अहिले सबैलाई चासो भइरहेको यो मौसमी प्रणाली कस्तो हो ? बंगालको खाडीमा चक्रवातको अवस्था कस्तो छ ? नेपालमा यसले पार्ने प्रभाव र अपनाउनुपर्ने सतर्कता के हो ? हामीले ८ प्रश्नोत्तरमा बुझाउने कोसिस गरेका छौं ।
काठमाडौँ — बंगालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’ भारतको आन्ध्र प्रदेश तटतर्फ अघि बढिरहेको छ । भारतीय मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो थप शक्तिशाली हुँदै तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ। समुद्रमा विकसित भएको चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै जान सक्छ । तर यसले बोकेको जलवाष्प, पश्चिमी वायु प्रणालीसँगको अन्तरक्रिया र हिमालयको भौगोलिक बनावटका कारण नेपालमा समेत वर्षा गराउन सक्छ । त्यसैले मौसमी चिन्ता यहाँका पनि देखिएको हो ।
नेपालको जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार कात्तिक १२ गतेदेखि केही प्रदेशमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । १३ र १४ गते केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
अहिले सबैलाई चासो भइरहेको यो मौसमी प्रणाली कस्तो हो ? बंगालको खाडीमा चक्रवातको अवस्था कस्तो छ ? नेपालमा यसले पार्ने प्रभाव र अपनाउनुपर्ने सतर्कता के हो ? हामीले ८ प्रश्नोत्तरमा बुझाउने कोसिस गरेका छौं ।
भारतीय मौसम विज्ञान विभागको विवरणअनुसार शुक्रबार बिहान ५:४५ बजे बंगालको खाडीको मध्यपूर्वी तथा दक्षिणपूर्वी आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली विकसित भएको थियो । आइतबारसम्म यो प्रणाली थप संगठित हुँदै पश्चिमतर्फ सर्यो र गहिरो न्यून चापमा परिणत भयो । सोमबार बिहान यो चक्रवाती आँधी बनिसकेको थियो ।
बंगालको खाडीको पश्चिम-मध्य भागमा रहेको चक्रवात अति शक्तिशाली बनिसकेको छ । पछिल्लो ६ घण्टामा प्रतिघण्टा २२ किलोमिटरको गतिमा लगभग पश्चिमतर्फ अघि बढेको छ । भारतीय समयअनुसार मंगलबार बिहान साढे ५ बजे आन्ध्र प्रदेशको विशाखापट्टनमबाट २६० किलोमिटर दक्षिणपूर्व, काकिनाडाबाट ३०० किलोमिटर पूर्व-दक्षिणपूर्व, ओडिशाको गोपालपुरबाट ३८० किलोमिटर दक्षिण, आन्ध्र प्रदेशको मछलीपट्टनमबाट ३९० किलोमिटर पूर्व, बापट्लाबाट ४६० किलोमिटर पूर्व र अन्डमान टापुस्थित श्री विजयपुरमबाट ९८० किलोमिटर पश्चिम-उत्तरपश्चिममा रहेको थियो ।
मंगलबार साँझसम्म पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढ्ने र त्यसपछि उत्तरपश्चिमतर्फ मोडिने सम्भावना छ । यो बुधबार बिहान आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा बापट्ला र विशाखापट्टनमबीच, यानम नजिकैबाट जमिनमा प्रवेश गर्ने पूर्वानुमान छ । त्यस बेला चक्रवातको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र हावाको झोक्काको गति प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्ने सम्भावना छ ।
२. चक्रवात बन्ने प्रक्रिया कस्तो हुन्छ?
चक्रवात एकैपटक बन्ने होइन । समुद्रको तातो पानीबाट प्राप्त ताप र जलवाष्पका कारण सुरु भएको न्यून चापीय प्रणाली क्रमशः शक्तिशाली हुँदै चक्रवातमा परिणत हुन्छ । सुरुमा बंगालको खाडीको तातो पानीबाट ठूलो मात्रामा जलवाष्प वायुमण्डलमा पुग्छ । तातो र ओसिलो हावा माथि उठेपछि समुद्रको सतहनजिक न्यून चापको क्षेत्र बन्छ । माथि पुगेको जलवाष्प चिसिएर बादल र वर्षा बन्छ । यस क्रममा निस्कने तापले थप हावालाई माथि उठ्न मद्दत गर्छ र प्रणालीलाई ऊर्जा दिन्छ । त्यसपछि वरपरको हावा न्यून चाप भएको क्षेत्रतर्फ एकत्रित हुन्छ । पृथ्वीको घुमाइका कारण पनि हावा घुम्न थाल्छ । माथिल्लो वायुमण्डलमा हावा सहजै बाहिर निस्कन पाएमा र विभिन्न उचाइमा हावाको गति वा दिशा धेरै फरक नभएमा प्रणाली अझ बलियो हुन सक्छ ।
यसरी प्रणाली क्रमशः विकसित हुँदै न्यून चाप, अवदाब र गहिरो अवदाबका चरण पार गर्छ । अनुकूल अवस्था कायम रहेमा यो शक्तिशाली चक्रवाती आँधीमा परिणत हुन्छ ।
३. चक्रवात कुन अवस्थामा बन्न पुग्छ, हावाको गति कति हुन्छ ?
भारतीय मौसम विज्ञान विभागले उष्णकटिबन्धीय चक्रवातलाई हावाको अधिकतम निरन्तर गतिका आधारमा विभिन्न चरणमा वर्गीकरण गरेको छ । बंगालको खाडीमा विकसित प्रणालीको तीव्रता बुझ्न यी चरण महत्त्वपूर्ण छन् ।
४. चक्रवात जमिनतिर प्रवेश गरेपछि के हुन्छ ?
चक्रवात जमिनमा प्रवेश गरेपछि यसको ऊर्जा स्रोत कमजोर हुन्छ । जमिनसँगको घर्षण र समुद्रबाट प्राप्त हुने जलवाष्पको आपूर्ति घट्दा चक्रवातको हावाको गति कम हुँदै जान्छ । तर चक्रवात कमजोर हुनुको अर्थ त्यससँग सम्बन्धित सबै मौसमी जोखिम तत्काल समाप्त हुनु होइन । यसको अवशेषले भारतका आन्तरिक भूभागसम्म वर्षा र हावाहुरी गराउन सक्छ । समुद्री तटीय क्षेत्रमा तीव्र हावा, मुसलधारे वर्षा, समुद्री छाल र बाढीको जोखिम हुन्छ भने जमिनमा रुख ढल्ने, घर तथा पूर्वाधारमा क्षति पुग्ने सम्भावना रहन्छ ।
भारत सरकारको प्रेस सूचना ब्युरोले सोमबार जारी गरेको विवरण अनुसार चक्रावतले आन्ध्र प्रदेशको तट पार गरेपछि तेलंगाना, दक्षिणी ओडिशा, दक्षिण तथा मध्य छत्तीसगढलगायतका क्षेत्रमा प्रभाव पार्न सक्छ ।
नेपालमा भने यसको प्रभाव मुख्यतः चक्रवातसँग सम्बन्धित जलवाष्प र अन्य मौसमी प्रणालीबीचको अन्तरक्रियाबाट देखिन सक्छ । त्यसैले भारतमा चक्रवात कमजोर हुँदैमा नेपालमा वर्षा हुँदैन भन्ने निष्कर्ष निकाल्न नमिल्ने मौसमविद्हरू बताउँछन् ।
५. नेपाल नआइपुग्दै कमजोर हुने चक्रवातले यहाँ भारी वर्षा कसरी गराउँछ?
यसका तीन मुख्य कारण छन्- चक्रवातले बोकेर ल्याउने जलवाष्प, पश्चिमी वायु प्रणालीसँगको अन्तरक्रिया र हिमालयको भौगोलिक बनावट ।
बंगालको खाडीबाट वाष्पीकरण भएको पानी वायुमण्डलमा जलवाष्पका रूपमा रहन्छ । चक्रवात वरिपरि चल्ने हावाले यो ओसिलो हावालाई भारतको पूर्वी तथा मध्य भागतर्फ लैजान सक्छ । वायु प्रवाह अनुकूल भएमा त्यसको केही भाग उत्तरतर्फ सर्दै नेपालनजिक पुग्न सक्छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार नेपाल नजिक आइपुग्दा यो कमजोर न्यूनचापीय प्रणालीका रूपमा रहने भए पनि यससँग आउने ओसिलो हावा र माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले भारी वर्षाको सम्भावना बढाउन सक्छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र हिमालको भौगोलिक बनावटका कारण हावा माथितिर धकेलिने प्रक्रियाले पनि वर्षा बढाउने हुँदा तराई र मध्यपहाडी क्षेत्रमा भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने उनले उल्लेख गरेका छन् ।
नेपालको जल तथा मौसम विज्ञान विभागले सन् २०१४ को हुदहुद चक्रवातपछिको मौसमी घटनाबारे गरेको अध्ययनले पनि चक्रवातको अवशेष र माथिल्लो वायुमण्डलमा पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको न्यूनचापीय खाडलबीचको अन्तरक्रियाले नेपालमा वर्षा गराउन सक्ने देखाएको थियो ।
६. पश्चिमी वायु प्रणालीले वर्षा थप्न कसरी मद्दत गर्छ ?
हामीकहाँ अहिले पश्चमी वायुको प्रभाव पनि छ । पश्चिमी वायु प्रणाली (वेस्टर्न डिस्टर्बेन्स) पश्चिमबाट पूर्वतर्फ सर्ने मौसमी प्रणाली हो । यो मध्य तथा माथिल्लो वायुमण्डलमा बहने पश्चिमी हावासँग सम्बन्धित हुन्छ । नेपाल र पश्चिमी हिमालयमा यसले विशेषगरी हिउँदमा वर्षा तथा हिमपात गराउन सक्छ । चक्रवातबाट आएको ओसिलो हावा र पश्चिमी वायु प्रणाली एकै समयमा अनुकूल अवस्थामा भेटिएमा वर्षाको सम्भावना बढ्न सक्छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार बंगालको खाडीबाट विकसित पूरै प्रणाली नेपाल प्रवेश गर्ने होइन, असर मात्रै देखिने हो । अहिले पश्चिमी वायु हाबी भएकाले पूर्वतिरबाट आउने वायुसँगको अन्तरक्रियाले वर्षाको मात्रा बढ्न पनि सक्ने पनि उनको अनुमान छ ।
एउटै मौसमी घटनाले तराईमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात गराउन सक्छ । पश्चिमी वायु प्रणाली र हिमालयको भौगोलिक बनावटबीचको अन्तरक्रियाले वर्षा तथा हिमपात बढाउन सक्ने वैज्ञानिक अध्ययनले पनि देखाएका छन् ।
७. नेपालमा कहिलेदेखि प्रभाव पर्छ ? कुन प्रदेशमा कति वर्षा हुन सक्छ ?
नेपालको जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारदेखि शनिबारसम्म विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार बिहीबारदेखि मौसममा बदलाव आउनेछ । विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ ।
शुक्रबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको अनुमान छ ।
२४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भएमा हल्का वर्षा भनिन्छ । यसैगरी १०-५० मिमि भएमा मध्यम, ५०-१०० मिमि भए भारी, १००-२०० मिमि भए धेरै भारी र २०० मिमिभन्दा धेरै वर्षा भए त्यो अति भारी वर्षाका रुपमा मापन हुने विभागले जनाएको छ ।
८. चक्रवातका कारण कस्ता जोखिम हुन्छन् र के सावधानी अपनाउने ?
चक्रवातसँग सम्बन्धित मौसमी प्रणालीका कारण वर्षा, मेघगर्जन, चट्याङ, हावाहुरी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्छ । वर्षा धेरै भएमा पहिरो, बाढी र गेग्रानसहितको बाढीको जोखिम पनि बढ्न सक्छ । हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरोको सम्भावना रहन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै धानबाली, उच्च हिमाली पदयात्रा र सडक यातायातमा विशेष सतर्कता अपनाउन सुझाव दिएका छन् । भारी वर्षाले पाकेको धान ढल्ने वा काटेको धान खेतमै भिज्ने, पहाडी क्षेत्रमा बाढीपहिरो आउने र सडक यातायात प्रभावित हुने जोखिम रहेको उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएका सुझावअनुसार निम्न सावधानी अपनाउनु उपयुक्त हुन्छ :
(यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सी, मौसमसम्बन्धी विभिन्न अध्ययन र मौसमविद्हरूसँग कुराकानी गरेर तयार परिएको हो।)
फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।