दसैं हो भन्दैमा जे पायो त्यही खान हुँदैन । दाँतको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि गुलिया परिकारको सेवन र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
चाडबाडमा मिठाई, गुलिया परिकार र विभिन्न पेय पदार्थ सेवनको मात्रा बढ्छ । दसैंको रमझममा दाँत र गिजाको स्वास्थ्यलाई भने बेवास्ता गर्नु हुँदैन । थोरै असावधानीले दाँतमा किरा लाग्ने, दाग बस्ने र गिजामा समस्या देखिने जोखिम बढ्न सक्छ । त्यसैले चाडबाडको खुसीसँगै चम्किलो मुस्कान र स्वस्थ दाँत कायम राख्न खानपान र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
हामी चाडबाडमा धेरैजसो चिसो पेय पदार्थ तथा वाइनलगायत मदिरा पिउँछौँ। यी चिसो पेय पदार्थमा अम्ल र गुलिया पदार्थ बढी मात्रामा प्रयोग गरिएको हुन्छ। यसमा भएको अम्लले दाँतको बाहिरी सतह इनामेल खियाएर दाँत सिरिङसिरिङ हुने र गुलियो पदार्थले दाँतमा हानिकारक सूक्ष्म जीवाणुहरू उत्पादन गरेर अम्ल बनाउने हुन्छ। फलस्वरूप दाँतमा छिटो क्याभिटी बन्छ। त्यस्तै, बढी रक्सी सेवनले मुखमा सुक्खापन पैदा गर्छ। जसले गर्दा दाँतमा छिटो कीरा लाग्छ। त्यसैले यी पदार्थ सेवन गरेपछि पानीले राम्रोसँग मुख कुल्ला गरी पर्याप्त पानी पिउनुपर्छ। कतिपय मानिसले बोतलको बिर्को आफ्नै दाँतले खोल्छन्, जसले गर्दा दाँत भाँचिने र टुक्रिने डर हुन्छ।
बजारमा पाइने रङ्गीचङ्गी मिठाईं र अन्य खानेकुरामा धेरै मात्रामा रङ र मसलाको प्रयोग गरिएको हुन्छ। कृत्रिम र प्राकृतिक रङ भएका मिठाईं र फलफूल बढी मात्रामा सेवन गर्दा दाँतमा रङ टाँसिने र छिटो प्लाक जमी दाग उत्पन्न हुने गर्छ। त्यसैले मानिसहरू खुलेर हाँस्न सक्दैनन्। यी दाग समयमै हटाइएन भने पछि कडा दाग बस्छ र ब्रस गर्दा पनि सजिलै जाँदैन।
धेरैजसो युवायुवती राम्रो मुस्कानका लागि डेन्टल ब्लिचिङ गर्छन्। सुन्दर मुस्कान ल्याउन बजारमा सहजै पाइने, जथाभावी केमिकल प्रयोग गरिएका अप्रमाणित ह्वाइटनिङ सामग्री घरमै प्रयोग गर्छन्। यी सामग्री प्रयोग गर्नाले दाँतमा अनावश्यक सिरिङसिरिङ हुने समस्याका साथै दाँत र गिजामा नकारात्मक असर पर्न सक्छ। भविष्यमा मुखको स्वास्थ्यसम्बन्धी रोगहरू निम्तिन सक्छन्। त्यसकारण यस्ता केमिकलयुक्त सामग्री मुखमा प्रयोग गर्नुअघि भ्रामक विज्ञापनको पछि नलागी दक्ष दन्त चिकित्सकको सल्लाह लिनुहोला।
चाडबाडमा व्यस्तताका कारण मुखको उचित हेरचाह गर्न नसकिने हुन्छ। यसकारण दाँतको बीचमा खानेकुरा अड्किने, मुख गन्हाउने र गिजा सुन्निने समस्या उत्पन्न हुन्छन्। यी समस्या समाधानका लागि दिनको दुईपटक राम्रोसँग फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने र दुईवटा दाँतको बीचमा डेन्टल फ्लस अथवा इन्टरडेन्टल ब्रस नियमित रूपमा प्रयोग गर्नुपर्छ। कुनै पनि कुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ।
खानपानमा सजग भई नियमित सरसफाइमा ध्यान दिएर चाडबाडको आनन्द लिनुपर्छ। दाँत र गिजाका समस्याबाट जोगिन हरेक छ–छ महिनामा डेन्टल क्लिनिकमा जाँच गराउनुपर्छ।
- लुमन्ती डेन्टल क्लिनिककी डा. रीना शाक्यसँगको कुराकानीमा आधारित