बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् । कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत ती ग्राहकले बम्पर पुरस्कार जितेको आन्तरिक राजस्व विभागले जनाएको हो।
विभागले कात्तिक १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा छनोट गरेका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेताको नाम सोमबार सार्वजनिक गरेको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताहरूको नाम घोषणा गरिएको हो।