आमादब्लमलाई मनभित्र आत्मसात् गरेको आनन्दित मन लिएर म उकालो चढिरहेको छु। हिँड्नुको कुनै हैरानी छैन। उचाइमा चिसोले फत्रक्कै पार्नुपर्ने हो, तर उल्टै खलखली पसिनाले म भिजिरहेको छु। हिमाल मात्रै होइन, हिउँले बाटो पनि ढाकेको छ। तर त्यसले चिस्याएर खुट्टा कक्रक्क पार्दै बङ्ग्याइहालेको छैन। बरु यात्रीहरूको भीड लट्ठी टेक्दै, हिउँ छल्दै हिँडिरहेको छ। यस्तो बाटोमा हिँड्नुको बेग्लै आनन्दले उनीहरू लट्ठ छन्। कोही भने हिउँमै लडिबुडी गर्दै रमाइरहेका छन्।
अब गुराँस फुल्ने पहाडभन्दा धेरै माथि पुगिसकेको छु। सोमारे, देबुचेको जङ्गल र मिलिङ्गोलाई तलै छोडेर पाङबोचे (३,९३० मिटर) नजिक पुग्दै छु। बाहिर हात कठ्याङ्ग्रिने चिसो छ, तर पसिनाले लुगा छ्याप्पै भिजिसक्दा पनि दृश्य हेर्ने भोक मेटिएको छैन। हेर्न चाहिने सबथोक यहीँ उपलब्ध छ।
Read full story at source ( saralpatrika.com )