Trending
Prev Story
Next Story

विचार | सांस्कृतिक रूपान्तरणको सकस

Ekantipur •
October 29, 2026 • 05:15 PM
1
1 reads 0 reactions

नेपाली समाजमा जब्बर बनेर बसेको पितृसत्ता, जात व्यवस्था, नश्लवादी र विभेदकारी सांस्कृतिक अभ्यासलाई तोड्न त्यत्तिकै बलियो प्रतिरोधी आन्दोलन आवश्यक छ।

विचार | सांस्कृतिक रूपान्तरणको सकस

नेपाली समाजमा जब्बर बनेर बसेको पितृसत्ता, जात व्यवस्था, नश्लवादी र विभेदकारी सांस्कृतिक अभ्यासलाई तोड्न त्यत्तिकै बलियो प्रतिरोधी आन्दोलन आवश्यक छ।

संस्कृति मानव चेतना र सामूहिक क्रियाकलापको उपज हो । मानिसले श्रम, अनुभव, अनुभूति, भावना र आर्जित ज्ञानका आधारमा संस्कृति निर्माण गर्छ । यस्तो सांस्कृतिक अभ्यासले मानव समाजलाई व्यवस्थित र गतिशील बनाउँछ । त्यसैले मानिस हुनु भनेको सांस्कृतिक हुनु पनि हो । नेपालमा फरक–फरक मानव सभ्यताले निर्माण गरेका संस्कृतिको अभ्यास भइरहेका छन् । विशेषगरी समुदाय वा मानव समाज आफैंले निर्माण गरेका भौतिक र बौद्धिक संस्कृतिले सामूहिक र मानवता केन्द्रित हुन्छ । तर, शासक वर्ग र समुदायले मानव समाजलाई नियन्त्रणमा राखेर शासनसत्ता सञ्चालन गर्न संस्कृति निर्माण र अभ्यास गर्छ । शासक वर्गको स्वार्थ रक्षाका लागि निर्मित यस्तो संस्कृति सत्ता सञ्चालनको शासकीय हतियार बन्ने गर्छ । शासक वर्ग र समुदायले फरक संस्कृतिमा अतिक्रमण गर्छ र जबर्जस्त शासकीय संस्कृति, विचार र मूल्य मान्यता अभ्यास गर्नैपर्ने स्थिति खडा गर्छ।

नेपालमा पनि धर्म, संस्कृति, परम्परा आदिका नाममा सीमान्तीकृत वर्ग, लिंग र समुदायप्रतिको विभेदकारी संस्कृतिलाई सामान्यीकरण गरिएको छ । नेपालका शासक वर्ग र समुदायले लामो समयदेखि श्रम र श्रमिकलाई अपमान गर्ने, फरक भाषिक–सांस्कृतिक र धार्मिक समुदायलाई गरिने उत्पीडन संस्थागत गर्ने, धार्मिक–सांस्कृतिक मान्यताका नाममा महिलालाई दमन गर्ने र उत्पीडित समुदायलाई घृणा, अपमान र विभेद गर्ने सांस्कृतिक मान्यताको अभ्यास गर्दै आएको छ । यस्तो विभेदकारी सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन राज्यले राज्यसत्ताका सबै संयन्त्र परिचालन गर्दै आएको छ भने शासक वर्ग र समुदायको सांस्कृतिक प्रभुत्वलाई सामान्यीकरण गर्ने र सबैले स्वीकार गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरेको छ।

नेपालबारे चर्चा गर्दा धेरैले भौगोलिक र सांस्कृतिक विविधताको चर्चा गर्छन् । तर, संस्कृतिका नाममा हुने विभेद र अपराधबारे खासै चर्चा हुँदैन । हजारौं वर्षदेखि कथित संस्कृतिका नाममा महिलालाई विभेद, हिंसा र उत्पीडन हुँदै आएको छ । समान हैसियतका लागि महिलाले लामो समयदेखि संघर्ष गर्दै आएका छन् । राज्यको निश्चित धर्म हुँदैन । सबै धर्मावलम्बीले समान रूपमा धार्मिक–सांस्कृतिक अभ्यास गर्न पाउनुपर्छ । तथापि, धर्मका नाममा हुने हिंसा र उत्पीडनको अन्त्य हुनुपर्छ । तर, राज्यका सबै संयन्त्रले हिन्दु धार्मिक–सांस्कृतिक मान्यतालाई प्रवर्द्धन गरिरहन्छन्।

मानिसले दैनिक जीवनमा गर्ने क्रियाकलाप, व्यवहार, अभिव्यक्ति आदिको मूल स्रोत सांस्कृतिक चिन्तन हो । आफूलाई कथित ‘ठूलो जात’ को हुँ भन्ने विभेदकारी सांस्कृतिक चिन्तन भएको व्यक्तिले अन्य जातिलाई घृणा र अपमान गर्छ । लैंगिक हिंसालाई सामान्यीकरण गर्ने सांस्कृतिक चिन्तन प्रणाली भएको व्यक्तिले महिला वा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई गरिने विभेद र अन्यायलाई नै सही मान्छ । राजनीतिक नेतृत्वले चुनावमा जिताउने जनतालाई होइन, भगवान्‌लाई विश्वास गर्छ र पद बहाली हुँदा पूजापाठ गर्छ । राज्य संरचनाले गरिब, मजदुर, श्रमजीवी र उत्पीडित समुदायलाई निरन्तर दमन गर्ने सांस्कृतिक अभ्यास गर्छ, तर जनतालाई ‘भाग्य नै यस्तै रहेछ’ भन्न लगाउँछ र दमनकारी राज्यसत्ता टिकाइरहन्छ।

नेपालको राजनीतिक व्यवस्था फेरियो । विज्ञान–प्रविधिको विकाससँगै उत्पादन सम्बन्ध पनि फेरिँदै छ । नेपाल सामन्ती राजनीतिक व्यवस्थाबाट पुँजीवादी आर्थिक–राजनीतिक व्यवस्थामा परिवर्तित भयो । तर, सामन्ती संस्कृतिको अन्त्य हुन अझै सकेको छैन । अर्कोतिर, उपभोक्तावादी पुँजीवादी संस्कृतिले व्यापकता पाउँदै छ । तर, नेपालको दमनकारी, विभेदकारी र प्रभुत्ववादी सांस्कृतिक रूपान्तरणको यात्रा सशक्त हुन सकेको छैन।

नेपाली समाजमा न्याय, समानता र सद्भाव स्थापित गर्ने हो भने विभेदकारी संस्कृतिको अन्त्य गर्नैपर्छ । उसो त नेपालमा लामो समयदेखि सामाजिक–सांस्कृतिक रूपान्तरणका प्रयत्न भएका हुन् । सांस्कृतिक रूपान्तरण मूलत: राज्यसत्ताकै रूपान्तरणसँग सम्बन्धित छ । तथापि, राजनीतिक सत्ताको रूपान्तरणले मात्रै सांस्कृतिक रूपान्तरण भइहाल्छ भन्ने हुँदैन । जस्तै: नेपाल निरंकुश राजतन्त्रात्मक व्यवस्थाबाट गणतन्त्रमा रूपान्तरित भयो । सामन्ती राज्यव्यवस्था पुँजीवादी लोकतान्त्रिक व्यवस्थामा रूपान्तरित भयो । तर, सामन्ती र विभेदकारी सांस्कृतिक सत्ताको रूपान्तरण हुन सकेन । त्यसैले राज्यसत्ताको रूपान्तरणसँगै शासक वर्ग र समुदायको हितरक्षाका लागि अभ्यासमा रहेका विभेदकारी संस्कृति रूपान्तरणको विशेष कार्ययोजना चाहिन्छ । तर, नेपालमा राज्यव्यवस्था परिवर्तन त हुँदै आयो, सांस्कृतिक रूपान्तरणको मुद्दाले भने कहिल्यै प्राथमिकता पाएन।

विशेषगरी नेपालका कम्युनिस्ट पार्टीहरूले सैद्धान्तिक रूपमा सांस्कृतिक रूपान्तरणको अजेन्डालाई निरन्तर उठाउँदै आएको देखिन्छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै कम्युनिस्ट पार्टीहरूले सांस्कृतिक रूपान्तरणको अजेन्डा उठाएको देखिन्छ । तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र युद्धकालमा सामन्तवादी र विभेदकारी सांस्कृतिक अभ्यास अन्त्यको सशक्त प्रयत्न भएको थियो । तर, शान्ति प्रक्रियामा प्रवेश गरेसँगै माओवादीले सांस्कृतिक रूपान्तरणको कुनै विचार, योजना र कार्यक्रम ल्याउन सकेन । अन्तत: समाजमा सांस्कृतिक प्रतिक्रान्ति हुन पुग्यो । यथास्थितिवादी र विभेदकारी संस्कृतिको रजगजले निरन्तरता पाइरहेको छ । नेपालका राजनीतिक दलहरूले सांस्कृतिक रूपान्तरणको मुद्दालाई बेवास्ता गरेका कारण प्रभुत्ववादी, दमनकारी र विभेदकारी संस्कृतिको रूपान्तरण हुन सकेको छैन । राज्य र राजनीतिक दलसँग सांस्कृतिक रूपान्तरणको विशेष नीति, योजना र कार्यक्रम नभएका कारण सांस्कृतिक रूपान्तरण हुन नसकेको हो।

सांस्कृतिक रूपान्तरण राजनीतिक–आर्थिक सम्बन्धसँग सम्बन्धित हुन्छ । नेपाल सामन्तवादी समाजबाट पुँजीवादी समाजमा रूपान्तरित भयो । तर, राज्यसत्ता, राजनीतिक सत्ता र सामाजिक–सांस्कृतिक सत्तामा खासै फेरबदल भएन । पुरानो शासक वर्ग र समुदाय नै राज्यसत्ताका निर्णयकर्ता बन्न पुगे, तिनले सामन्ती संस्कृतिकै संरक्षण र प्रवद्र्धन गरे । श्रमजीवी, मजदुर र सीमान्तीकृत समुदायको राज्यसत्तामा अर्थपूर्ण प्रतिनिधित्व हुन सकेन । सांस्कृतिक रूपान्तरणका लागि हस्तक्षेप गर्ने तागत पुगेन । शासकीय शक्ति–सम्बन्धमा फेरबदल आउन सकेन । सांस्कृतिक रूपान्तरण नहुँदा नै शासक वर्ग र समुदायको स्वार्थ रक्षा हुने भएका कारण सांस्कृतिक रूपान्तरण हुन सकेन।

राज्यसत्ता सधैं परम्परागत संस्कृतिको संरक्षक बनिरह्यो । नेपाली समाजको सांस्कृतिक रूपान्तरणको कुनै खाका, कार्ययोजना र कार्यक्रम राज्यले बनाएन । कुनै बेला क्रान्तिकारी कम्युनिस्ट पार्टीकै नेतृत्वमा सत्ता सञ्चालन भयो, तर संस्कृति रूपान्तरणको कुनै प्रयत्न भएन । बरु सांस्कृतिक प्रतिगमनमै सहवरण गर्ने वा परम्परागत रुढिवादी संस्कृतिलाई नै मलजल गर्ने काम भयो । नेपाली समाजमा रुढिवाद निकै बलियो छ । नयाँ पुस्तालाई धर्म, संस्कृति र संस्कारबारे आलोचनात्मक चेतना निर्माण गर्ने र गलत संस्कृतिविरुद्ध वैज्ञानिक सांस्कृतिक अभ्यास गर्ने चेतना निर्माणमा राज्यसत्ताले कहिल्यै काम गरेन । समाजलाई न्याय, समानता र सद्भावयुक्त बनाउन राज्य असफल भएका कारण पनि नेपालमा सांस्कृतिक रूपान्तरणको यात्रा अवरुद्ध हुन पुगेको हो।

पुँजीवादी व्यवस्थाले शासक वर्ग र समुदायले निर्माण गरेको संस्कृतिको रूपान्तरण गर्न चाहँदैन, किनकि राज्य निर्मित र संरक्षित व्यवस्थाभित्रै पुँजीपतिले सहजै फाइदा लिन सक्छन् । एकातिर, यस्तो राज्यले पुँजीपतिको संरक्षण गर्छ भने अर्कोतिर विभिन्न समुदायले श्रम, अनुभव र ज्ञानका आधारमा निर्माण गरेका संस्कृतिमा अतिक्रमण गर्छ । यस्तो अवस्थामा उपभोक्तावादी संस्कृतिले व्यापकता पाउँछ भने नाफामा आधारित पुँजीवाद फस्टाउँछ । जस्तै: हिन्दुसँग सम्बन्धित धेरै उत्पादन बिक्री हुन्छ र राज्यले पनि संरक्षण गर्छ भने स्वाभाविक रूपमा पुँजीपतिले यसबाट फाइदा लिन सक्छ।

नेपालमा सांस्कृतिक रूपान्तरणको स्पष्ट वैचारिक दृष्टिकोण निर्माण र कार्यान्वयन नहुनु अर्को समस्या हो । नेपाली समाजमा रहेका सांस्कृतिक अभ्यासका मुख्य समस्या के–के हुन् ? त्यस्तो संस्कृतिको रूपान्तरण कसरी गर्ने र कस्तो संस्कृति निर्माण गर्ने भन्ने विषयमा राजनीतिक शक्ति, संस्कृतिकर्मी, बौद्धिक र अभियन्ताबीच स्पष्ट वैचारिक दृष्टिकोण आवश्यक छ । रुढिवादी, विभेदकारी र हिंसालाई मलजल गर्ने खराब संस्कृतिको अन्त्य गर्ने र मानवता र न्यायमा आधारित वैज्ञानिक संस्कृति निर्माणका क्षेत्रमा पर्याप्त काम नभएका कारण पनि सांस्कृतिक रूपान्तरणको प्रक्रियाले सकस भोग्नुपरेको छ।

समाजलाई प्रगतिशील र अग्रगामी दिशामा अगाडि बढाउन गलत सांस्कृतिक अभ्यासको अन्त्य अनिवार्य हुन्छ । शासक वर्ग र समुदायले निहित स्वार्थसहित निर्माण गरेको गलत, विभेदकारी र अत्याचारी संस्कृतिको सशक्त प्रतिरोधी अभियान सञ्चालन गर्नुपर्छ । माक्र्सवादी चिन्तक एन्टोनियो ग्राम्सीले व्याख्या गरेझैं शासक वर्ग र समुदायले निर्माण गरेको विभेदकारी र अन्यायपूर्ण सांस्कृतिक अभ्यासलाई तोडेर जनपक्षीय वैकल्पिक संस्कृतिको निर्माण गर्नुपर्छ । पितृसत्ता, जात व्यवस्था, रुढिवादी र विभेदकारी संस्कृतिविरुद्ध वैज्ञानिक र अर्थपूर्ण संस्कृति निर्माणका लागि राजनीति, कला, साहित्य, संगीत, शिक्षा आदि क्षेत्रबाट प्रतिरोधी अभियान सञ्चालन गर्नुपर्छ।

संस्कृतिको रूपान्तरण गर्ने प्रश्न राज्यसत्ताको संरचना र स्वरूपसँग सम्बन्धित हुन्छ । दक्षिणपन्थी र यथास्थितिवादी राज्यसत्ता वा राजनीतिक शक्तिले सांस्कृतिक रूपान्तरणको नेतृत्व गर्न सक्दैन । त्यसैले सांस्कृतिक रूपान्तरणको अभियान राज्यसत्ताको रूपान्तरणसँग अनिवार्य जोडिन्छ । समाजवादी राजनीतिक व्यवस्था निर्माण गर्ने हो भने मात्रै समाजवादी संस्कृति निर्माण गर्न सम्भव हुन्छ । त्यसैले दक्षिणपन्थी लोकप्रियतावाद र नवउदारवादी पुँजीवादी राज्यसत्ताको अन्त्य र समाजवादी राज्यव्यवस्था निर्माणको आन्दोलनसँग सांस्कृतिक रूपान्तरणको मुद्दालाई बलियोसँग जोड्नुपर्छ।

नेपाली समाजमा जब्बर बनेर बसेको पितृसत्ता, जात व्यवस्था, नश्लवादी र विभेदकारी सांस्कृतिक अभ्यासलाई तोड्न त्यत्तिकै बलियो प्रतिरोधी आन्दोलनको आवश्यकता छ । यसका लागि प्रगतिशील सांस्कृतिक रूपान्तरणको स्पष्ट खाकासहित सशक्त अभियान सञ्चालन गर्नुपर्छ । राज्यको अराजकता, पुँजीवादी शोषण, अन्याय र अत्याचारविरुद्ध संसारभरि नै युवा आन्दोलित भइरहेका छन् । नेपालमा पनि नवयुवाले भ्रष्टाचार, नातावाद, कृपावाद र विभेदविरुद्ध आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । कलाकर्मी, साहित्यकार, संगीतकर्मी, संस्कृतिकर्मी आदिले पनि सांस्कृतिक रूपान्तरणका लागि प्रयत्न गरिरहेका छन् । नेपाली समाजमा भइरहेका खराब सांस्कृतिक अभ्यास अन्त्य गर्न, सांस्कृतिक विविधतालाई सम्मान गर्ने, न्याय, मानवता र समानतालाई प्रवद्र्धन गर्ने संस्कृति निर्माणका लागि संगठित र सशक्त अभियान सञ्चालन गर्न आवश्यक छ।

जेबी सामाजिक–राजनीतिक अध्येता विश्वकर्मा कान्तिपुरका स्तम्भकार हुन् ।

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2612