवस्था कस्तो हुने भन्ने विषयमा केही प्रगति भएको बताउनुभएको छ । उहाँले यसै साता अबुधाबीमा हुने व...

#सुरक्षा #संरचना
Compare →
Nagarik News
5h ago
पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की

पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की

अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि चीनमा ‘मुयौदा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो।

#औषधि
Compare →
Ekantipur
7h ago
चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो ।

#औषधि
Compare →

Related Stories

Health & Wellness
Build #2611