एक पूर्व अमेरिकी कूटनीतिज्ञका अनुसार उनी दरबारअगाडि धर्नामा बसिन् र राजदूत पद नछाड्न वासिङटनलाई अनौठो टेलिग्राम पठाइन् । अन्ततः अमेरिकी मरिनले ढोका फोडेर उनलाई राजदूत निवासबाट निकाले । चार दशकअघिको यो प्रसंग अमेरिकी कूटनीतिक मौखिक इतिहासमा भेटिन्छ ।
यो नाम तपाईंले नसुन्नुभएको हुन सक्छ। वा, अहिले स्मृतिमा नरहेको हुन सक्छ। तर, उनी थिइन्, नेपालका लागि अमेरिकी राजदूत।
कूटनीतिक इतिहासमा केही राजदूत आफ्नो योगदानका कारण सम्झिइन्छन्, केही विवादका कारण । यो सामग्री पढेपछि उनी दोस्रो श्रेणीमा पर्छिन् कि पर्दिनन् भन्ने निष्कर्ष तपाईंले निकाल्न सक्नुहुन्छ।
यो सामग्री डेभिड फिसरसँग रोबर्ट पास्टुरिनोले सन् १९९८ मा लिएको अन्तर्वार्तामा आधारित छ।
सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल-अमेरिकाबीच मैत्रीपूर्ण सम्बन्धले निरन्तरता पाइरह्यो। तर, मेटागको व्यवहारका कारण दुई देशबीचको सम्बन्ध नै एक समय जोखिममा परेको थियो। उनलाई सहकर्मीले ‘अन्त्यन्तै झगडालु र असह्य महिला’भनेर वर्णन गरेका थिए।
राजदूतका रूपमा मेटागको कार्यकाल एक वर्ष पनि टिकेन। सन् १९७६ मे (विसं. २०३३) मा आएकी १९७७ अप्रिलमै पदबाट बिदा हुनपर्यो।
काठमाडौंमा उनको यो छोटो कार्यकाल अमेरिकी कूटनीतिज्ञहरूबीच अझै 'राजदूतले कसरी व्यवहार गर्नु हुँदैन' भन्ने उदाहरणका रूपमा सुनाइन्छ।
यो विवरण अमेरिकी कूटनीतिक अध्ययन तथा तालिम संघ ( एडीएसटी) ले संकलन गरेको मौखिक इतिहास मा छ।
त्यतिबेला काठमाडौंस्थित अमेरिकी दूतावासमा राजनीतिक अधिकृत रहेका डेभिड फिसरले सन् १९९८ मे २० मा रोबर्ट पास्टुरिनोसँगको अन्तर्वार्तामा मेटागका कामहरू सम्झिएका थिए। एडीएसटीले यो अंश सन् २०१५ मा 'डिप्लोम्याट्स बिहेभिङ ब्याड्ली' शृंखलामा प्रकाशित गरेको थियो। यहाँ उल्लिखित सबै विवरण फिसरको सम्झना र दाबीमा आधारित छन्।
फिसरका अनुसार मेटाग अमेरिकाको इडाहो राज्यकी प्रभावशाली रिपब्लिकन नेता थिइन्। सन् १९७६ को रिपब्लिकन अधिवेशनमा इडाहोका प्रतिनिधिहरूलाई रोनाल्ड रेगनको पक्षबाट राष्ट्रपति जेराल्ड फोर्डतर्फ फर्काएबापत उनले नेपालको राजदूत पद पाएको फिसरको भनाइ छ। फिसरले उनलाई पहिलोपटक सन् १९७५ मा राजा वीरेन्द्रको राज्याभिषेकमा भेटेका थिए। त्यतिबेला उनी अमेरिकी प्रतिनिधिमण्डलकी कनिष्ठ सदस्य थिइन्।
फिसरले मौखिक इतिहासमा उनका धेरै प्रसंग सुनाउन नसकिने बताएका छन्। उनका अनुसार काठमाडौं आएको छ साताभित्रै अरू मुलुकका कूटनीतिज्ञहरू ककटेल पार्टीहरूमा अमेरिकी दूतावासका कर्मचारीको पछाडि उनको खिल्ली उडाउन थालेका थिए।
त्यतिबेला दूतावासका कर्मचारीहरू घरमा मुभी प्रोजेक्टर राखेर नयाँ अमेरिकी फिल्म देखाउँथे। फिसरका अनुसार यस्तो निम्तोमा देशका जुनसुकै राजनीतिक नेता पनि आइपुग्थे।
एक शुक्रबार राति ८ बजे फिसरको ढोकामा नेपालका प्रधानमन्त्री आइपुगे र आज फिल्म देखाइँदै छ कि भनेर सोधे। फिसरका अनुसार प्रधानमन्त्रीले आफूलाई राजदूत निवासमा फिल्म हेर्न बोलाइएको ठानेका थिए। तर त्यहाँ पुग्दा राजदूत दुई पाइलट र तीन तिब्बती महिलासँग भेटिइन्। पुरुषभन्दा महिला एक जना बढी भएको गनेपछि आफू पनि त्यो जमघटमा मुछिनुपर्ने देखेर उनी सशंकित बने। आफू फिल्म हेर्न आए पनि यस्तो गतिविधि देखेपछि उनी खिन्न भएको फिसरले स्मरण गरेका छन्।
हात्तीमा राजा, भीआईपी कक्षमा थुनिएकी राजदूत
अर्को प्रसंग राजा वीरेन्द्रको चीन भ्रमणको हो। दरबारका ज्योतिषीले साइत जुराएको एक आइतबार बिहान ११ बजे राजा काठमाडौंबाट सिधै बेइजिङ उड्दै थिए। करिब १० बजे शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) ले फिसरलाई फोन गरेर 'सानो समस्या' समाधान गर्न तुरुन्त विमानस्थल आउन आग्रह गरे।
फिसर विमानस्थल पुग्दा राजा सुनौलो हौदा सजिएको हात्तीमा चढेर भित्र पस्दै थिए। कूटनीतिक नियोगका प्रमुखहरू औपचारिक मर्निङ कोटमा लाइन लागेका थिए, तर अमेरिकी राजदूत त्यहाँ थिइनन्। प्रोटोकल प्रमुखले उनलाई भीआईपी कक्षमा थुनेर राखेको बताए।
फिसर भित्र पस्दा राजदूत निलो जिन्स, द्विअर्थी नारा लेखिएको टिसर्ट र चिनियाँ चप्पलमा थिइन्। उनी रिसले चूर थिइन् र आफूलाई जानकारी नदिएकोमा दूतावासका अधिकारीहरूलाई दोष दिइरहेकी थिइन्। फिसरका अनुसार उनलाई के गर्नुपर्छ भन्ने निर्देशन पहिल्यै दिइएको थियो।
फिसरका अनुसार मेटागले दरबारअगाडि महिला अधिकारका लागि प्रदर्शनको नेतृत्व पनि गरिन्। दूतावासलाई यो थाहा पाउन एक घण्टा लाग्यो। त्यसपछि मरिन पठाएर उनलाई कारमा हालेर फर्काइएको थियो। यस्ता घटनाले नेपाल-अमेरिका सम्बन्धमा भने असर नपरेको फिसरको दाबी छ, किनभने दरबारले उनीसँग पाँच मिनेट बिताएपछि नै उनी कस्ती हुन् भन्ने बुझिसकेको थियो।
सन् १९७६ मा जिमी कार्टर राष्ट्रपति निर्वाचित भएपछि सबै राजनीतिक नियुक्त राजदूतले राजीनामा पत्र बुझाउनुपर्थ्यो। मेटागले राजीनामा दिन मानिनन्।
कार्टरको शपथग्रहणभन्दा दुई दिनअघि, जनवरी १८ तिर उनले वासिङटनमा एउटा टेलिग्राम पठाइन्। फिसरका अनुसार त्यो वास्तवमै निकै अनौठो किसिमको थियो। नेपाललाई 'अन्तर्राष्ट्रिय मानव संरक्षण क्षेत्र' का रूपमा जोगाउन अमेरिकाले नेपाल वरिपरि ६ फिट अग्लो बार लगाउनुपर्ने उनको प्रस्ताव थियो। उनले आफूलाई पुनः राजदूत नियुक्त गर्न पनि नाटकीय अनुरोध गरेकी थिइन्।
त्यसबेला आगामी विदेशमन्त्री साइरस भान्स र उनका विशेष सहायक पिटर टार्नफ कुन राजदूतलाई कहिले फेर्ने भन्ने सूची हेरिरहेका थिए। लन्डन र पेरिसजस्ता महत्त्वपूर्ण नियोगका तुलनामा नेपाल सूचीको धेरै तल थियो। फिसरका अनुसार त्यो टेलिग्राम पढेपछि भान्सले यो को हो भनेर सोधे र नेपाललाई सूचीको टुप्पोमा राख्न लगाए।
यसरी मेटाग कार्टर प्रशासनले बर्खास्त गरेकी पहिलो राजनीतिक नियुक्त राजदूत बनिन्।
मेटागलाई नेपाल छाड्न ३० दिनको समय दिइएको थियो। तर, उनी टसमस भइनन्। ३१ दिन बित्यो, ३२ दिन बित्यो, तर मेटागले निवास छाडिनन्।
नयाँ राजदूत नआउन्जेल खाली निवास 'हाउस सिट' गर्ने अधिकार आफूलाई रहेको उनको तर्क थियो। फिसरका अनुसार उनी करिब ६ साता त्यहीँ बसिन्।
अन्ततः विदेश मन्त्रालयका कार्मिक प्रमुख आर्ट वर्ट्जेलले फिसरलाई नयाँ दिल्ली बोलाए। उनले आवश्यक परे मरिन गार्ड प्रयोग गरेर भए पनि शुक्रबारसम्म मेटागलाई निवासबाट निकाल्न निर्देशन दिए। लामो समय उनको व्यवहार सहेका चार्ज द अफेयर्स ज्याक इभ्सले मरिन पठाउने निर्णय गरे।
मेटागले फोन र ढोका दुवै खोल्न छाडेकी थिइन्। त्यसैले एक कनिष्ठ अधिकृतमार्फत शुक्रबार बिहान ९ बजेसम्मको अन्तिम समय तोकिएको सूचना पठाइयो। तोकिएको दिन मरिनहरू दुईवटा ट्रक लिएर पुगे। निवासको ताला फेरिएको थियो, त्यसैले उनीहरूले ढोका फोडे। भित्र राजदूत बैठक कोठाको सोफामा उही टिसर्ट र जिन्समा बसिरहेकी थिइन्। उनलाई सुटकेस प्याक गर्न दुई–तीन घण्टा दिइयो। त्यसपछि सामानसहित ट्रकमा राखेर यलो प्यागोडा होटल पुर्याइयो।
फिसरका अनुसार मेटाग त्यसपछि पनि करिब दुई वर्ष नेपालमै बसिन्। पहिले उनी होटलमा बसिन् र पछि अपार्टमेन्ट भाडामा लिइन्। फिसरको सबैभन्दा गम्भीर दाबी अन्त्यमा आउँछ: नेपाल छाड्दा उनले नेपाली कला तथा पुरातात्त्विक वस्तुहरूको ठूलो संग्रह अवैध रूपमा बाहिर लगिन्, र नेपाल सरकारले उनलाई रोकेन।
फिसरले मेटागलाई आफूले सुनेका वा भोगेकामध्ये 'सबैभन्दा खराब राजदूत' भनेका छन्। उनको अन्तिम टिप्पणी नेपाली पाठकका लागि झनै बिझाउने खालको छ: नेपाल अमेरिकाका लागि अत्यन्त महत्त्वपूर्ण मुलुक नभएकोमा उनले भगवान्लाई धन्यवाद दिएका छन्।