भजनबाट पनि इन्जोय गर्न सकिन्छ, शान्ति लिन सकिन्छ र स्ट्रेस रिलिज गर्न सकिन्छ भन्ने सोचेर नै त्यसमा काम गरिरहेका हौँ ।
हर्मोनियममा औंला कुदाउँदै राेशा फुयाँलले गाएकाे याे भजन अहिले भजन गाउने ठाउँहरूमा मात्रै होइन सामाजिक सञ्जालहरूमा पनि चर्चामा छ । उनले गाएकाे यो भजनमा हजारौं सामाजिक सञ्जाल प्रयोगकर्ताले टिकटक, फेसबुक रिल्स बनाइरहेका छन् । यति सानै उमेरमा भक्ति धुनप्रतिको उनको लगाव र स्वरको प्रशंसा गर्नेहरू विभिन्न सार्वजनिक कार्यक्रममा भेटिन्छन् ।
भजनलाई नयाँ पुस्तासँग जोडिरहेकी रोशा गायनलाई आफ्नो रुचि र भविष्य दुवै मान्छिन् । उनी अहिले एकाएक सामाजिक सञ्जालमा चर्चामा आएकी भने होइनन् । उनी ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को पहिलो सिजनमा ‘फस्ट रनरअप’ समेत बनेकी थिइन् । रोशा केही वर्षदेखि शास्त्रीय संगीतको अध्ययनसँगै भजन गायनमा सक्रिय युवा कलाकार हुन् ।
केही समयअगाडि काठमाडौंमा रोशा आवद्ध ‘भक्ति सुधा’ ब्यान्डले एक भजन सन्ध्याबाट प्रस्ताव आएपछि भजन प्रस्तुति गरेका थियो । सोही कार्यक्रममा रोशाले ‘जय अम्बे, जय अम्बे...’लगायत बोलको विभिन्न भजन गाएकी थिइन् । यसले रोशालाई अझै चर्चामा ल्यायो । अहिले सामाजिक सञ्जालमा दर्शकले उनको स्वर र गायनको प्रशंसा गर्दै भिडियोहरू 'सेयर' गरिरहेका छन् । उनले गाएका केही भजन लाखौं (मिलियन भ्युज)ले हेरिसकेका छन् । रोशाका ‘फलोअर्स’ बढ्नुको साथै, टिकटक, फेसबुक साथै अन्य सामाजिक सञ्जालमा उनले गाएका भजनका रिल्सहरू बनिरहेका छन् ।
रोशा हरेक पटक सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियाले आफूसहित आफ्नो ब्यान्डलाई थप उत्साहित बनाएको सुनाउँछिन् । ‘उहाँहरूको माया हौसला र भजनप्रतिको प्रेम देखेर निकै नै खुसी लागेको छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जालबाट सोचेभन्दा धेरै माया पाएकी छुँ खुसी लागेको छ ।’ उनी आफूलाई भिडियोहरू चर्चामा आएसँगै अन्तर्वार्ताको लागि बोलाउनेहरू समेत निकै बढेको सुनाउँछिन् ।
रोशा भजनलाई विधाको रूपमा मात्र हेर्दिनन् । ‘मेरो लागि भजन केवल गाउने विधा होइन, आफैलाई आनन्दित बनाउने र अरूलाई पनि शान्तिको अनुभूति गराउने माध्यम हो,’ उनले भनिन् ।
झापा मेचीनगर–८ की १९ वर्षीया रोशा सानैदेखि गीत संगीतमा रुचि राख्थिन् । उनको परिवार श्री वैष्णव परम्परासँग जोडिएका छन् । त्यही कारण बाल्यकालदेखि नै उनले घरमा भजनको धुन सधैँ बजिरह्यो । सानैदेखि रोशाको कानमा भजनका धुनहरू परिरहन्थे । त्यसले उनलाई भजनप्रति रुचि जगाइरहेको थियो । त्यससँगै उनका दाई रोशन फुयाँल पनि संगीतप्रति निकै रुचि राख्ने भएकाले संगीत कक्षा जान्थे । जब रोशन घरमा आएर संगीतको अभ्यास गर्थे रोशा पनि उनीसँगै बसेर गुनगुनाउँथिन् । ‘मलाई घरमा बज्ने भजनको धुन, दादासँगको संगीत अभ्यासले ४ वर्षको हुँदादेखि नै गायन क्षेत्र र त्यसमा पनि भजनप्रति रुचि बढेको थियो,’ उनले भनिन् । रोशाको स्वरबाट उनको परिवार मात्र होइन आफन्त, छरछिमेकदेखि स्कुलका शिक्षक, साथीहरू समेत प्रभावित थिए ।
टेलिभिजनमा देखिने रहरदेखि फस्ट रनरअपसम्म
सुरुवाती दिनहरूमा केही समय रोशा साताको एक दिन संगीत सिक्ने गर्थिन् । १० वर्षको उमेरदेखि भने उनले संगीतको औपचारिक प्रशिक्षण लिन थालेकी थिइन् । सुरुमा ‘सन लाइट म्युजिक स्कुल’मा संगीत सिकेकी उनले त्यहाँ हार्मोनियमसँगै राग र बन्दिसहरूको अभ्यास गर्ने अवसर पाइन् । त्यसपछि उनले शास्त्रीय संगीतको अभ्यासलाई निरन्तरता दिँदै गएकी थिइन् । ‘रागको अभ्यास गर्दै हार्मोनियम बजाउँदै गर्दा बिस्तारै सबै भजनमा गाउँदा हार्मोनियम बजाउन सक्ने भएकी थिए,’ उनले भनिन् ।
सानैदेखि संगीतमा मात्र नभएर पढाइमा पनि अम्बल थिइन् रोशा । दुवैलाई निरन्तरता दिँदै अगाडि बढेकी थिइन् । त्यही क्रममा उनका संगीत गुरुको सुझाव र सहयोगमा रोशालगायत अन्य साथी मिलेर ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को पहिलो सिजनमा अडिसन दिएका थिए । १४ वर्षको उमेरमा कार्यक्रमका लागि छनोट भएर काठमाडौं आएकी रोशाको स्वर र उनले गाएका गीतहरूलाई दर्शकले निकै रुचाएका थिए । उनले गरेको वर्षौंको संघर्ष र मिहिनेतले उक्त ‘रियालिटी शो’ मा ‘फस्ट रनरअप’ भइन् । टेलिभिजनमा आफूले गाएको देखिने आशा र रहरमा कार्यक्रममा सहभागी भएकी रोशाले त्यति ठूलो सफलताको अपेक्षा गरेकी भने थिइनन् । ‘त्यति बेला मैले गाएको गीत टिभीमा देखिन्छ भन्ने खुसीले कार्यक्रममा भाग लिएकी थिएँ । तर फस्ट रनरअप नै हुन्छु भनेर सोचेकी थिइन । सोचेको भन्दा धेरै सफल हुँदा निकै खुसी लागेको थियो,’ उनले भनिन् ।
रोशा आफ्नो सांगीतिक यात्रा उक्त रियालिटी शोपछि महत्वपूर्ण बनेको महसुस गर्छिन् । त्यसले आफूलाई दर्शकसामु चिनाउन साथै, आफूलाई सफलताको बाटो देखाउन मद्दत गरेको बताउँछिन् । ‘यदि म सारेगमपमा सहभागी नभएको भए सायद काठमाडौं आएर संगीतलाई निरन्तरता दिने थिइन । त्यसैले मेरो सफलताको बाटो देखाउने कार्यक्रम बनेको जस्तो लाग्छ,’ उनले भनिन्, ‘त्यसबाट म दर्शकमाँझ चिनिनुका साथै संगीतलाई नै आफ्नो अध्ययन र करियरको बाटो बनाउन प्रेरित गर्यो । आफूमा भएको क्षमतालाई अझ बढी चिन्न पाएँ । हौसला बढ्यो ।’
रोशा आफ्नो लागि संगीत केवल रुचिको विषय मात्र नभएर भविष्यको बाटो रहेको महसुस गर्छिन् । ‘रियालीटि शो’ मा सहभागी भएपछि उनको ध्यान संगीततर्फ केन्द्रित भयो । विद्यालय तहदेखि नै प्रतिस्पर्धी स्वभावकी उनी कार्यक्रमपछि भने काठमाडौंमै बसेर कला साधना साथै पढाइलाई निरन्तरता दिन थालिन् । रोशा अहिले काठमाडौंको ललितकला क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेकी छन् । उनी हरेक दिन बिहान र बेलुका रियाज गर्ने गरेको सुनाउँछिन् । ‘अहिले संगीत नै अध्ययनको विषय भएकाले आफ्नो ज्ञान थप फराकिलो बनाइरहेको महसुस गरेकी छु,’ उनले भनिन् ।
उनीले त्यति सानै उमेरमा २० भन्दा बढी गीतमा स्वर दिएकी छन् । त्यसबाहेक उनले ३० देखि ४० वटा भजन कभर गरेको सुनाउँछिन् ।
उनले एक वर्षदेखि ‘श्री रामचन्द्र मन्दिर’ मा साँझ आरती गर्ने समयमा भजन गाउँदै आएकी छन् । साँझको आरतीमा उनीसँगै उनको ब्यान्डले मन्दिरमा करिब एक घण्टा भजन प्रस्तुत गर्छ । आरतीका लागि निश्चित स्तुति र भजन गाइने गरे पनि त्यसबाहेक नयाँ भजन र स्तोत्रसमेत प्रस्तुत गर्ने गरेको उनी सुनाउँछिन् । नियमित भजनले गायन क्षमता बढाउन मद्दत गरेको उनी सुनाउँछिन् । रोशा युवाहरूको रुचि पनि भजनप्रति बढेको महसुस गर्छिन् । ‘बेलुका भजन सुन्न अन्य उमेर समूहसँगै युवाको संख्या क्रमशः बढेको अनुभव भएको छ,’ उनले भनिन् ।
संगीतिक क्षेत्रमा भविष्य बनाउने सपना बोकेर रोशा र उनका दाई रोशन काठमाडौं आउँदाको सुरुवाती दिन सम्झँदा उनलाई नराम्रो लाग्ने गरेको बताउँछिन् । त्यति बेला विभिन्न कठिनाइ भोगेको रोशाको भनाइ छ । ‘सुरुवाती दिनमा सबैले चिन्नु भएको थिएन । केही गीत रेकर्ड गरे पनि सार्वजनिक भएका थिएनन् । आफूले गरेको मिहिनेतको फल प्राप्त नहुँदा मन दुख्ने रहेछ,’ उनले भनिन्, ‘काम गरेपछि पारिश्रमिकका विषयमा पनि धेरै चुनौती सामना गर्नुपर्यो । नाम नचल्दासम्म कलाकारको मिहिनेतअनुसार पारिश्रमिक पाउन गाह्रो रहेछ भन्ने महसुस भएको थियो ।’
चुनौतीहरू सामना गरे पनि रोशाले संगीतप्रतिको लगाव कहिल्यै घटाइनन् । अझ कसरी अगाडि बढ्न सकिन्छ भन्नेतर्फ मिहिनेत गर्दै गइन् । युवा पुस्तामा बढ्दै गएको भजनप्रतिको रुचिले रोशा र उनका दाई रोशनलाई सकारात्मक लाग्यो । भजनलाई नयाँ पुस्तासम्म पुर्याउने, यसलाई छुट्टै सांगीतिक पहिचान दिने र यसको प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरूले ‘भक्ति सुधा’ ब्यान्ड बनाए । ६ जना रहेको उक्त ब्यान्डबाट एक वर्षदेखि विभिन्न कार्यक्रमहरूमा भजन प्रस्तुत गर्दै आइरहेका छन् । उक्त ब्यान्डमा सबै जना युवा छन् । ‘युवा पुस्ताले भजनको बारेमा जान्नुपर्छ, युवाको लागि भजन एकदमै जरुरी छ जस्तो लागेर नै हामीले ब्यान्ड बनाएर अगाडि बढिरहेका छौँ,’ उनले भनिन् । अहिले विभिन्न स्थानबाट भजनको लागि कार्यक्रमको धेरै प्रस्तावहरू आइरहेको उनी बताउँछिन् ।
रोशा आफ्नो सांगीतिक यात्रामा दाईको प्रेरणा र मागदर्शन महत्वपूर्ण रहेको बताउँछिन् । ‘सानैदेखि दादालाई देखेर, उहाँबाट संगीत सिकेर म त्यहाँसम्म आएकी हुँ,’ उनले भनिन्, ‘अहिले पनि दादा मेरो लागि अभिभावक, मार्गदर्शक र सांगीतिक सहयात्री हुनुहुन्छ ।’ उनका दाई रोशन तबला बजाउँछन् ।
युवाहरूले भजनलाई केवल मनोरञ्जनको रूपमा मात्र हेर्न नहुने रोशाको आग्रह छ । ‘अहिले हुने प्रायः भजन कार्यक्रमहरूमा नाचगान गर्ने मनोरञ्जन लिनेतर्फ आकर्षण देखिए पनि भजन शान्त भएर सुन्ने र त्यसको भावमा डुब्ने श्रोता हुन् भन्ने लाग्छ,’ उनले भनिन् । उनी भाव बोकेका, भगवानको नाम र भक्तिसँग जोडिएका भजनलाई प्राथमिकता दिएर गाउने गरेको सुनाउँछिन् । ‘अश्लील र असभ्य शब्दका गीत, भजन कहिल्यै नगाउने निर्णय गरेकी छुँ,’ उनले भनिन्, ‘मैले गाउने भजनबाट श्रोतालाई आनन्द मिलोस् र उहाँहरू पनि संगीतको अनुभूतिमा रमाएको देख्ने चाहाना सधैँ रहेको छ ।’
रोशाको सांगीतिक यात्रामा परिवारको साथ र सहयोग सधैँ रहँदै आएको छ । उनका बुबा वैदेशिक रोजगारमा कार्यरत थिए । रोशा र रोशनको भविष्यलाई मध्यनजर गर्दै उनी नेपाल फर्किए । अहिले रोशाको परिवार काठमाडौंको सुकेधारामा बस्दै आएका छन् । ‘मामु-बाबा हाम्रो भविष्य राम्रो होस् भनेर नै काठमाडौं आउनु भएको हो,’ उनले भनिन् । रोशा र रोशनले भजन, स्टेज शो साथै, सामाजिक सञ्जालबाट प्राप्त गर्ने आम्दानीले घरपरिवार चलाउन सहयोग पुगेको बताउँछिन् । संगीतमै भविष्य देखेकी रोशाले सोही क्षेत्रबाट आम्दानी हुँदा सन्तुष्ट छिन् । ‘हामीले सांगीतिक क्षेत्रबाट गरेको आम्दानीले अहिले सहज तरीकाले घर चलिरहेको छ,’ उनले भनिन् ।
रोशाको गायनबाट प्रभावित हुनेमध्येकी एक हुन् समीक्षा अर्याल । पोखरा लेखनाथ बस्दै आएकी २१ वर्षीया समीक्षालाई रोशाले गाउने हरेक भजनले निकै प्रभाव पार्ने गरेको सुनाइन । ‘फेसबुक र टिकटकमा भजनको भिडियो भाइरल भएको देखेर फलो गरेकी थिए,’ उनले भनिन्, ‘त्यति सानो उमेरमा पनि कति राम्रो स्वर, हाम्रो उमेर समूहकारहरू पनि यति राम्रो भजन गाउने रहेछन् भनेर फलो गरेकी थिए ।’
उनी कुनै बेला भजन भनेको उमेर ढल्किएका मानिसले गाउने, नाच्ने त हो भन्ने ठान्थिन् । ‘अहिले त जहाँसुकै भजन कार्यक्रम भए पनि युवाको बाहुल्यता हुन्छ । साथै टिकटक, फेसबुकमा युवाहरूले भजनका भिडियो बनाएको देख्दा खुसी लाग्छ,’ उनले भनिन् ।
रोशा भजन गाउँदा होस् वा सुन्दा मन शान्त गर्न मद्दत पुग्ने सुनाउँछिन् । ‘भजनबाट पनि इन्जोय गर्न सकिन्छ, शान्ति लिन सकिन्छ र स्ट्रेस रिलिज गर्न सकिन्छ भन्ने सोचेर नै त्यसमा काम गरिरहेका हौँ,’ उनले भनिन् । रोशा आफूले भजनमा अझ धेरै कुरा खोज्न र सिक्न बाँकी रहेको सुनाउँछिन् । ‘जति भजनको लागि ध्यान, साधना गर्दै गयो, त्यति माथि पुगिन्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ,’ उनी भन्छिन्, ‘आउँदा दिनमा पनि यसरी नै भजन सुन्ने हरेक व्यक्ति यसको शब्द, संगीत र भावमा रमाउन सकुन् । हामी सबैले भजनलाई आधुनिक पुस्तासँग जोड्दै यसको मौलिकता जोगाएर अघि बढ्न सकौँ भन्ने छ ।’
आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।