Trending
Prev Story
Next Story

कांग्रेस देउवा समूहको महाधिवेशन : ३५ मध्ये नौ जिल्लामा नेतृत्व चयन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह १५औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरू गरिरहेको छ । संस्थापनले १५औं महाधिवेशन धुमधामका साथ सम्पन्न गरिसके पनि देउवा समूह समानान्तर रुपमा तल्लो तहका अधिवेशन गरिरहेको …

कांग्रेस देउवा समूहको महाधिवेशन : ३५ मध्ये नौ जिल्लामा नेतृत्व चयन

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह १५औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरू गरिरहेको छ । संस्थापनले १५औं महाधिवेशन धुमधामका साथ सम्पन्न गरिसके पनि देउवा समूह समानान्तर रुपमा तल्लो तहका अधिवेशन गरिरहेको हो ।

१५ असोजबाट वडा अधिवेशन सुरू गरेको उक्त समूहले १५ कात्तिकमा जिल्ला अधिवेशनहरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयले सोमबारसम्म एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका नौ जिल्लहरूमा जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन भइसकेको जनाएको छ ।

सम्पर्क कार्यालयका अनुसार देउवा समूहले एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका ३५ मध्ये नौ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरेको हो । चुनदेवीले उपलब्ध गराएको तथ्यांकमा पूर्वसभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमका दुई जिल्ला डोटी र बैतडीमा जिल्ला नेतृत्व चयन भएको छ ।

डोटीको जिल्ला अधिवेशनले बाजीसिंह खड्का (विजय) लाई सभापति चयन गरेको छ । उनी दिपायल सिलगढी नगरपालिकाका प्रमुखसमेत हुन् ।

यस्तै आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट वीरबहादुर बिष्ट देउवा समूहको बैतडी सभापति बनेका छन् । कांग्रेस सभापति गगनकुमार थापाका सहपाठीसमेत रहेका उनी सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । सुदूरपश्चिममा एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका ६ जिल्ला (दार्चुला, बैतडी, बाजुरा, बझाङ, डडेल्धुरा र डोटी) छन् ।

यस्तै कांग्रेसको १५औं महाधिवेशनमा तटस्थ बसेका पूर्वउपसभापति पूर्णबहादुर खड्काको गृहप्रदेश कर्णालीका ६ जिल्लामा देउवा समूहले नेतृत्व चयन गरेको छ ।

देउवा समूहको महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको सचिवालयले डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट र रुकुम पश्चिममा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । सचिवालयका अनुसार डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही र मुगुमा तिलकबहादुर मल्ल जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै कालिकोटको जिल्ला अधिवेशनबाट नगेन्द्र बिष्ट सभापतिमा सर्वसम्मत निर्वाचित भएका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । बिष्ट नरहरिनाथ गाउँपालिका अध्यक्ष हुन् । उनी १४औं महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित भएका थिए ।

देउवा समूहले रुकुम पश्चिममा पनि जिल्ला अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशनबाट नन्दबहादुर बिष्ट सभापतिमा निर्वाचित भएका छन् ।

१० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत र दैलेखबाहेकका आठ जिल्लाहरूमा एकमात्र प्रतिनिधिसभा क्षेत्र छ । नेता शाहीका अनुसार दैलेखमा १२ कात्तिकमा जिल्ला अधिवेशन हुँदैछ ।

देउवा समूहले कोशी प्रदेशको संखुवासभामा पनि जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । संखुवासभामा रामकुमार जिमी सभापतिमा निर्वाचित भएका संयोजक कोइरालाको सचिवालयले जनाएको छ । देउवा समूहको १७–१८ भदौमा बसेको बैठकले १५औं केन्द्रीय महाधिवेशन २१–२३ मंसिरमा गर्ने निर्णय गरेको थियो ।

जसअनुसार देशभरका ६ हजार ७४३ मध्ये ६ हजार १०७ वडामा अधिवेशन सम्पन्न भइसकेको चुनदेवीले जनाएको छ । चुनदेवी कार्यालय स्रोतले उपलब्ध गराएको तथ्यांकले देउवा समूहले ४८० पालिकामा पालिका अधिवेशन सम्पन्न भइसकेको देखाएको छ ।

तथ्यांकअनुसार कोशीका ८९, मधेशका ५४, बागमतीका ७०, गण्डकीका ५०, लुम्बिनीका ८६, कर्णालीका ५५ र सुदूरपश्चिमका ७६ पालिकाहरूमा पालिका अधिवेशन भएको छ ।

यस्तै कोशीका ३४, मधेशका २६, बागमतीका ४०, गण्डकीका १४, लुम्बिनीका २४, कर्णालीका १४ र सुदूरपश्चिमका १८ गरी १७० प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन पनि सम्पन्न भएका छन् ।

तथ्यांकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गत कोशीका १७, मधेशका १३, बागमतीका २०, गण्डकीका ७, लुम्बिनीका १२, कर्णालीका सात र सुदूरपश्चिमका ९ गरी ८५ स्थानमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको देखाउँछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

देउवा पक्षले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको छ। समूहले देशभर समानान्तर रूपमा संगठन निर्माण र प्रतिनिधि चयन गरिरहेको छ।

#अधिवेशन #नेतृत्व #कांग्रेस
Compare →
Hamro Patro News
5d ago
देउवा पक्षले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन, सभापतिमा को–को निर्वाचित भए ?

देउवा पक्षले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन, सभापतिमा को–को निर्वाचित भए ?

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिक महाधिवेशनलाई लिएर राजनीतिक गतिविधि तीव्र भइरहेका बेला शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा संगठनात्मक गतिविधि अघि बढाएको छ । यसैक्रममा देउवा समूह...

#शेरबहादुर-देउवा #अधिवेशन #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2611