आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँ — शनिबार अपराह्नदेखि चक्रवात 'अर्णव'को प्रभाव क्रमिक रूपमा कम हुँदै जाने भएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशभर साधारणतया बादल लाग्नेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का वर्षा तथा लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाँउमा हल्का वर्षा भइरहेको छ ।
'शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला,' विभागका मौसमविद् डेभिड ढकालले भने ।
भारतमा शक्तिशाली चक्रवात ‘अर्णव’ को शक्ति बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ ।
उनका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । 'दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ,' उनले भने ।
विभागका अनुसार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ । सो अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको छ ।
यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ ।