वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित यो क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो।
पर्सा — वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित यो क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे खटिएको प्रहरी टोलीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बारा घर भएका ४ जना र रौतहट घर भएका १ जना रहेका छन्। प्रहरी निरीक्षक विकास राईका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको सूचनापछि प्रहरी परिचालन गरिएको थियो। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालमा क्यासिनो सञ्चालनसम्बन्धी कानुनी व्यवस्थाले नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने कार्यमा प्रतिबन्ध लगाएको छ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।