सितारवादक सीतामैयाँ राजचलका अनुसार इतिहासमा असोज महिनाको दसैंभन्दा चैत महिनाको दसैंको प्रमुख धुनका रूपमा मानिन्थ्यो मालश्रीलाई । मालश्री धुनले कसरी दसैं भित्रिएको संकेत गर्छ ?
काठमाडौँ — दसैंमा शरद ऋतुसँगै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको मालश्री धुनको आवाज गुञ्जिने गरेको छ । यसलाई दसैं धुन, शरद धुन, विजय धुन, पनि भनिन्छ ।
नौरथामा प्रत्येक दिन फरकफरक शक्ति स्वरुपा देवीको आराधना गरिन्छ । लिच्छविकालदेखि बज्न सुरु भएको मानिने मालश्री धुनलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ । सितारवादक सीतामैयाँ राजचलका अनुसार यो धुन विशेष गरी भाद्र शुक्ल अष्टमी (महाअष्टमी) देखि कोजाग्रत पूर्णिमासम्म गाइने र बजाइने चलन छ । उनले भनिन्, ‘इतिहासमा यसलाई असोज महिनाको दसैंभन्दा चैत महिनाको दसैंको प्रमुख धुन मानिने गरिएको थियो ।’
दाफा खल, बाँसुरी खल तथा विभिन्न मन्दिरहरूमा नवरात्रभर यो धुन गुञ्जिने गर्दछ। यस्तै, नयाँ पुस्तामा पनि यसको लोकप्रियता बढ्दै गएको उनको भनाइ छ । यद्यपि, विगतका वर्षजस्तो यस वर्ष मालश्री धुनको रौनक महसुस नगरेको राजचलको अनुभव छ । ‘भोटेकोशी बाढीपहिरो र प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित हुँदा यसको उल्लास केही कम भएको महसुस भयो,’ उनले भनिन् ।
आगामी दिनमा युवापुस्तालाई मालश्री धुनतर्फ आकर्षित गर्न र यसको मौलिकता बचाउन यसलाई औपचारिक रूपमा विद्यालय तथा उच्च शिक्षाका पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । मालश्री धुनलाई केवल दसैंमा मात्र नभई अन्य नाटक वा सांस्कृतिक कार्यक्रममा पनि उचित रूपमा प्रयोग गर्न सके यसको महत्व अझ बढ्ने उनले बताइन् । सितारवादक राजचलसँग गरिएको कुराकानी यो भिडियोमा :